Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

फोहोर व्यवस्थापन गरे मोहर बन्छ

बसन्त भण्डारी, सुर्खेत । भनिन्छ कुनै पनि चिज बस्तुलाई समयमा नै व्यवस्थापन गरे त्यसले राम्रो नतिजा दिन्छ । जसको एक उदाहरण हो फोहोर, फोहोर मानिस बसोबास गर्ने सबै क्षेत्रहरुमा हुन्छ । र त्यसले त्यो क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ । अहिले फोहोर कतिपय ठाउँमा विकासमा बाधक तत्व समेत बनेको छ । संसारको जुन सुकै क्षेत्रहरुमा फोहोरको समस्या जिवित छ । फोहोरलाई सहि व्यवस्थापन गरे त्यसलाई मोहर बनाउन सकिने विज्ञहरुको भनाई छ । जति पनि क्षेत्रहरुमा हुने फोहोरको सहि सदुपयोग गरे त्यसबाट राम्रो आम्दानी लिन सकिने उनिहरुको भनाई छ ।

आईतबार कर्णाली प्रदेशको राजधानीमा वीरेन्द्रनगरमा लिड नेपालले फोहोर व्यवस्थापन कार्यशाला गोष्ठी मार्फत फोहोर व्यवस्थापनको बारेमा विभिन्न जानकारी दिएको छ । कार्यक्रममा फोहोर व्यवस्थापन भएको ठाउँहरु, व्यवस्थापन नभएको ठाउँहरु, कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरुको बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा फोहोर व्यवस्थापन सम्बन्धी आफ्नो प्रस्तुति राख्दै स्वच्छ अभियानका अभियन्ता श्री निवासनले हरेक ठाउँको फोहोर व्यवस्थापन १२, १२ घण्टाको फरकमा गरे त्यसलाई मोहरको रुपमा प्रयोग गर्न सकिने बताए । फोहोर व्यवस्थापन गर्दा जैविक, अजैविक छुट्याएर राखे विभिन्न किसिमका चिज बस्तुहरु बनाउन सकिने बताए ।

अहिले फोहोरको असर मानिसमा मात्र नपरेर पशुपक्षीहरुलाई पनि परेकाले अनिवार्यरुपमा यसको व्यवस्थापनमा लाग्नु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो । विभिन्न चिज बस्तु बनाउन सकिने फोहोर जलाउनु भनेको पैसा जलाउनु हो भन्दै उनले वीरेन्द्रनगरको फोहारलाई सहि सदुपयोग गरे त्यसबाट राम्रो आम्दानी लिन सकिने बताए । साथै उनले सहि तरिकाले लागे १ बर्षमा वीरेन्द्रनगरको फोहोर व्यवस्थापनमा कायापलट बनाउन सकिने बताए ।

गोष्ठीको मुख्य उद्देश्य भनेको हरेक तहका सान्दर्भिक नीतिबनाउने तथा कार्यान्वयनको लागि नीति निर्माता तथा फोहोमैला व्यवस्थापनको क्षेत्र मा कार्यरत सरोकारवालाको क्षमता अभिवृद्दि गर्नुका साथै वातावरण मैत्रीप्रविधिको अध्ययन तथा कार्यान्वयन गर्नु रहेको लिड नेपालका व्यवस्थापक करुणा अधिकारीले बताइन् । साथै फोहोरमैला व्यवस्थापनलाई दीगो विकासको लक्ष्य सँगसँगै लैजानु रहेको बताइन् ।
लिड नेपालले केहि समय अघि बिज्ञ टोलीबाट सुर्खेत जिल्लाका चार नगरपालिकाहरु वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र लेखबेसी नगरपालिका भ्रमण गरी त्यहाँ नगरपालिकामा रहका हरेक तहतप्का प्रमुखहरुसँग छलफल गरेको थियो । फोहोरलाई फोहोर नभनेर श्रोतको रुपमा हेर्न पर्ने आयोजकको भनाई छ ।

अहिले अव्यवस्थित रुपमा भैरहेको फोहोरमैला सहि तरिकाले व्यवस्थापन गर्ने कुराहरुमा गोष्ठीले धेरै सहयोग गर्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवदीले बताए । उक्त गोष्ठीबाट फोहोर व्यवस्थापनको बारेमा धेरै कुराहरु जानकारी भएकाले अबका फोहोर व्यवस्थापनका योजनाहरुमा विशेष ध्यान दिएर अघि बढ्ने लेखबेसी नगरपालिकाका प्रमुख गगनसिँह सुनाले बताए । फोहोर व्यवस्थापन गर्ने कुराहरुको आगामि दिनमा नगरपालिकाले बनाउने योजनामा यसले धेरै सहयोग पु¥याउने भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले बताइन् । पछिल्लो समयमा भैरहेको फोहोर व्यवस्थापन यसको असर तथा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराहरुमा राम्रो जानकारी भएको सहभागिहरुको भनाई थियो ।

लिड नेपालले देशका सातै प्रदेशमा गरी २१ नगरपालिकामा एकिकृत फोहोरमैला व्यवस्थापनको वस्तुगत तथा स्थलगत अध्ययनको लागि ४२ सर्वेक्षकहरु प्रिचालित रहेको आयोजकले बताएको छ । दुईदिन सम्म सञ्चालन हुने कार्याशाला गोष्ठिले सुर्खेतका चारवटा नगरपालिकाको फोहोरमैला व्यवस्थापनका समस्या पहिचान गरी प्रयोगात्मक तथा वातावरण मैत्री तरिकाबाट व्यवस्थापन गर्ने भन्ने कुराको सिकाई हुने आयोजकले विश्वास लिएको छ ।

लिड नेपालका आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा सुर्खेतका चार नगरपालिकाका प्रमुख उपप्रमुखहरु, प्रदेश मन्त्रालयका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्षहरु लगायत अन्य विभिन्न संघ संस्था कार्यालयमा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।