Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

सरकारविरुद्ध कांग्रेसको देशव्यापी प्रर्दशन

माघ २१ काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन गरेको छ । सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलनको आह्वान गर्दै कांग्रेसले काठमाडौंसहित देशका सबै जिल्लामा र्‍यालीसहित विरोध प्रदर्शन गरेको हो । काठमाडौंमा रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु भएको विरोध प्रर्दशन बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, शहीदगेट, न्यूरोडगेट, वीर अस्पताल हुँदै पुनः रत्नपार्कमा आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रर्दशनका क्रममा कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए ।

Image may contain: 8 people, people smiling, people standing, outdoor and text

उनीहरुले वाइडबडी विमान खरिदमा घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेकोलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए । र्‍यालीपछि आयोजित कोण सभामा बोल्दै कांग्रेस नेताहरुले सरकारविरुद्ध आन्दोलनमा होमिन जनतालाई आह्वान गरे ।

कांग्रेस नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीलाई कमजोर नठान्न चेतावनी दिए । उनले राणा शासन ढालेको, बहुदल ल्याउने तथा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व लिएको आफ्नो पार्टीलाई कमजोर ठान्ने गल्ती गरे जनताले वर्तमान सरकारलाई पनि ढाली दिने दावी समेत गरे ।

Image may contain: 4 people, people standing and crowd

नेता सिंहले सरकारले कैलाली घटनाका आरोपी रेशम चौधरीलाई सांसदको सपथ गराएर विधिको शासनको धज्जी उडाएको आरोप पनि लगाए । अर्का नेता राजेन्द्रकुमार केसीले सरकारविरुद्ध आन्दोलनमा उत्रन जनतालाई आह्वान गरे । उनले सरकारले जनताविरोधी काम गरिरहेकाले त्यसको विरोधमा आफूहरुले प्रर्दशन गर्नु परेको पनि बताए ।