Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

छुवाछुतमुक्त घोषणा बारे धेरै नागरिकलाई थाहा छैन

सुर्खेत,२१ जेठ ।
नेपाल जातिय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको आज १३ बर्ष पुगेको छ । तर घोषणा बारे धेरै नागरिकलाई थाहा छैन । २०६२/०६३ को जनआन्दोलनपछि पुनस्थापना भएको व्यवस्थापिका संसद्बाट नेपाललाई जातिय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्रि घोषणा गरिएको हो ।


बराहताल गाउँपालिका ८ की चन्द्रा शाहीले देशलाई जातिय भेदभाव तथा छुवाछुत मुक्त घोषणा गरिएको छ भन्ने कुरा पहिलो पटक सुनेको बताइन् । दिवसका अवसरमा मंगलबार साझा आवाज कार्यक्रम अन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले बराहताल गाउँपालिकासंगको सहकार्यमा आयोजना गरेको ¥यालीमा सहभागी शाहीले घोषणा बारे पहिलो पटक सुनेको बताइन् । ‘देशलाई भेदभाव तथा छुवाछुतमुक्त घोषणा गरेको १३ बर्ष भैसकेछ’, शाहीले भनीन्,‘मैले त आज ¥यालीमा आएपछि पहिलो पटक थाहा पाएँ ।’

यसबारे आफूजस्तै गाउँगाउँमा सबै मानिसलाई जानकारी दिनुपर्ने उनी बताउँछिन् । त्यस्तै ¥यालीमै सहभागी भएकी वराहताल ५ की मनिसा लामिछानेले पनि नेपाललाई जातिय भेदभाव तथा छुवाछुतमुक्त घोषणा गरिएको कुरा पहिलो पटक सुनीन् । नेपाललाई जातिय भेदभाव तथा छुवाछुतमुक्त घोषणा गरिसकिएकाले कसैले पनि भेदभाव तथा छुवाछुत गर्नु हुन्दैन भन्ने कुरा सबै नेपालीलाई थाहा हुनुपर्ने लामिछानेको सुझाव छ । बराहतालमा मानव अधिकार पैरवी सञ्जालका अध्यक्ष कर्ण वि.क. नेपाललाई जातिय भेदभाव तथा छुवाछुत मुक्त घोषणा गरिएपनि अझै पनि विभेद तथा छुवाछुत कायमै रहेको बताउँछन् । जातिय भेदभाव तथा छुवाछुत सम्बन्धीका कानुनी प्राब्धानबारे सबै नागरिकलाई जानकारी गराउनुका साथै घर घरमा चेतना फैलाउन आवश्यक रहेको अध्यक्ष वि.क. को भनाइ छ । राष्ट्रिय रुपमा घोषणा गरिएपनि विभेत तथा छुवाछुत कायमै रहेकाले घर घरमा जागरण ल्याउनेगरी गाउँपालिकाले पुन जातिय भेदभाव तथा छुवाछुतमुक्त पालिका घोषणा गर्नुपर्ने उनको माग छ ।

यसैबीच साझा आवाज कार्यक्रमको आयोजनामा मंगलबार गरिएको ¥यालीपछि कोणसभामा बोल्दै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले सरकारले जातिय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेकाले सबैले व्यवहारमै परिवर्तन ल्याउनुपर्ने बताए । मानिसको व्यवहार परिवर्तन नभएसम्म घोषणा घोषणामै सिमित हुने भन्दै अध्यक्ष बस्नेतले दलित गैर दलित सबैले संकल्प गरेर विभेद र छुवाछुतको व्यवहार त्याग्नुपर्नेमा जोड दिए । बराहताल गाउँपालिका छुवाछुत तथा जातिय भेदभाव न्यूनीकरणका लागि आगामी आर्थिक बर्षमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता पनि अध्यक्ष वस्नेतले जनाएका छन् ।

वडा नं. ७ का अध्यक्ष कुलबहादुर बुचाले जातिय भेदभाव तथा छुवाछुतमुक्त नेपाल घोषणा भएका थाहा पाउनकै लागि बर्षाै लागेको बताउँदै जरैदेखि यसको अन्त्यका लागि सामाजिक जागरण आवश्यक पर्ने औँल्याए । विगतको भन्दा जातिय विभेद तथा छुवाछुतमा कमि आएपनि समय अनुसार परिवर्तन हुन नसकेकाले सबैले संकल्प गरेर अगाडी बढ्नुपर्ने उनको भनाइ छ । साझा आवाज परियोजनाका जिल्ला परियोजना संयोजक इन्द्रबहादुर विश्वकर्माले जातिय भेदभाव तथा छुवाछुत दलितको मात्र समस्या नभई नेपालीको साझा समस्या भएकाले यसको अन्त्यका लागि सबै सरोकारवालाहरुले प्रभावकारी रुपमा काम गर्न अनुरोध गरे । जातिय भेदभाव तथा छुवाछुत बिरुद्धको हक संविधानमा सुनिश्चित गरिएको र त्यस्तो गर्ने जो कोहीलाई दण्ड जरिवाना हुने व्यवस्था कानुनमा भएकाले यससम्बन्धी कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले बताए ।