Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

भेरीगंगाको पाँचौ नगरसभा सुरु : नागरिकता सिफारिस निःशुल्क

असार १० सुर्खेत ।
भेरीगंगा नगरपालिकाको पाँचौ नगर सभा मंगलबार सुरुभएको छ । नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुखले नगरपालिकाको वृहत्तर विकासका लागि आगामी आ.व. २०७६।०७७ को योजना प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख चन्दले नागरिकता सिफारिसलाई निशुल्क गर्ने जानकारी दिनुभयो ।

उहाँले नगरका हरेक नागरिकलाई नागरिकता प्राप्त गर्नका लागि सहज होस भन्ने हेतुले निशुल्क गरिएको बताउनुभयो । नगरपालिकामा रहेका माध्यामिक तहमा कार्यालयमार्फत सेनेटरी प्याड निशुल्क रुपमा वितरण गर्ने बताउनुभयो । उहाँले बालिकाहरुलाई विद्यालयमा महिनावारीको समयमा समेत अध्ययन अध्यापन कार्यमा सजिलो होस भन्नाले यसो गरिएको बताउनभयो ।

यसैगरी स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अघि बढाउनका लागि माध्यमिक तहहरुमा नर्सिङ्ग स्टाफको व्यवस्था गर्ने जानकारी दिनुभयो । बालबालिकाहरुको माध्यमबाट स्वास्थ्य सेवाको सुधारका लागि यस्ता नीति लिईएको जानकारी दिनुभयो । यसैगरी छिन्चुमा प्राथमिक आँखा उपचार केन्द्र संचालनमा ल्याउने जानकारी दिनुभयो । उहाँले भेरीगंगा क्षेत्रका नागरिकको आँखा उपचार कार्यलाई सरल बनाउन यस्तो नीति लिईएको बताउनुभयो । नगरपालिकाको विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि आवश्यक कार्ययोजना सहित अघि बढ्ने बताउनुभयो ।

नगर उप प्रमुख रेणु आचार्यले समजमा रहेका महिला, बालबालिक, लक्षित समूहको लागि आयआर्जनमुलक कार्यक्रम संचालन गरिने बताउनुभयो । उहाँले छोरी लक्ष्मी बचत कार्यक्रम, सहकारीहरुको क्षमता विकास, कृषकहरुलाई अनुदानमा उत्पादनमुलक सामाग्री वितरणलगायतका कार्यक्रम अघि बढाईने बताउनुभयो ।

नगरमा रहेका हरेक बर्गको न्यायिक निरुपणका लागि नगरपालिकाले आगामी आवबाट प्रभावकारी कार्यक्रम संचालन गरिने बताउनुभयो । नगरपालिकाले आम नागरिकको सेवा प्रभावलाई प्रभावकारी रुपमा नीति प्रस्तुत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले आम मानिस, सहकारी तथा संस्थाहरुसँगको सहकार्यमा उत्पादनमुलक कार्यक्रम आगामी आ.व.मा संचालन गर्ने जानकारी दिनुभयो । पत्रकार महासंघ सँगको सहकार्यमा पत्रकार अक्षयकोषका लागि सहयोग गर्ने जानकारी दिनुभयो । नगरपालिकाले डिजिटल नागरिक बडापत्रलाई हरेक वडामा विस्तार गर्ने पनि उहाँको भनाई थियो ।

नगरपालिकाले स्वच्छ, सुन्दर र वातावरणमैत्री भेरीगंगा नगर ः कृषि, पर्यटन र पूर्वाधारयुक्त शहर हाम्रो रहर भन्ने नारालाई सार्थकता दिनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जानकारी दिनुभयो । कृषि, पशु, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारजस्ता क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाईने जानकारी दिनुभयो ।

जातिय छुवाछुत मुक्त कार्यक्रम, बालिकाहरुका लागि छोरी लक्ष्मी बचत कार्यक्रम, बसपार्क स्थापना तथा संचालन, बाटिका तथा पार्कहरु निर्माणलगायतका कुरामा जोड दिइने बताउनुभयो । नगरपालिकास्तरिय दलित संग्रहालय, दलित तथा राजी जातीको संरक्षणलगायतका कार्यक्रम पनि संचालन गरिने बताउनुभयो ।

नगरपालिकाका लेखाअधिकृत मान बहादुर ठाडाले आगामी आ.व. २०७६।७७का लागी संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आयसमेत गरी ५७ करोड, २० लाख ८५ हजार बराबरको बजेट प्रक्षेपण गरिएको जानकारी दिनुभयो । उहाँले आगामी आवको श्रावणदेखि लेखा प्रणालीलाई चुस्त दुरुस्त राख्नका लागि बजेट तर्जुमा तथा लेखांकन सफ्टवेयर स्थानीय संचीत कोष व्यवस्थापन प्रणाली (Sub national Tresury Regulatory Application SUTRA) कार्यान्वयन, नगरपालिकाका लागि बजेट खर्च र प्रतिवेदनको कम्प्युटरकृत लेखांकन सफ्टवेयर तयारी भएको समेत जानकारी दिनुभयो ।