कर्णाली भ्रष्टाचारमुक्त प्रदेश बनाउनुहोस् : प्रदेश प्रमुख खनाल
माघ २८ सुर्खेत |
कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउन आग्रह गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसको अवसरमा कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले भ्रष्टाचार न्यूनिकरण गर्दै शुन्य पु¥याउनु पर्ने र कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउनु पर्ने बताउनु भएको हो । जसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मात्र होइन सबै कर्णालीबासीले र कर्णालीमा रहेर काम गर्ने जुनसुकै पदको व्यक्ति समेत सक्रिय हुनु पर्ने प्रदेश प्रमुख खनालको भनाई थियो ।

सोमबार सुर्खेतस्थित अख्तियारको आफ्नै कार्यालय प्राङ्गणमा आयोजना गरिएको स्थापना दिवस कार्यक्रममा शुभकामनाका व्यक्त गर्दै प्रदेश प्रमुखले शासकीय संरचना अनुरुप राष्ट्रिय, प्रदेश र स्थानीय साधन र सम्पत्तिको अक्षरसः सदुपयोग गर्ने, गराउने भूमिकामा अख्तियार सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
मुलुकमा राजनीतिक परिवर्तन र संघियता कार्यान्वयनसँगै विभिन्न तहमा नेतृत्व गर्ने राजनीतिक नेतृत्व र कार्यरत राष्ट्रसेबक कर्मचारीको अबको दायित्व भनेको भ्रष्टाचार न्युनिकरण गर्दै जनताको समृद्धिका लागि जुटने हो भन्दै प्रमुख खनालले भ्रष्टाचार भनेको आर्थिक तथा भौतिक सम्पत्तिको हिनामिना र रातारात धनिबन्न रकम लिनु मात्रै नभएर अनुशासनहिनता, समयमा कार्यालय नआउनु, तोकिएको जिम्मेवारी पूरा नगर्नु र मनोमानी रुपमा काम गर्नु तथा काममा अनियमितता देखिनु पनि भ्रष्टाचार नै भएको र यसको अन्त्यका लागि विभिन्न तहमा कार्यरत कर्मचारी, राजनीतिक नेतृत्व र अख्तियारको कार्यालयले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
बर्तमानमा सन्चारमाध्यममा आउने गरेका भ्रष्टाचारका समाचारले आयोगको कार्यलाई चुनौति थपेको र भ्रष्टाचार अन्त्यका लागि कडा मेहनत र परिश्रम गर्नु पर्ने बताउनु भयो । राष्ट्र र समाजलाई अघि बढाउने सपना देखेका हामी सबैको सपना पूरा हुन नदिने भनेका भ्रष्टाचारीहरु र भ्रष्टाचार नै हो भन्दै यसको न्युनिकरण गर्न नसक्दासम्म देशलाई समृद्ध र जनतालाई सुखी वनाउने सपना साकार हुन नसक्ने खनालको भनाइ थियो । उनले भ्रष्टाचारको वृद्धिले सरकार र देशको इज्जत र प्रतिष्ठालाई समेत दाउमा राख्ने गरेकोले मुलुकलाई भ्रष्टाचार मुक्त बनाउने जिम्मेवारी अख्तियारको मात्रै नभएर विभिन्न तह र तप्कामा रहि काम गर्ने सबैले निष्ठापूर्वक निभाउनु पर्ने उल्लेख गर्नुभयो ।
विकासको सबैभन्दा ठूलो बाधक भ्रष्टाचार भएको बताउँदै र यसको अन्त्यविना विकासका लक्ष्य प्राप्त गर्न सकिदैन उहाँको कथन थियो । जनतामा रहेको रोग, भोक, गरिवि अशिक्षा र कुसंस्कारको अन्त्य गर्न कटिवद्ध निकाय र त्यसमा काम गर्ने कटिवद्ध नेतृत्वको आबस्यकता पर्छ भन्ने कुरा जबसम्म जिम्मेवार ब्यक्तिले बुझदैनन् तबसम्म हाम्रो भष्टाचारविरुद्धको अभियान कोरा कागजमा मात्रै सिमित हुने उहाँको भनाई थियो । प्रदेश प्रमुख खनालले हामी जो, जे, जहाँ जुन भूमीकामा छौँ सबैले इमान्दारीपूर्वक भ्रष्टाचारविहिन स्थानीय निकाय, प्रदेश रराष्ट्र निर्माणमा योगदान दिनसबैलाई आग्रह गर्नुभयो ।
मुलुकका ७ प्रदेशमध्ये कर्णाली प्रदेशलाई भ्रष्टाचाररहित दक्ष प्रशासन र स्वच्छ आर्थिक कारोबारमा अनुकरणीय नेतृत्व प्रस्तुत गर्न आह्वान गरेका थिए । उनले भ्रष्टाचार भइसकेपछि त्यसको रोकथाममा लाग्नु भन्दा पनि भ्रष्टाचार हुनै नदिने अभियानलाई सशक्त बनाउँदै अनुगमन, निरिक्षण र सचेतनाको पाटोलाई सक्रिय राख्न पनि २८ औँ स्थापना दिवस पे्ररणादायी बनोस उहाँले भन्नुभयो ।
कार्यक्रममा स्थापना दिवसका अवसरमा आयोजित कविता प्रतियोगितामा प्रथम द्वितिय हुने प्रविण कुमार आचार्य र सर्बज्ञा आचार्यलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
अख्तियार कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिसस अध्यक्ष छविलाल सिग्देल, नगर प्रमुख देबकुमार सुवेदी, मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर र मुख्य सचिव रामप्रसाद थपलिया पत्रकार दुर्गा थापा र अशल शासनका हरि अधिकारीले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । स्थापना दिवसका अवसरमा राखिएको रक्तदान कार्यक्रममा उपसचिव जङ्गबहादुर डाँगी, इन्जिनियर नारायण प्रसाद श्रेष्ठ लगाएत ११ जनाले रक्तदान गर्नुभएको थियो ।






