Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

दुई तिहाइको सरकारले देशको ढुकुटी रित्यायो : पुरी (प्रेस नोटको पूर्ण पाठ सहित)

चैत्र २ सुर्खेत ।
वर्तमान दुई तिहाइको सरकारले देशको ढुकुटी रित्याएको बताइएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्द्रिय सदस्य एवम् सुर्खेत जिल्ला कार्य समितिका अध्यक्ष कविराम पुरीले यस्तो बताउनु भएको हो ।


यही चैत्र ४ गते सुर्खेतको वीरेन्द्रनगरमा हुन गइरहेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पार्टीका अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी आउने जानकारी दिँदै अध्यक्ष पुरीले यस्तो बताउनु भएको हो । पत्रकारसँग कुरा गर्दै अध्यक्ष पुरीले भन्नुभयो, देशमा स्थायी शान्तिको आशा देखाएर दुई तिहाइ बहुमत ल्याउनेहरुले देशमा शान्ति स्थापना गर्नुको साटो फेरि युद्ध तर्फ उन्मुख बनाएकोले देशमा फेरि द्वन्द्व हुने हो कि भन्ने त्रास बढेको छ ।

प्रेस नोटको पूर्ण पाठ

पत्रकार बन्धुहरु,

देशमा स्थिर सरकारको निर्माण नभएको कारण मुलुकले स्थायी शान्ति प्राप्त गर्न नसकेको भन्दै जनताका अगाडि गोहीका आँसु बगाउनेहरु आज मुलुकको शासन सत्ता संचालनका लागि दुई तिहाईको बहुमत लिएर बसिरहेका छन् । सुखी नेपाली र समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्नुको सट्टा आन्तरिक किचलो र भागबण्डाको राजनीतिमा रमाइरहेकाहरुबाट अब देशले खोजेको समृद्धि र नेपालीले खोजेको उन्नती, प्रगति र समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने आधारहरु दिनप्रतिदिन हराउँदै गएको हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले स्पष्ट भाषामा प्रस्तुत गर्दै आइरहेको छ । त्यसका पछिल्ला उदाहरण भनेका एकातिर देशलाई विखण्डनमा पु¥याउन उद्त रहेको सिके रावत जस्तालाई आम माफी दिनु र अर्कोतिर देशमा पुनः शसस्त्र द्वन्द्वको शुरुवातका लागि हतियारसहितको ललकार सुन्न हतारिएको कारण नेकपा (विप्लव) पार्टीलाई लगाइएको प्रतिबन्ध हो ।

नेपाली जनताले वाम गठबन्धनलाई विश्वास र भरोसा गरेकै कारण राजनीतिक इतिहासको कालखण्डमा दुईतिहाईको बहुमत प्रदान गरेर स्थिर सरकार निर्माणमा पु¥याएको योगदानको आज कदर गर्न नसक्नेहरुले सत्ता संचालन गरेको एक वर्ष भन्दा बढि भइसकेको छ । दुई तिहाइ बहुमत प्राप्त सरकारबाट नेपाली जनताले प्राप्त गर्ने भनेको आर्थिक क्रान्ति, भौतिक विकासको क्षेत्रमा नयाँ क्रान्ति, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता तमाम क्षेत्रमा नयाँ शुरुवाती हुनु पर्ने हो । तर बिडम्बनाका साथ भन्नु पर्छ नेपालको संविधान २०७२ अनुसारको निर्वाचन प्रक्रियाबाट आएको वर्तमान केपी ओली सरकारले नेपाली राजनीतिक इतिहासमा सबैभन्दा भ्रष्टाचारी, बलात्कारी, तस्करी, लुट र हत्या मात्र होइन एउटा राजनीतिक खेमालाई जंगल पठाउने र नेपाली जनतालाई फेरि त्रसित बनाउने कार्य गरेको स्पष्ट छ ।

