हिन्दु राष्ट्र स्थापना नभएसम्म विश्राम लिँदैनौ : थापा
फागुन २३ सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र स्थापना नभएसम्म विश्राम नलिने बताएका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । तोकिएको समय भन्दा ढिला गरी शुरु भएको कार्यक्रममा पार्टी अध्यक्ष थापाले भने, ‘हामी यति बेला भोट माग्न आएका छैनौ । धर्म निरपेक्ष भइसकेपछि देशले व्यहोर्नु परेको संक्रमणबाट देश जोगाउने अभियान बोकेर यति बेला मेची महाकाली यात्रामा निस्केका छौ ।’ राप्रपा अहिले कुनै पनि पार्टी र वर्तमान सरकारको विरोध गर्न देश दौहाडामा नलागेको तर आम नेपालीलाई हिन्दु राष्ट्रको बारेमा चेतना जगाउनका लागि देशका विभिन्न स्थानमा पुग्ने अभियान चालिरहेको उनको भनाई थियो ।

यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापन पत्र बुझाउँदै आफ्ना मागहरु राखिसकेको र ती मागहरु जनताको पक्षमा भएकाले त्यसको सम्बोधन गर्नु पर्ने थापाको कथन थियो । उनले भने, यदि हाम्रा मागहरु सम्बोधन भएनन् भने चैत्रदेखि जनसंघर्षको शुरुवात गर्दछौ । समयमा नै धर्म परिवर्तनको चलखेल बन्द नहुने हो भने कुनै दिन देशले धार्मिक युद्धको सामना गर्नु पर्ने परिस्थितिको सिर्जना हुने बताउँदै पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र लोकतन्त्र सहितको राजसंस्थाका लागि हामीले उठाएको आवाजमा नेपाली जनताले साथ दिनेमा विश्वस्त रहेको थापाले बताए ।
कार्यक्रममा पूर्व गृहमन्त्री एवम् पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङले भने, बहुमतको कदर गर्छौ भन्नेहरुले नेपाली जनताको चाहना विपरित देशलाई धर्म निरपेक्ष बनाए । हिन्दु धर्म वा धर्म निरपेक्ष भन्ने विषयमा जनमत संग्रह गर्न सरकारसँग माग गर्दछौ ।

राप्रपाले यही फागुन १५ गत ताप्लेजुङबाट शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिने मुख्य उद्देश्य राखिएको मेची महकाली मुलुकका ३६ जिल्लामा हुने राप्रपाले बताएको छ । उक्त यात्रा काठमाडौँमा आएर समापन हुने बताइएको छ । दुई हजार ८ किलोमिटरको यात्रामा गर्ने तथा यात्रा अवधिभर विभिन्न शहरमा करीब २ सय स्थानमा सभा गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘पार्टीले लिएको राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गरिनुपर्ने आफ्ना राजनीतिक एजेण्डासमेत जनता माझ छलफल गराउने कार्यक्रम समेत रहेको राप्रपाका कर्णाली प्रदेश अध्यक्ष धन बहादुर बुढाले बताए । यात्राका क्रममा विभिन्न नदी तथा तीर्थस्थलबाट ल्याइने जल पशुपतिनाथ मन्दिरमा समापनका दिन चढाइने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

सङ्गठितरुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने, गौ हत्या नियन्त्रण गरिनुपर्ने, प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तीमा एउटा गौशाला निर्माण गरिनु पर्ने लगायतका मागहरु रहेका छन् । सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्बा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरिनुपर्ने, यस क्रममा पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरिनुपर्ने विषयमा पनि पार्टीले कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश समिति अध्यक्ष बुढाको भनाई थियो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बुढाले भन्नुभयो, ‘हाल आरक्षणको सुविधाबाट वञ्चित तर आर्थिकरुपमा विपन्न अन्य जातीय समूहलाई समेत सबै क्षेत्रमा कम्तीमा १० प्रतिशत आरक्षण गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि विदेशमा लुकाएर राखिएको कालोधन देशभित्र ल्याइनुपर्नेलगायत सामाजिक विषयवस्तुमा देशव्यापी रुपमा सशक्त कार्यक्रम सञ्चालन भइरहेको पार्टीले जनाएको छ ।’
यसैगरी पार्टीले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउन गर्न माग गर्दै वर्षमा कम्तीमा पाँच लाख रोजगारी सिर्जना गर्नेगरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्न सरकारलाई सुझाएको छ ।
राप्रपाले उठाएका मागमध्ये महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त गरिनुपर्ने, सबै प्रकारका जातीय विभेद र छुवाछूत अन्त्य गरिनुपर्ने, स्थानीय तहमा लगाएका अव्यावहारिक कर अन्त्य गरी तीन तहका सरकारबाट लगाइएका दोहोरो कर हटाउनुपर्नेजस्ता विषयमा पत्रकार सम्मेलनमा जोड दिइएको थियो ।






