Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

वा ! जमुना संसार स्वार्थी छ

बाहिर उखमाउलो गर्मी । नेपालगञ्जका चोकहरुमा चलहपहल नै कम । कता कता टाँगाहरु खट खट गरेको आवाज । हल्का मोटरसाइकलहरु गुडिरहेका । उफ् ! कति सारो गर्मी नि । मसँगै गएका सागरको आवाज विस्तारै सुनेका थिए मेरा कानले । हामी गाडिबाट भरखरै झरेका थियौ । सञ्चारसँग सम्बन्धित कार्यक्रम भएकोले हामी कत्ति पनि ढिला नगरी कार्यक्रम स्थलमा पुग्ने जमर्कोमा थियौ । तर करिब ४२ डिग्रीको तापक्रमले आच्छु आच्छु पारेको थियो ।

लेखक :
खगेन्द्र अधिकारी अमृत

सागर र म हानियौ तोकिएको स्थान तर्फ । साविकको मध्यपश्चिम विकास क्षेत्र स्तरीय कार्यक्रम भएकोले धेरै चिनेका भन्दा नचिनेका अपरिचित अनुहारहरुले हल भरिएको थियो । दैलेखदेखि दाङसम्मका मान्छेहरुका भीडमा पस्यौ म र सागर बाहिरको गर्मीबाट अलिकति भएपनि राहत मिलेको थियो एअरकण्डिसनको चिसोले ।

अपरिचितहरुका अगाडि औपचारिक निभाउने अभिवादनको इशारा बाहेक अरु केही भन्न सकिएन । थोरै चिनेका अनुहारहरुले मलाई हेरिरहेका थिए । मध्यपश्चिमका १५ जिल्लाका ४५ जना सञ्चारकर्मीसँगै आयोजक प्रयोजकदेखि ३ दिनको कार्यक्रमको सहजकर्ताहरुले भरिभराउ हल । भित्र त क्या आनन्द है, सागरले मेरा कानैमा आएर भन्यो । यस्तो पनि आनन्द हुन्छ ? हाम्रो दैलेखमा देखिनस् प्राकृतिक आनन्द । मैले अलि कडा प्रश्नसँगै उत्तर मिलाए । गर्मीका कारण उसको अनुहार तताएको फलाम झैँ रातो भएको थियो । एक त गोहो अनुहार त्यसैमा पनि गर्मी भयो भने खुर्सानी खाएको बच्चा जस्तै रातो हुने गर्दछ सागर ।

सबै आ–आफ्नै धुनमा छन् । कोहीलाई कसैको मतलब छैन । गर्मीले एउटा काम भने गरेको छ । फुत्त फुत्त बाहिर जाने र भित्र आउनेहरु एकै ठाउँमा थचारिएर गफ गर्न मस्त छन् एअरकण्डिसनको चिसोमा ।

फु फु, कसैले केही खसालेको जस्तै आवाज, सबैको ध्यान केन्द्रित । कार्यक्रम हुने स्टेज तर्फ सबैका नजर । एकै छिन्मा । एउटा सुरिलो आवाजकी धनी, निकै मिठास बोलीसँगै कार्यक्रमको औपचारिक संचालनको लागि सबैको स्टेजमा माइक्रोफोनमा आफ्ना कलात्मक शब्दहरुलाई फूलबुट्टा भरेर हामी दर्शक दीर्घामा बसेकाहरु तर्फ फाल्न शुरु गर्छिन । कुनै मान्छे अपरिचित भएपनि निक्कै मन पर्न सक्छ । कुनै परिचित मान्छे पनि उसको बिना कमीकमजोरी अझ भनौ बिना गल्ती सारै रिस उठ्दो पो हुन्छ । आजको कार्यक्रमको संचालक अपरिचित तर क्या राम्री । मनमनै सोचेँ मैले । हुन त मान्छेको मन न हो एउटा अठार बीस बर्षे युवती देखेपछि राम्री रहिछिन् भन्नुमा के दोष । त्यो पनि एउटा पुरुषको मनले ।

