Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

सूचीकृत बेरोजगारले वार्षिक कति पाउँछन् निर्वाह भत्ता ?

काठमाडौं : 

बेरोजगार युवालाई कम्तिमा वर्षको १०० दिन रोजगारीको ग्यारेन्टी गर्ने उद्देश्यसहित सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ ।

राष्ट्रिय सभागृहमा बुधवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको शुभारम्भ गरे ।

 कार्यक्रमको औपचारिक घोषणासँगै अब बेरोजगार युवाहरूको तथ्याङ्क संकलन हुनेछ । प्रत्येक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रले बेरोजगारको तथ्याङ्क संकलन र रोजगारदातासँग समन्वय गरी रोजगारी दिलाउने छ ।

कम्तिमा १०० दिन रोजगारी पाउन नसक्ने बेरोजगार युवाले सयमध्ये रोजगारी नपाएको दिनको पारिश्रमिकको कम्तिमा ५० प्रतिशत रकम निर्वाह भत्ताका रूपमा एकमुस्ट पाउनेछन् ।

कति पाइन्छ निर्वाह भत्ता ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत साउन ३१ गते राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार श्रमिकको न्यूनतम दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँ छ ।

मासिक पारिश्रमिक पाउने श्रमिकको हकमा त्यो रकम महिनाको १३ हजार ४५० र घण्टाको दरले काम गर्ने हो भने ६९ रुपैयाँ प्रतिघण्टा न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने हुन्छ ।

हेर्नुहोस्, न्यूनतम पारिश्रमिक :

यदि कुनै पनि सूचीकृत बेरोजगारले एकदिन पनि रोजगारी पाएन भने दैनिक ५१७ रुपैयाँलाई १०० ले गुणन गरी २ ले भाग गर्दा हुन आउने रकम निर्वाह भत्ताको रूपमा पाउँछ ।

यसरी हेर्दा १०० दिनको कूल न्यूनतम पारिश्रमिक ५१ हजार ७०० रुपैयाँ हुन आउँछ ।

त्यसको पचास प्रतिशत अर्थात् २५ हजार ८५० रुपैयाँ निर्वाह भत्ता सूचीकृत बेरोजगारले वार्षिक पाउने देखिन्छ ।

त्यसका लागि मापदण्ड पनि तोकिएको छ ।

हेर्नुहोस्, मापदण्ड :

लोकान्तर