Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

रारा नाट्य महोत्सवको तयारी तिब्र

माघ २० सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यही फागुन २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुन गइरहेको रारा नाट्य महोत्सव २०७५ को तयारी तिब्र रुपमा चलिरहेको छ ।

Image result for नेपाली नाटक
तस्बीर : गुगल बाट

सांस्कृतिक संस्थानको मूल आयोजना तथा आरङ्ग नेपाल सुर्खेतको सहआयोजनामा हुन लागेको रारा राष्ट्रिय नाटक महोत्सव २०७५ तयारी तिब्र रुपमा भइरहेको आयोजक समितिका अध्यक्ष गणेशभक्त गौतमले क्वीकखबरसँग बताउनु भयो । नाटक महोत्सवमा कुन नाटक कहिले प्रर्दशन गर्ने भन्ने बारेमा समेत छलफल भइसकेको अध्यक्ष गौतमले बताउनु भयो ।

उहाँका अनुसार महोत्सवमा हरेक प्रदेशबाट नाटक प्रदर्शन गरिने तयारी भइरहेको छ । जस अनुसार प्रदेश नं. १ बाट ‘आरन’ सगरमाथा नाट्य समूह सोलुखुम्बु र ‘म पहिलो किसान जन्माउँछु’ मानव अधिकार मञ्च नेपाल इलाम छनौट भएका छन् । यसैगरी प्रदेश नं.२ बाट ‘दहेज आ दारु’ गढीमाई नाट्य कला केन्द्र बाराले नाटक प्रदर्शन गर्नेछ भने प्रदेश नं. ३ बाट ‘एक बोली एक दाम’ ङ समूह काठमाडौं र ‘जिउँदो आकाश’ साइलेन्ट एक्ट काठमाडौंले नाटक प्रदर्शन गर्ने जनाइएको छ ।

गण्डकी प्रदेशबाट ‘घेरो’ युथ क्रियशन थियटर, पोखरा र ‘नौगेडी’ मञ्जरी नाट्य समूह लमजुङको नाटक प्रदर्शन हुनेछन् । प्रदेश नं. ५ बाट ‘हिटवा’ शान्तिका लागि युवा सञ्जाल बर्दिया र कर्णाली प्रदेशबाट ‘आमाको सपना’ कर्णाली कला प्रतिष्ठान सुर्खेतले प्रदर्शन गर्नेछ भने कर्णाली खस संस्कृति संरक्षण मञ्च जुम्लाले ‘फड्को’ प्रदर्शन गर्ने बताइएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशबाट ‘छाउ’ खप्तड सांस्कृतिक परिवार कैलाली र ‘श्रीमान् वीरबहादुर’ सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीले प्रदर्शन गर्ने गरी नाटक छनौट गरिएको अध्यक्ष गौतमले बताउनु भएको छ ।

प्रदेश सरकारले कर्णालीमा नाटक महोत्सव हुने भएपछि सहयोग स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । ‘कर्णालीको कला, साहित्यलाई उजागर गर्न र नाट्य कलालाई संरक्षण तथा सम्बद्र्धन गर्न नाटक महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । प्रदेश सरकारबाट प्राप्त हुने १० लाख रुपैयाँले नाटक महोत्सवको व्यवस्थापन गर्ने आयोजकको भनाई छ ।

सुर्खेतका हरेक स्थानीय तहसँग पनि रकम संकलनका लागि पहल गरिरहेको बताए । कार्यक्रममा सार्क क्षेत्रका प्रतिष्ठित नाट्यकर्मीको पनि सहभागिता रहनेछ । आरङ्ग र सास्कृतिक संस्थानको १–१ वटा प्रस्तुति रहने आयोजक संस्थाको भनाई छ ।