विप्लव माओवादीको आज नेपाल बन्द
फागुन ३० सुर्खेत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको घोषणा गरेको छ । सरकारले देशभर नै पार्टीका कार्यकर्ताहरुलाई धरपकड गरेको विरोधमा ‘विप्लवले बुधबार बन्दको आह्वान गरेको हो । नेपाल बन्द भने शान्तिपूर्ण हुने जनाएको छ । ‘पार्टीको केन्द्रीय कार्यक्रम अनुसार एकदिन बन्दको आह्वान गरिएको हो, बन्द शान्तिपूर्ण हुनेछ’ विप्लव नेतृत्व नेकपाका सुर्खेत इन्चार्ज धुव्रले भने । नागरिकहरुलाई दुःख दिने नियत नभई आफ्ना कार्यकर्तामाथि सरकारले गरेको दमनका विरुद्ध बन्द आह्वान गरिएको इन्चार्ज धुव्रले बताए । ‘पार्टीलाई प्रतिवन्ध लगाउनु देशमा सरकारले नै अशान्ति फैलाउदै देशलाई गृहयुद्धतर्फ धकेलेको छ ।’ गणतन्त्रमा पार्टीलाई नै प्रतिवन्ध लगाएर सरकारले देशमा मुठभेटको सिर्जना गरेको उनको आरोप छ ।
यता सरकारले मंगलबार मात्र प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबारका लागि आह्वान गरेको नेपाल बन्दलाई लिएर देशभरको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीले सम्भावित चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको बताए । सुरक्षा खतरालाई मध्यनजर गर्दै बुधबार काठमाडौंलगायत विभिन्न जिल्लाको जिल्ला सुरक्षा समिति बैठक बसेको थियो ।
सुर्खेत जिल्ला सुरक्षाा समितीको बैठकले सुरक्षा ब्यवस्थापनमा कुनै कसर नराख्ने निर्णय गरेको छ । सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकायालाई चालु अवस्थामा राख्ने निर्णय गरेको बताए । कर्णाली प्रदेशमा विशेष सुरक्षा रणनीति अख्तियार गरिएको बताइएको छ ।
सरकारले लगातार दमन गर्न थालेको भन्दै विप्लव समूहले बिहीबारको नेपाल बन्द आह्वान गरेको हो । काठमाडौमा उक्त समूहका आपराधिक गतिविधि बढेपछि प्रहरीले गत साता विप्लवको रुपन्देहीस्थित आधार इलाकामा छापा मारेको थियो । त्यहाँबाट केही हतियार बरामद भएका थिए । त्यसअघि विप्लव समूहले ललितपुरको नख्खुमा विस्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । त्यसको केही दिनपछि बसुन्धारास्थित वैदेशिक रोजगार व्यवशायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा पार्किङ गरिराखेको उनको गाडीमा भएको विस्फोटनको जिम्मा पनि विप्लव समूहले लिएको थियो । सुदुर पश्चिममा प्रदेश सांसदको अपहरणमा पनि विप्लव समूहले जिम्मा लिएको थियो ।
प्रदेश तथा संघीय संसदको चुनावताका राजधानीमा शृंखलाबद्ध बम विस्फोट गराएको विप्लव समूहप्रति सुरक्षा निकाय सचेत छ । विस्फोटनका सम्भावित योजनालाई केन्द्रित गरेर सुरक्षा ब्यवस्थापन गरिएको अधिकारीहरु बताउँछन् ।






