वडा नं. ११ मा सरसफाइ कार्यक्रम शुरु
फागुन ११ सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ ले औपचारिक रुपमै फोहोर व्यवस्थापन तथा वडा सरसफाइ कार्यक्रमको शुरुवात गरेको छ । आज (मंगलबार) देउती बज्यै मन्दिरमा वडा कार्यालयको ट्याक्टर पूजासहित सरसफाइ कार्यक्रमको शुरुवात गरिएको थियो ।

वडा अध्यक्ष नन्दलाल शर्माका अनुसार वीरेन्द्रनगगर नगरपालिकाले वडालाई बिनियोजन गरेको बजेट मध्येबाट २० लाख रुपैयाँमा ट्याक्टर खरिद गरी वडा भित्रका विभिन्न रुटहरुमा फोहोर व्यवस्थापन गर्ने कार्यको शुरुवात गरिएको बताउनु भयो ।
आफ्नो घरको फोहोर आफै व्यवस्थापन गर्न लगाउँछौ । एक ठाउँमा थुपारिएको फोहोर उठाएर डम्पिङ्ग साइडमा व्यवस्थापन गर्छौ भन्दै वडा अध्यक्ष शर्माले फोहोरका कारण विभिन्न रोगहरुको समेत सिकार हुनु पर्ने भएकोले सफा र स्वच्छ वडा निर्माणका लागि जनचेतना मुलक कार्यक्रमहरु समेत गर्ने योजना बनाएको बताउनु भयो । ट्याक्टरमा २ जना सहयोगी र एक जना चालकसहित ३ जना रहने जनाइएको छ । उनीहरुलाई वडाको आन्तरिक बजेटबाट पारिश्रमिकको व्यवस्था गरिने वडा कार्यालयले जनाएको छ ।
यसैगरी मेडिकल, उद्योग, कलकारखाना र निवासलगायतका फोहोर निस्कने स्थानहरुको वर्गिकरण गरी मासिक २० रुपैयाँदेखि ३०० रुपैयाँसम्म वडाबासीहरुबाट टोल विकास समितिले फोहोर व्यवस्थापन शुल्क उठाउने निर्णय गरिएको छ भने उक्त शुल्कबाट उठेको पैसा मध्य २५ प्रतिशत टोल विकास समितिलाई नै प्रदान गरिने वडा अध्यक्ष नन्दलाल शर्माले बताउनु भयो ।