कस्तो मीठो आवाज है । फेरि डिस्टर्ब गर्न आइपुग्यो सागर । दुई वटा भोटी बढि लगाएको र दुई वटा रोटी बढि खाएको नाताले म सागर भन्दा ठूलो हुँ भन्ने घमण्ड गर्छु । हुन त एउटै क्षेत्र र पेशामा काम गरेपनि पेशा प्रवेशले सागर म भन्दा करिब ७ वर्षले कान्छो छ उमेरमा २ वर्ष मात्र नभए पनि । त्यसैले पनि उसले दाजुको सम्मान गरेको छ मलाई । त्यसैले म उसमाथि प्रायः हैकम जमाउन चाहान्छु । किन किन मेरो त्यस्तो स्वभाव देखि म आफैलाई दिक्क लागेर आउँछ । तर मेरो त्यस्तो व्यहारलाई उसले सहजै पचाइदिएको छ । सागरको कुरालाई हल्का रुपमा लिए झैँ, ‘रामै्र छ’ छोटो वाक्यमै टुङ्ग्याइदिए मैले ।

औपचारिक कार्यक्रमको शुरुवात अनि बीचमा विभिन्न वक्ताहरुको मन्तव्य । पत्रकार भएकोले प्रायः नेताहरुको भाषण सुन्न सक्ने बानी भइसकेको छ मेरो । तर पनि औपचारिक उद्घाटनको कार्यक्रम छिट्टै सकिएको भए हाम्रो तीन दिने तालिमे कार्यक्रमको शुरुवात हुने थियो । कमसे कम बसाइको व्यवस्थापन पनि यस्तो भलाद्मी टाइपको हुने थिएन होला । एक अर्कामा हुने छलफलले बसाइँमा उर्जा थप्ने थियो होला । अनि खासमा त हामी सिक्न आएकाहरु धेरै थियौ त्यहाँ । त्यसैले सिक्ने कुरा तर्फ ध्यान जाने थियो होला । यस्तै मनमा कुरा खेलाउँदै बडो मिजासिलो ढंगले आशन लिइरहेको थिएँ मैले । सायद यस्तै सोचेका थिए अरुहरुले पनि ।

सकियो औपचारिक कार्यक्रम । एक छिन्को विश्रामपछि फेरि शुरु भयो अर्को औपचारिक । जुन हाम्रा लागि थियो । अब त्यहाँ भाषण दिनेहरु कोही थिएनन् । तर हाम्रा कलमका नीबहरुलाई तिखार्नका लागि शासन दिनेहरुको भने कमी थिएन । विभिन्न नियमहरु बनाइ हाम्रो तालिमको शूरुवात भयो ।

तालिमको शुरुवाती भन्दा पनि उद्घाटनको शुरुवातीमै मान्छेको मन चोर्न सक्ने सुन्दर चोरहरु पनि थिए त्यो सुन्दर हल भित्र । हुन त अरु कसैको मन चोर्न सके सकेनन् तर मेरो मन भने अवश्य चोरिएको आभाष भएको थियो मलाई । परिचयको क्रम शुरु हुन्छ । रेडियोमा काम गर्ने हामीसँगै केही सिक्नेका लागि आएको पत्तो पाएसँगै तीन दिनको यात्रा त संगै हुने भो मनले अलिकति हर्ष मानिरहेको थियो ।

