Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

विश्वविद्यालयले आकार लिएको छ : उपकूलपति प्रा. डा. कोइराला

असार २ सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयले आकार लिएको बताउनु भएको छ । विश्वविद्यालयको नवौं वार्षिकोत्सवको तयारी सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उपकूलपति प्रा.डा. कोइरालाले यस्तो बताउनु भएको हो ।


पत्रकार सम्मेलनमा उपकूलपति प्रा.डा. कोइरालाले भन्नुभयो, ‘विश्वविद्यालयको कृषि तथा वन विषयको पाठ्यक्रम पास भएको छ । चिकित्सा तथा स्वास्थ्य शिक्षाका लागि नसिंङ्ग काउन्सिलबाट अनुमति पाइएको छ । इटालीको टिसिया विश्वविद्यालयबाट ५ जनाको लागि भिसा आइसकेको छ, यी विश्वविद्यालयले गरेका पछिल्ला उपलब्धि हुन् ।’

विश्वविद्यालयले वार्षिकोत्सवको अवसरमा सौहाद्रपूर्ण म्याराथुनको आयोजना गरेको पत्रकार सम्मेलनमा बताइएको छ । जसमा प्रथमले १० हजार, द्वितीयले ५ हजार र तृतीयले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । वार्षिकोत्सव सम्पन्न गर्नका लागि रजिष्टार याम बहादुर कार्कीको संयोजकत्वमा विभिन्न समितिहरु गठन गरिएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयलाई सौजन्य गरिएको टि–सर्टको विषयलाई लिएर विद्यार्थीहरुले विरोध गरिरहेका छन् नि भन्ने पत्रकारहरुको प्रश्नमा उपकूलपति प्रा.डा. कोइरालाले भन्नुभयो, ‘विरोध गरेपनि कार्यक्रम हुन्छ ।’

भोली असार ३ गते एकातिर विश्वविद्यालयले नवौं वार्षिक उत्सव मनाउँदै छ भने अर्कोतिर विश्वविद्यालयमा परीक्षा संचालन हुनेछ । जसको कारण धेरै विद्यार्थी तथा प्राध्यापकहरु वार्षिकोत्सवमा समावेश हुनबाट बञ्चित हुनेछन् । वार्षिक उत्सवकै दिन परीक्षा संञ्चालन गर्नुले विद्यार्थीलाई उपेक्षा गरिएको विश्वविद्यालयका परीक्षार्थी पदम बहादुर खड्काले बताउनु भयो ।  ‘वार्षिक उत्सवकै दिन परीक्षा संचालन हुनु विश्वविद्यालयको कमजोरी भएको म स्वीकार्दछु’ उपकूलपति प्रा.डा. कोइलाराको कथन थियो ।

 

विश्वविद्यालयले प्रयोग गरेको टि–सर्ट प्रति विद्यार्थीको ध्यानाकर्षण

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले भोली असार ३ गते आफ्नो नवौं वार्षिकोत्सव मनाउने तयारी गरिरहेकोमा उक्त वार्षिकोत्सवको अवसरमा आयोजना भएको खुला म्याराथुन प्रतियोगीता र वार्षिकोत्सवको तयारी भइरहेको समयमा विश्वविद्यालयले प्रयोग गरेको टि–सर्ट प्रति भने विद्यार्थीहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

काठमाडौंमा संचालन भएको एक नीजि कलेजको विज्ञापन हुने गरी विश्वविद्यालयले टि–सर्ट सौजन्य मागेको विद्यार्थीहरुको भनाई छ । उक्त टि–सर्टको प्रयोगले व्यापारिक प्रयोजनमा फाइदा पुग्ने भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका हुन् ।

एक छुट्टै संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी विश्वविद्यालयको वार्षिकोत्सव भव्य रुपमा मनाउन विद्यार्थीहरु कटिवद्ध रहेको तर काठमाडौंस्थित एक नीजि कलेजको विज्ञापन हुने गरी प्रयोग गरिएको टि–सर्ट प्रति विद्यार्थी संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । नीजि कलेजको टि–सर्ट प्रयोग गरेको खण्डमा विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संगठनहरु वार्षिक उत्सव कार्यक्रम बहिष्कार गर्ने र कठोर आन्दोलन उठान गर्ने कुरा यसै संयुक्त विज्ञप्ति मार्फत जानकारी गराउँदछौ’ अखिल छैठो, नेविसंघ, अनेरास्ववियुका प्रतिनिधिहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी मध्यपश्चिमाञ्चल विश्वविद्यालय अनेरास्ववियूका गगन सिंह ठकुरी, ललित वली, भीम गुरुङ्ग र निकुञ्ज पाण्डेद्वारा हस्ताक्षरित एक छुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरि संगठनले विरोध जनाएको हो । नीजि कलेजको नारा लेखिएको टि–सर्ट प्रयोग नगर्न अनुरोध गर्दै विश्वविद्यालयमा हुने क्रियाकलापमा विद्यार्थी संघ संगठनलाई बेवास्था गरेकोमा आपत्ति जनाइएको छ । यदि उक्त टि–सर्टको प्रयोग तत्काल बन्द नगरेमा विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने विज्ञप्तिमा उल्लेख छ ।