विश्वविद्यालयको वार्षिक उत्सवमा खोसिएका टि–सर्ट बाढी पीडितलाई
असार ४ सुर्खेत ।
मध्यपश्चिमाञ्चाल विश्वविद्यालयको नवौं वार्षिक उत्सवको अवसरमा काठमाडौंका नीजि कलेजहरुले सौजन्य गरेका टि–सर्टहरु विश्वविद्यालयका विद्यार्थीहरुले नै खोसेका थिए । विश्वविद्यालयको गरिमामाथि नै आँच पुग्ने गरि नीजि कलेजहरुको प्रचार प्रसार गर्ने हेतुले सौजन्य लिइएको भन्दै उक्त टि–सर्टहरु विद्यार्थीहरुले खोसेर आफ्नो कब्जामा लिएका थिए । त्यसरी कब्जामा राखेका टि–सर्टहरु विद्यार्थीहरुले सुर्खेतको गिरिघाटमा रहेका बाढी पीडितहरुलाई बाँडेका छन् ।

सुर्खेतमा आएको बाढीले घरबार बिहिन बनेकाहरुलाई टि–सर्ट बाँडिएको छ । विश्वविद्यालयले आफ्नै टि–सर्ट छाप्न नसकेर सौजन्य मागेको नभई नीजि कलेजको प्रचारका लागि सौजन्य मागेकोले बाध्य भएर विरोध गर्नु परेको विद्यार्थी संगठनहरुको भनाई छ । टि–सर्ट वितरण कार्यक्रममा विद्यार्थी नेताहरु अखिल क्रान्तिकारीका केन्द्रीय सचिव अमरजंग शाही नेविसंघका केन्द्रीय सदस्य शरि शर्मा, अखिल (छैठौ) का केन्द्रीय कोषाध्यक्ष हस्तराज रेग्मी, निकुञ्ज पाण्डे, राजन केसी, मोहन थापा, घनश्याम पुन, तिर्सना हमाल, प्रेम खड्का, ममता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
नीजि कलेजको विज्ञापन हुने गरि प्रयोग गरिएको भन्दै विश्वविद्यालयको वार्षिक उत्सव कार्यक्रममै विद्यार्थीहरुले विरोध गरेका थिए । उक्त विरोध कार्यक्रममा एक जना प्रहरी जवान समेत घाइते भएका थिए भने दर्जन विद्यार्थीहरु गिरफ्तार भएका थिए । गिरफ्तार विद्यार्थीहरुलाई हिजै छोडिएको थियो ।
विश्वविद्यालयको वार्षिक उत्सवमा प्रयोग गरिएका टि–सर्टले कुनै नीजि कलेजको प्रचार प्रसार मात्र भएको नभई सिंगो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको गरिमालाई समेत दाग लगाएको भन्दै संयुक्त रुपमा विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका थिए । एकातिर परीक्षा संचालन हुनु र अर्कोतिर विश्वविद्यालयको वार्षिक उत्सव कार्यक्रम संचालन हुनु अनि विद्यार्थीहरु विरोधमा उत्रिएर नाराबाजी गर्नुले विश्वविद्यालय प्रशासनको असक्षमताको चित्र प्रष्ट पारेको छ ।
विश्वविद्यालयको वार्षिक उत्सव कार्यक्रममा सहभागी हुन आएका चन्दादाता समेतले कार्यक्रम स्थलसम्म प्रवेश नपाउनु अर्को दुःखको कुरा भएको बताउँदै आएका छन् विद्यार्थी संगठनहरु ।