जमुना, जमुना रहेछन उनको नाम । तीन दिनको तालिममै हामी कसरी यति नजिक हुन सक्यौ मलाई पनि थाह छैन । गोला आँखामाथि लगाएको लाम्चो कालो गाजलले साँच्चिकै जिस्क्याउँथ्यो । कानमा सिउँरेको कपालको सिसो फुत्त फुत्त तल झर्नु र उनले फेरि त्यसलाई मिलाउँदै कानमा सिउँरिनु उनको थेगो जस्तै हो जस्तो लागेको छ मलाई । तालिमको समयमा पनि रेडियो पत्रकारिताको बारेमा धेरै जान्ने अवसर प्राप्त भयो भने मैले पनि आफ्ना अनुभवहरु खुब सुनाए उनलाई । उनी दाङ जिल्लाको प्रतिनिधित्व गर्दै नेपालगञ्ज आइपुगेकी अनि म दैलेख ।

जन्मनु पर्छ मर्नका लागि । भेटिनु पर्छ छुट्टिनका लागि । धु्रव सत्य कुरामा कसैले पनि नाइनास्ती गर्नै मिल्दैन । तीन दिनको छोटो बसाइमा लामो सम्झना बोकेर छुट्टियौ हामी पनि । पुनर्मिलनको आशा बोकेर ।

सामाजिक सञ्जाल र टेलिफोनले खुब मिलायो हामीलाई । साँझपख उनले रेडियोमा गीत बजाइरहेको अवस्थामा म यता समाचारको सम्पादन गरिरहेको हुन्थे । त्यही समयमा बज्यो फोनको घण्टी, टिङ टिङ टिङ । कसले गरेको होला हेर्नु पर्दैन्थ्यो । फोन रिसिभ गर्दै हाइ मेरी सानु भन्दा फरक पर्दैन्थ्यो । किनकी उनको फोन आउँदा बज्ने रिङटोन नै फरक थियो । निकै गफिन्थ्यौ हामी । जिस्किन्थ्यौ पनि अलि अलि । साट्ने गथ्यौ मन टेलिफोनका सिभिसरसँगै । कहिले चुम्थिन उनी र कहिले चुमिदिन्थे म पनि । उनी मलाई साने भन्थिन् म पनि उनलाई सानु भनिदिन्थे । तर उनलाई सानु भनेको त्यति राम्रो लाग्दैन रे । दुई पटक सुनाएकी थिइन मलाई । जुनु भनेको खुब मन पथ्र्यो । म पनि जुनुकै नामले सम्बोधन गर्थे । मेरो अन्तरमनले जान्दथ्यो जुनु सम्बोधनले उनलाई खुसी बनाएको । माया बस्नका लागि संघर्ष गर्नु पर्दो रहेनछ । मायामा प्राप्तिका लागि र त्यागका लागि संघर्ष गर्नु पर्दोरहेछ । हामी प्राप्ति र त्यागको संघारमा पुगेकै थिएनौ ।

समय बित्दै गयो । ऋतुहरु परिवर्तन हुँदै गए । दिनमा तीन चार पटक फोनमा गफिने म उनको साने र उनी मेरी जुनु विस्तारै व्यस्तता दर्शाउँदै फोनमा छोटा कुरा गर्न थाल्यौ । एक दिनको कुरा हो । उनको फोन नै आएन । मैले मोवाइल नम्बर पनि नथिचेको होइन । तर सम्पर्क हुन नसकेन । आत्तिए म । सञ्चारकर्मीको जागिर प्रहरीको भन्दा कडा लाग्छ मलाई । किनकी तोकिएकै समयमा सबै काम तमाम गर्नु पर्ने हुन्छ । त्यो पनि अझ रेडियोको । समाचार सुन्नका लागि आतुर स्रोताहरुलाई रेडियो आधा मिनेट पनि पर्खाउन मिल्दैन । जुनुको फोन नआएपछि म पनि त्यत्तिकै आतुर भएको थिएँ जति आतुर रेडियोमा समाचार सुन्नका लागि उनका स्रोताहरु भएका थिए ।

मानेन मेरो मनले । सकिन धैर्य गर्न । रेडियोकै फोनमा डाइल गर्न बाध्य भए मेरा औलाहरु । अफसोच ! पाउन सकिन फोनमा पनि मैले मेरी जुनुलाई । तर ज्ञात भयो उनको अवस्थाको । विशेष कामले घरमा गएको । एक पटक फोन त गर्नु नि अलिकति रिस पनि उठ्यो मलाई । जहाँ माया त्यहाँ रिस ।

