किताब दिवसमा कारागार भित्रै रचना वाचन प्रतियोगीता
सुर्खेत १० वैशाख |
वैशाख १० गते । अर्थात अन्तराष्ट्रिय किताब दिवस । जिल्ला कारागार सुर्खेतको प्राङ्गणभित्र कैदी बन्दी तथा थुनुवाहरु रचना वाचनमा व्यस्त । कारागारलाई किताब अभियान समितिका संयोजक तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी महेश विक्रम शाहसँगै त्यहाँ उपस्थितहरु निकै ध्यान दिएर रचनाहरु सुन्दै ।
कता राख्नु जुत्ता चप्पल कता राख्नु झोला
सुत्ने ठाउँ साँधुरो भा छ घर बनाउनु होला ।
कैदी बन्दी दीपक रोकायाका यी शब्दहरुले कारागारमा उपस्थित भएका जो कोहीलाई सोच्न बाध्य पार्दै थिए । कारागारमा किताब अभियान समितिले आयोजना गरेको रचना वाचन प्रतियोगीतामा वाचन गरिएका रचनाहरुमा कतै रोदन, कतै पीडा त कतै पश्चाताप समेटिएका थिए भने कसैका रचनाहरु आशा र भरोसाले समेत भरिपूर्ण थिए । गल्ति गरेर होस् या न्याय सम्पादनमा भएको कमजोरीका कारण होस् वा अञ्जानमा भएका कमजोरीका कारण कारागारमा दिनहरु बिताउनु परेको भए पनि यसबाट बाहिर निस्केपछिको संसारमा उदाहरणीय बनेर समाज सेवामा लाग्न सकिने भावनाले भरिएका रचनाहरुले कुनै पनि मान्छेले एक पटक गरेको गल्तीबाट पाठक सिकेर अगाडि बढ्न सक्छ भन्ने प्रष्ट पार्दथ्यो ।
कैदी बन्दी टेकबहादुर कार्कीले भन्नुभयो, ‘कारागारलाई किताब अभियानले पढ्ने लेख्ने अवसर प्राप्त भएकोले जीवन शैलीमा समेत परिवर्तन हुने विश्वास लागेको छ ।’ साहित्यकार महेश विक्रम शाहको कृति भुइँखाट र छापामारको छोरोले निकै प्रभावित भएको बताउनु भयो बन्दी खगेन्द्र थापाले । कारागारमा स्थापना भएको पुस्तकालयले संसार देखाउने कुरामा ढुक्क भएको बताउँदै कैदी बन्दीहरुले जीवनमा हरेश खान नहुने बताए ।
कारागारलाई किताब अभियान समितिका संयोजक महेश विक्रम शाहले कर्णाली प्रदेशका हुम्ला र मुगु बाहेक अरु सबै जिल्लाहरुमा अन्तराष्ट्रिय पुस्तक दिवसको अवसरमा रचना वाचन प्रतियोगीता संचालन भएको बताउनु भयो । प्रतियोगीताले हौसला र प्रेरणा प्रदान गर्ने बताउँदै शाहले भन्नुभयो, मनको कुरालाई शब्द मार्फत बाहिर ल्याउनु लेख्नु हो त्यसैले यहाँ वाचन गरिएका रचनाहरुमा पनि विभिन्न भावहरु व्यक्त भएका छन् । लेखन र अध्ययनले सकारात्मकताको विकास गराउने भएकोले किताबको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनु भयो । जसका लागि सबै संवेदनशील हुन जरुरी रहेको शाहको भनाई थियो । संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि शाहले भन्नुभयो, ‘जीवनशैलीमा परिवर्तन गर्न भित्री आँखा खोल्नका लागि किताब पढ्न आवश्यक छ ।’ शाहले थप्नुभयो, ‘निकट भविष्यमा नै महिला कैदी बन्दीहरुका लागि छुट्टै ¥याकको व्यवस्था गरेर किताबको समेत व्यवस्था गर्छौ र तपाईहरुलाई सहज तरिकाले पढ्ने वातावरण निर्माण गर्छौ ।’
प्रतियोगीतामा हिरासिंह ठकुरी प्रथम

अन्तराष्ट्रिय किताब दिवसमा कारागारमा भएको रचना वाचन प्रतियोगीतामा कैदी बन्दी हिरासिंह ठकुरी प्रथम हुनु भएको छ भने भीम बहादुर बि.क. द्वितीय, शेर बहादुर पाल तृतीय र दीपक रोकायाले सान्त्वना स्थान प्राप्त गर्र्नुभएको थियो । स्थान प्राप्त गर्नेहरुलाई प्रमुख अतिथि महेशविक्रम शाहले पुरस्कार वितरण गर्नुभएको थियो ।
२०७५ सालको चैत्र २३ गतेका दिन कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारहरुमा एक साथ पुस्तकालय स्थापना भएका छन् ।














