पुस्तकालयको उद्घाटन २३ गते हुने : कारागारमा २१ लाख बढीका किताब
चैत्र १९ सुर्खेत ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरू गरेको ‘कारागारलाई किताब’ अभियानअन्तर्गत यही चैत्र २३ गते विहान ७ बजे यस प्रदेशका १० वटै जिल्ला कारागारहरुमा पुस्तकालयको उद्घाटन हुने भएको छ । कारागारलाई किताब अभियान बारे जानकारी दिने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो बताइएको हो । अभियानका संयोजक समेत रहनु भएका कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी महेशविक्रम शाहले यस्तो बताउनु भएको हो । उहाँका अनुसार कर्णाली प्रदेशका सबै कारागारहरुमा २१ लाख बढि मूल्यका किताब संकलन भएका छन् । अभियानलाई सफल बनाउन गठित समिति र उपसमितिका माध्यमबाट ८ हजार ३ सय ८८ वटा विभिन्न विषयका पुस्तक संकलन भएको बताइएको छ ।

प्रदेश प्रहरी प्रमुखको संयोजकत्वमा गठित मूल समितिले ४ हजार २८२ पुस्तक संकलन गरेको छ भने जिल्लास्थित प्रदेश प्रहरी प्रमुखको संयोजकत्वमा गठित उपसमितिले ४ हजार १०६ वटा पुस्तक संकलन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मूल समितिले संकलन गरेको पुस्तक ९ लाख ६८ हजार ६ सय ७५ रुपैयाँ बराबरका रहेका छन् भने उपसमितिले संकलन गरेका पुस्तक झण्डै १२ लाख रुपैयाँ बराबर रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

अभियानलाई सार्थक बनाउन थालिएको पुस्तक संकलन अभियानका लागि विभिन्न ख्यातिप्राप्त लेखक तथा फाउण्डेशनहरूबाट पुस्तकहरू प्राप्त भएको कर्णाली प्रदेशका डिआइजी महानिरीक्षक महेशविक्रम शाहले जानकारी दिनुभयो ।
प्रदेशस्थित विभिन्न कारागारमा रहेका कैदीहरूका लागि पुस्तकालय स्थापना गर्ने उद्देश्यसहित मंसिरबाट सुरू भएको ‘कारागारलाई किताब’ अभियानमा समिति र अन्य व्यक्तिहरूले भरपूर सहयोग गरेको डिआइजी शाहले बताउनु भयो । अहिले विदेशमा रहेका व्यक्ति तथा संघ, संस्थाबाट भने कुनै पनि सहयोग नलिइएको उहाँको भनाई थियो । उहाँका अनुसार अहिले प्रदेशका सबै कारागारहरूमा पुस्तकालय स्थापनाका लागि व्यवस्थापन गरिसकिएको छ ।
सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, कालीकोट जिल्लामा कारागारभित्रै पुस्तकालय स्थापना गर्नेगरी व्यवस्था मिलाइएको छ । हुम्ला र मुगुमा भर्खरै निर्माण भएका कारागार भवन हस्तान्तरण नभएकाले हुम्लाको जिल्ला प्रशासनको कार्यालयभित्र र मुगुको जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
पुस्तकालयहरूको उद्घाटनका लागि विभिन्न जिल्लाहरूमा ख्याति प्राप्त लेखक तथा साहित्यकारहरूको पनि सहभागिता रहने कारागारलाई किताब अभियान मूल समितिका संयोजक डिआइजी शाहले बताउनु भयो ।
पुस्तकालयहरूको उद्घाटनका लागि सुर्खेतमा वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ उपन्यासकार एवम् कथाकार नैनराज पाण्डे, कवि नवराज पराजुली आउने छन् भने दैलेखमा निबन्धकार शेखर खरेल र उपन्यासकार तथा कथाकार कुमार नगरकोटी आउने कार्यक्रम रहेको छ ।
यस्तै, सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम (पश्चिम) मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामा, जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालीकोटमा उपन्यासकार युग पाठक, जुम्लामा उपन्यासकार शिवानीसिंह थारु र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपाने पुग्ने कार्यक्रम रहेको बताइएको छ ।
जिल्लामा पुग्ने लेखकहरू र कैदीबीच पुस्तकका विषयमा अन्तक्रिया गर्ने कार्यक्रम समेत तय भएको जनाएको छ ।
‘बुक क्लब’ गठन
‘कारागारलाई किताब’ अभियानअन्तर्गत पुस्तकालय स्थापना गरिएका कारागारहरूमा ‘बुक क्लब’ गठन गरिएको छ ।
कैदीहरूमध्येबाट केही कैदीहरूको नेतृत्वमा क्लब गठन गरिएको मूल समितिले जनाएको छ ।
क्लबको नेतृत्वकर्ता तथा सदस्यहरूले आफ्ना साथीहरूलाई पुस्तक पढ्न अभिप्रेरित गर्ने छन् । उनीहरूले आफूले पढेका किताबको बारेमा अरु कैदीहरूबीच समीक्षा गर्दै पठन विकासमा सहयोग गर्ने छन् ।
यस्तै क्लबको तर्फबाट प्रत्येक शनिबार अन्तर्क्िरया कार्यक्रमको आयोजना गर्ने छ ।
कार्यक्रममा कैदीहरूबीच आ–आफूले पढेका पुस्तकहरूको समीक्षा गरिने कारागारलाई किताब अभियान मूल समितिका संयोजक तथा प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार धेरै किताब पढ्ने कैदीलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । पुरस्कारस्वरूप पुस्तक नै प्रदान गरिने बताइएको छ ।






