कर्णाली प्रदेशस्तरीय खेलकुद उदघाटन
फागुन ११ सुर्खेत ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताको लागि खेलाडिहरुको छनौट गर्ने उद्देश्यले स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने नाराका साथ कर्णाली प्रदेश स्तरीय खेलकुद सुर्खेतमा उद्घाटन भएको छ । खेलकुदको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दुई तिहाइको बहुमतको सरकारसँगै देशमा नयाँ युगको शुरुवात भइसकेको छ । खेलले राष्ट्रियता झल्काउने भएकोले कर्णाली प्रदेश सरकार खेलकुदका क्षेत्रमा सहयोग गर्न तयार छ ।’ सुशासनको क्षेत्रमा समस्या देखिए पनि खेलकुदका माध्यमबाट क्षमता विकास गर्ने युवाहरुलाई हरेक ठाउँमा अवसर दिनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले यस प्रतियोगीतामा स्थान प्राप्त गर्ने खेलाडिहरुलाई कर्णाली प्रदेश सरकारले उचित पुरस्कार सहित सम्मान गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नवौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्दछौं ।’
कर्णाली प्रदेशको समृद्धिका लागि खेलाडिहरुले पनि आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने मन्त्री रावलको भनाई थियो । उहाँले भन्नुभयो, ‘ अब बस्ने कर्णाली प्रदेश सभाको अधिवेशनबाट विधेयक निर्माण गरी कर्णाली खेलकुद परिषद गठन गर्ने र दश वटै जिल्लामा खेलकुद विकास समिति गठन गर्छौ ।’
कार्यक्रममा हरि बहादुर कोइराला, प्रदीप राई, तीर्थनारायण श्रेष्ठलगायतका आज (शनिबार) भएका विभिन्न खेलमा स्थान प्राप्त गर्ने खेलाडिहरुलाई सम्मान तथा प्रमाण पत्र वितरण गरिएको थियो । उद्घाटन कार्यक्रम कर्णाली खेलकुद परिषद्का संयोजक शान्ति सिंहको सभापतित्वमा भएको थियो ।
फोटोहरु




