त्यही दिनदेखि उनी र मेरो फोनवार्ता विस्तारै कम हुँदै गएको हो । सामाजिक सञ्जालमा त्यही दिन हो उनले उत्तर नफर्काएको । त्यसपछि उनले छोडिछन् रेडियोमा काम गर्न पनि । अर्कै कामको शुरुवात हुन थालेको कुरा जुनुले लुकाइछन् म देखि । एका विहानै फेसबुक खोल्नसाथ उनले गरेको म्यासेजमा परे मेरा आँखा । जुनुले लेखेकी थिइन्, ‘साने, हामी सञ्चारको माध्यमबाट जति नजिकै भयौ वास्तविक जीवनमा त्यसरी नजिक हुन सकेनौ । जोड्न सकेन हामीलाई भूगोलले । सरी, साने अबदेखि मलाई फोन गर्नु है । समय र परिस्थिति मिलेछ भने म नै गर्नेछु । फोन नगर्दैमा बिर्सिएको नठान्नु नि । यदि तपाई साँच्चिकै मेरो शुभचिन्तक हो भने मैले भनेको मान्नु ल । कुनै दिन समयले जुराएछ भने अवश्य भेटौला ।’

वा ! मैले कुरा बुझिहाले । अब उनको नयाँ जीवनको शुरुवाती हुँदैछ । तर मलाई छटपट भएको छ । कहिले होला, कहाँ होला अनि कोसँग होला । मेरो मनमा अनेक तरंगहरु पैदा भइरहेका छन् । मलाई लाग्छ मेरो आँखामा समुन्द्रको छाल बग्न खोजिरहेको छ । स्थिर छैन मन । तर पनि बाध्यता छ । मैले आफूलाई सम्हाल्नु नै पर्छ । जुनुले मलाई पनि बोलाए हुने नि आफ्नो बिहेमा । जुनु दुलाहासँगै यज्ञमण्डपमा बसेर विभिन्न कर्माकाडिण्य कार्यहरुमा सरिक भएको हेर्न मन छ मलाई । मेरो भाग्यमा नलेखिएको भएपनि उनको सिउँदोमा सिंन्दुर भरिएको हेर्न मन छ मलाई । कहिल्यै नओइलाउने दुबाको मालासँगै उनका ती सुन्दर गोडा धोएर उनका मातापिताले जल आच्मान गरेको देख्ने धोको छ मलाई । अग्नी देवतालाई साँछी राखेर यज्ञमण्डपको वरिपरि घुमिरहेको बेलामा नजिकै गएर नजानिदो ढंगले एक पटक छोएर त्यो बाचा बन्धनलाई कसिलो पारिदिने मन इच्छा छ मेरो । तर उनले मलाई बोलाउँलिन् त ? यो प्रश्न निकै खरो रुपमा उत्रिएको छ मेरो मनमा । निकै बलियो जरा गाडेर बसेको छ ।

विचलित मनलाई एकत्रित गर्ने प्रयास गर्दा गर्दै धेरै दिन र महिना बिते । तर पनि उनीसँग भेटघाट बोलचाल केही हुन सकेन । कुनै दिन नराम्रोसँग झस्काएको फेसबुकले आज फेरि नमेटिने गरी एउटा खबर लेखेको रहेछ । नपुग्नु थियो त्यहाँ मेरा आँखा पुगे । नपढ्नु थियो त्यो बाक्य पढ्न पुगे म । जुन शब्दहरु लेखिएका थिए त्यहाँ जसलाई मैले पनि कहिल्यै नमेटिने गरी राखे मुटुको कन्तुरा भित्र र भने ‘वा ! जमुना संसार स्वार्थी छ ।’