नेपालमा अस्थिर राजनीतिक वातावरणको जरो झाँगिदै जाँदा नेपाल र नेपाली मनमस्तिष्कमा कुठाराघात र गम्भीर चोट पु¥याउने खालका गतिविधिहरु प्रति राप्रपा (संयुक्त) सचेत भएर सधैँ नेपाली जनताको पक्षमा वकालत गर्ने राजनीतिक शक्तिको रुपमा स्थापित भएको पार्टी हो । एकातिर पृथकतावादी संगठनहरुको अपवित्र गठबन्धन र अर्कोतिर जनताले तिरेको करबाट रासन खाएर भाषण गर्ने तिनै दलहरुको मतियार सरकार । देशको ढुकुटीलाई रित्याउँदै गरिरहँदा हामीले खबरदारी गर्नै पर्ने समय आयो । देशको राजनीतिक अवस्था यो गम्भीर मोडमा पुगेको समयमा हामी चुप लागेर बस्न नसक्ने अवस्थाको सिर्जना स्वयम् सरकारले नै गरेको छ । त्यसैले आफूलाई नयाँ ढंगबाट परिमार्जन र परिस्कृत गरी नेपाली जनता प्रति जवाफदेही र जिम्मेवारिताका साथ अब देश र जनताको रक्षार्थ सचेत नागरिकहरु बोल्नै पर्ने समय आइसकेको छ । हामी दाबा गरेर भन्छौ संघीयता मात्र होइन गणतन्त्र नामको बिषबृक्ष समेत ओइलाउन थालिसकेको छ । त्यसैले अबको बाटो भनेको संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र र हिन्दूराष्ट्रको स्थापनाले मात्र देशमा शान्ति र सु–व्यवस्थाको सिर्जना हुनसक्छ । पृथ्वीनारायण शाहले एक सुत्रमा बाँधेको नेपाललाई कुनै पनि हालतमा टुक्रा हुन नदिने प्रण लिएका छौ । देशभक्ति, स्वाधिनता र राष्ट्रिय स्वतन्त्रताको रक्षाका लागि पूर्खाले आर्जेको बीरंगनालाई कहिल्यै नभूल्ने प्रण गरेका छौ । वर्तमान संविधानको कार्यान्वयनमा केही असहमति बाहेक हाम्रो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्नेमा कसैले संकोच मान्नु पर्दैन । तर हामी पूर्ण धार्मिक स्वतन्त्रता सहितको सर्वधर्म सापेक्ष सनातन हिन्दु राष्ट्र कायम गर्नु पर्छ भन्ने माग राख्दै आएका छौ । धर्म निरपेक्षता विरुद्ध धर्मसापेक्षताको पक्षमा चट्टान झैँ खडा छौ । नेपाललाई धर्मधर्म सापेक्ष सनातन हिन्दु राष्ट्र घोषणा गर्नका लागि जनतालाई साथमा लिएर सडकमा उत्रन तयार छौ । हामी हाम्रो गौरवशाली इतिहास र सनातन धर्म संस्कृति र इतिहासको जगमा उभिएर एक्काइसौं शताब्दीको समृद्ध नेपाल निर्माण गर्न कृत संकल्पित छौ ।

पत्रकार बन्धुहरु,
पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म हाम्रो पार्टीको नारा र नेपाली जनताले चाहेको स्थायी शान्तिको मार्गदर्शनहरु बुझाउँदै हाम्रो पार्टीले विभिन्न भेला, संगठन विस्तारका कार्यक्रमहरु साथै जनसभा संचालन गरिरहेको छ । यसै सन्दर्भमा हाम्रा पार्टीका केन्द्रिय अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी ज्यू लगायत केन्द्रिय पदाधिकारीहरुले पार्टीका अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यही चैत्र ४ गते आउँने कार्यक्रम रहेको कुरा यहाँहरु समक्ष अवगत गराउन पाउँदा गर्व लागेको छ । हाम्रो पार्टीका नेता तथा यस प्रदेशका अगुवा कार्यकर्ता भेलामा पाँच सय भन्दा बढिको उपस्थिति रहने जानकारी गराउन चाहन्छौ । विहान ठीक ११ बजे औपचारिक उद्घाटन भइसकेपछि दोस्रो चरणमा कार्यकर्ता भेलाको कार्यक्रम तय गरिएको जानकारी गराउन चाहन्छु । यही ४ गते हुने उक्त कार्यकर्ता भेलामा समेत यहाँहरुलाई हार्दिकताका साथ निमन्त्रणा गर्दछु । पार्टीको एउटा जिम्मेवार सिपाहीको नाताले यहाँहरुलाई उक्त कार्यक्रममा स्वागत गर्न म ठीक समयमा पर्खिरहेको हुनेछु । साथै यही चैत्र ५ गते विहान ७ बजे होटल सिद्धार्थमा यहाँहरुसँगै बसेर हाम्रा पार्टीका केन्द्रिय अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी ज्यू लगायत केन्द्रिय पदाधिकारीहरुले चियापान गर्ने कार्यक्रम राखेका छौ । उक्त चियापनमा समेत यहाँहरुलाई हार्दिक स्वागत गर्ने प्रण गर्दछौ ।

राप्रपा (संयुक्त), कर्णाली प्रदेश कार्य समिति, सुर्खेत ।