कर्णाली महोत्सव–२०७५ मा रकम अनियमितता
सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन गरिएको कर्णाली महोत्सव–२०७५ मा रकम अनियमितता भएको पाइएको छ। सुर्खेत चेम्बर अफ कमर्सले २०७५ चैत्र ३ गतेदेखि ११ गतेसम्म सञ्चालन गरेको कर्णाली महोत्सव मार्फत संकलन रकममा अनियमितता भएको हो।
महोत्सवको ३२ लाख २० हजार चार सय ९४ रुपैयाँ अनियमितता भएको छ। महोत्सव आयोजक संस्था सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणी शर्माले उक्त रकम हिनामिना गरेका हुन्। संस्थाका बाणिज्य उपाध्यक्ष हस्त बहादुर सावदले उक्त रकम संस्थाका अध्यक्ष शर्माले हिनामिना गरेको आरोप लगाए। महोत्सव समाप्त भएको यतिका महिना हुँदासम्म पनि अध्यक्षले आम्दानीको हिसाव नबुझाएको बाणिज्य उपाध्यक्ष सावदले बताए।
महोत्सव सञ्चालनका लागि काठमाडौंको राजधानी एमुज्मेन्ट राइटस नेपासँग सम्झौता गरिएको थियो। महोत्सवका लागि उद्घाटन तथा समापन खर्च वाहेक अन्य सबै खर्च एमुज्मेन्ट राइटसले व्यहोर्ने र आयोजक संस्था सुर्खेत चेम्बर अफ कमर्सलाई ३५ लाख रुपैयाँ दिने सम्झौता भएको सावदले जानकारी दिए।
सम्झौता अनुसार आयोजकले महोत्सवमा प्रायोजक संस्थाहरूबाट ३६ लाख ७० हजार रुपैयाँ आम्दानी गर्यो। जसमध्य उद्घाटन र समापन कार्यक्रममा १ लाख ४ हजार रुपैयाँ खर्च भएको उनले बताए।
हाल संस्थाको खातामा १४ लाख ६३ हजार ७ सय ७६ रुपैयाँ मात्र छ। एमुज्मेन्ट राइटसले महोत्सव सञ्चालन वखत सुर्खेतमा विभिन्न व्यवशायी तथा संस्थालाई तिर्न बाँकी रहेको रकम ११ लाख १८ हजार ७ सय ६० रुपैयाँ आयोजक संस्थाका अध्यक्ष शर्मालाई दिएको भए पनि शर्माले उक्त रकम बजारमा नतिरेको आयोजक संस्थाका अन्य पदाधिकारीको आरोप छ।
तिर्नुपर्ने रकम र महोत्सव सञ्चालनको जिम्मा पाएको संस्थाले आयोजकलाई दिएको रकम गरी कुल ३२ लाख २० हजार ४ सय ९४ रुपैयाँको हिसाव अध्यक्ष शर्माले संस्थालाई बुझाएका छैनन्।
संस्थाका अन्य पदाधिकारीले अध्यक्ष शर्माले हिनामिना गरेको रकम उनको व्यक्तिगत चलअचल सम्पतिबाट भए पनि असुल्ने बताएका छन्। संस्थाकी कोषाध्यक्ष हिमकुमारी उपाध्यायले संस्थाको विधान- २०७४ को ३१ मुद्दामामिला को (३) वमोजिम अध्यक्षलाई निलम्बन गरी हिनामिना भएको रकम अध्यक्ष शर्माको चलअचल सम्पतिबाट असुल्ने बताइन्।
संस्थाका अन्य पदाधिकारीले अध्यक्ष शर्मालाई संस्थाको सम्पूर्ण कागजपत्र घरमा लगेर राखेको, कार्यसमितिका दस्तखत किर्ते गरेको, बजारमा तिर्नुपर्ने रकम नतिरेर संस्थालाई बदनाम गराएको, कोषाध्यक्षलाई समेत हिसाब हेर्न नदिएको, संस्थाका सल्लाहकार विष्णुवहादुर शाहीलाई संस्थाले कारवाही गरेको झुठा अफवाह फैलाएको आरोप लगाएका छन्।
सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले यसअघि विज्ञप्ती मार्फत महोत्सवको फरक आय-व्यय सार्वजनिक गरेका थिए।
उपाध्यक्ष हस्त बहादुर सावद, कोषाध्यक्ष हिमकुमारी उपाध्याय, सह-कोषाध्यक्ष दिपेन्द्र बहादुर खड्का, सदस्य माधव प्रसाद कँडेल, सदस्य बलबहादुर थापा, सल्लाहकार सदस्य विष्णुबहादुर शाही, र मदन खड्काले बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष शर्माले रकम हिनामिना गरेको आरोप लगाएका हुन्। उनीहरूले पन्ध्र दिन भित्र आर्थिक हिसाव नबुझाए कानुनी प्रक्रियाबाट अगाडि बढ्ने बताएका छन्।






