Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

भेरीमा पुल नहुँदा १४ जनाको मृत्यु, स्थानीय सरकार भने बेखबर !

देवबहादुर राना सुर्खेत ।
‘बिहानै उठ्ने । कहिले गाउँबाट खरिद गरेर ल्याउने । कहिले घरमा भएको तरकारी बेच्न जाने । तरकारी डोको भरी पारेर विहानै सुर्खेत (वीरेन्द्रनगर) बजार पुग्ने । तरकारीकै भर थियो घर व्यवहार चलाउने, छोराछोरी पढाउने । नगरी नहुने के गर्ने । अझै भेरी नदीमा पुल भए हुन्थेन । गाडीका ट्युव र ढुंगामा चढेर नदी तर्नुपर्छ । त्यही ट्युव पल्टिएर पोहोर मात्रै यही गाउँकी कल्पना बितिन् ।’ यसरी फेरहस्ती लाउँदै थिईन् भेरीगंगा नगरपालिका वडा नं.१ बसेरीकी अनिता थापा ।
२०७४ सालको उर्लने भेरी नदीमा ट्युव पल्टिएर आफ्नो गाउँले कल्पना रानाको मृत्यु भएको उनले सुनाईन् । ‘भर्खरकै कलिलो उमेर थियो । ३० वर्षजतिकी थिईन् । उनीसित भएका ३ जना पनि संगै नदीमा डुवे । सधै तरकारी बेच्न जानुपथ्र्याे । अनि नदीमा ट्युव नचढेर अरु केही छैन् ।’
नदीमा पुल नहुँदा यहाँका नागरिकले उत्पादन गरेका कृषिवस्तुले समेत बजार पाउन नसकेको थापा बताउँछिन् । ‘हामीले उत्पादन गरेका तरकारीहरु, कुखुराहरु बिक्रि गर्न ज्यानको बाजि थापेर वारपार गर्नुपर्छ ।’ उनले भनिन्,‘घरमै उत्पादन गरेका तरकारीहरु बेच्न पनि पाइँदैन, घरमै सडेर जान्छ ।’ फेरि थपिन्, ‘पुल बनेको भए त घरमा सडेर जाने तरकारी बजारमा लगेर एक दुई रुपैँया भए पनि बेच्थिम, के गर्ने ? बजार जान प¥यो भने पनि ट्युव र डुंगा चढ्नु पर्छ, त्यसैमा कतिले ज्यान गुमाए । वारपार गर्न पनि डर लाग्छ ।’
यसरी कल्पना जस्तै अकालमै ज्यान गुमाउने संख्या दर्जन बढि पुगिसकेको छ । भेरीगंगा नगरपालिका–१ को बसेरी र वीरेन्द्रनगर नगरपालिका–९ थापा डेरा क्षेत्रमा पर्ने भेरी नदीमा पुल नहुँदा यहाँका नागरिकले वर्षेनी धनजनको क्षेत्री बेहोर्दै आएका छन् । तर स्थानीय सरकारले भने पुल बनाउने कुरामा बेखबर देखिएको छ । ‘पुल बनाउने जिम्मेवारी निकाय हामी होइन ।’ भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहदुर चन्द भन्छन् ‘पुल बनाउनलाई हामीसँग नबजेट छ नत अधिकारनै ।’ जनप्रतिनिधि आएको दुई वर्ष पुग्ने लाग्यो तर झुलङ्गे पुल बनाउनलाई पनि किन अरुकै भर भर्नुभो ? भन्ने प्रश्नमा उनले भने ‘पहलनै नगरेको होइन तर प्राप्त बजेटनै मुख्य समस्या हो, समन्य गर्छाँै ।’

नदी तर्दा १४ जनाको मृत्यु
नदी तर्दा राना जस्तै अकालमै १४ जनाले ज्यान गुमाईसकेका छन् । नदीमा डुंगाको र ट्युवको भरमा वारपार गर्दै आएका छन् । भेरी नदीमाथि भरपर्दाे पुल नहुँदा २०५४ सालदेखि २०७४ साल सम्म गरी १४ जनाले अकालमै ज्यान गुमाएका हुन् ।
२०५५ सालमा पुल अभावकै कारणले डुंगा पल्टिएर २० वर्षीय ललिराम जैसी, ९ वर्षीया उर्मिला शर्माले अकालमै ज्यान गुमाउन पुगे । त्यस्तै २०५६ सालमा ३६ वर्षीय नरेन्द्र शर्मा र २४ वर्षकी अमृता घर्तीले ज्यान गुमाए । २०५७ सालमा ४६ वर्षका कृपाराम जैसीको मृत्यु भयो भने, २०५८ सालमा १४ वर्षीया बालक दिनेश रावतले ज्यान गुमाए । त्यसैगरी २०५९ सालमा २९ वर्षका रामबहादुर थापाको नदी तर्नेक्रममा मृत्यु भयो । २०७१ सालमा ४५ वर्षीय भोजबहादुर राना र ४२ वर्षका हरिबहादुर कार्कीको डुंगा पल्टिएर मृत्यु भयो । २०७२ सालमा ३८ वर्षीय बलबहादुर रामजालीको अकालमै ज्यान गयो भने, २०७३ साालमा ११ वर्षीय बालक हरिबहादुर थापा र २१ वर्षका बैकुण्ठ थापाले ज्यान गुमाए । गत साल मात्रै नदीमा डुवेर दुई जनाको अकालमै मृत्यु भयो । नदी तर्नेक्रममा ३० वर्षीया कल्पना राना र १८ वर्षीय नरबहादुर बुढा मगरको मृत्यु भएको थियो ।

पुल बनाउन समुदायको जोड
पुल बनाउनका लागि स्थानीय समुदायले पहल गर्दै आएका छन् । आमनागरिक भेला बसेर पूर्वाधार विभाग पुल्चोकमा गत साउन २३ गते पुल बनाउन माग गरेको स्थानीयले बताए छन् । भेला बसेर पुलको माग गर्नकै लागि उपभोक्ता समिति समेत तयार गरी प्रक्रिया अघि थालिएको स्थानीय स्थानीयहरु बताउँछन् । स्थानीय पूर्वाधार तथा सडक विभागमा आवश्यक प्रक्रियाका लागि निर्णय गरी पठाएको छ । स्थानीय गाउँलेले पटक पटक सरोकारवाला निकायसंग पुल बनाउन माग गरिरहेका छन् । उक्त स्थानमा पुल बने भेरीगंगाको बसेरी, सालघारी,बाखले, धुमाउने, सिसौँ, ढाप, सुनकाउली, मनिरामकाँडा, भ¥याङ्खोरीया, धुनँषवास, माथिल्लो भ¥याङ, लगाएतका दुई दर्जन बढि समुदायका २२ सय घरधुरी परिवारका नागरिक लाभान्वित हुने छन् ।

के भन्छन् वडाध्यक्ष ?
यहाँको नागरिकको सहज आवत जावत गर्नका लागि वारवार झोलुङ्गे पुलको माग गर्दा समेत सरोकारवाला निकायले कुनै चासो नदिएको सर्वसाधारणको गुनासो छ । करिव १२० मिटर लम्वाई रहेको सो स्थानमा अझै पुल बन्न सकेको छैन् । भेरीगंगा नगरपालिका १ का वडा अध्यक्ष नवराज कार्कीले आफुहरुले पटक–पटक पुलको माग गरे पनि कुनै सुनुवाई नभएको दुखेँसो पोखे । ‘हामीले विगत १२÷१५ वर्षअघि देखि झोलुङ्गे पुलको माग गर्दै आएका छौँ ।’ उनले भने, ‘अहिलेसम्म कुनै पनि निकायले ध्यान दिएको छैन् ।’ पुलकै अभावले पटक–पटक गरी दर्जन बढिले ज्यान गुमाएको भन्दै सर्वसाधारण तर्सितहुदै नदीमा वारपार गर्नुपर्ने बाध्यता सुनाए । ‘बजार आउनकै लागि पनि ज्यानको बाजी थापेर वारपार गर्नुपर्छ ।’ उनले भने, ‘अरु कुनै विकल्पै छैन ।’