Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

सुदुरपश्चिममै पहिलोपटक दुरबिन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार

असार ११ धनगढी |

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक दुरबिन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी (Hysteroscopy) सुरु भएको छ । निजि क्षेत्रबाट संचालित धनगढीको सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. मा यो उपचार भएको हो । बिरेन्द्रनगर नगरपालिका, सुर्खेत घर भएकी ३१ वर्षकी प्रतिभा थापा (नाम परिवर्तित) को उक्त परिक्षण एवं उपचार भएको हो ।

विगत ३ वर्ष देखी बाँझोपनको समस्याबाट आजित भएकी उनी उपचारका लागि कोहलपुर, नेपालगन्ज समेत पुगिसकेकि थिइन । त्यहाँ हरेक पटक जाँदा औषधी मात्र दिने, विभिन्न जाँचहरु गर्दा समेत समस्या के हो भनेर पत्ता नलाग्ने र समाधान नभएको बिरामीका आफन्तले बताए । वास्तविक समस्या के हो भनेर थाहा पाउन सकिने र थप उपचार गर्न सकिने यस किसिमको प्रविधि त्यहाँ नहुने भएपछि नजिकमा धनगढीको निसर्ग हस्पिटलमा हुनसक्ने आफन्तको सल्लाहबाट यहाँ पुगेकी हुन ।

दुरबिन प्रविधिबाट गरिने यस हिस्टेरोस्कोपी (Hysteroscopy) बाट उनको दायाँ डिंबबाहिनी नलि (Right Fallopian Tube) को मुख बन्द भएको देखियो । दुरबिन प्रविधिकै माध्यमबाट बिना चिरफार (घाउ नबनाई) उनको उक्त बन्द भएको नलिको मुख खोलिएको छ । अब उनको समस्या समाधान हुने सम्भावना बढेर गएको उपचारमा संलग्न चिकित्सकले बताउनुभयो । यस किसिमको परिक्षण तथा उपचार प्रविधि बाझोपनको समस्या थाहा पाउन, डिम्बबाहिनी नलिको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघर भित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरको मुख/प्वाल चिप्किएको हेर्न र खोल्न, पाठेघर सम्बन्धि समस्यामा बायोप्सी जाँचहरु गर्न र अन्य थुप्रै अवस्थामा समेत यो परिक्षण तथा उपचार पद्धति लाभदायी हुनेगर्छ ।

उनको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा. डा. नजमुस्सबा अन्सारी र वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कृटिकल केयर विशेषज्ञ डा. हेमन्त ओझा लगायतको टिम खटिएको थियो । अस्पतालको स्थापना संगै यस्ता थुप्रै रोग तथा समस्या भएका बिरामीहरुले उपचार तथा अप्रेसनका लागि भारतका विभिन्न शहर अनि कोहलपुर, नेपालगन्ज, काठमाडौ जानुपर्ने बाध्यताको कमि भैरहेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताउनुभयो । अझै पनि कतिपय अवस्थामा बिरामी तथा आफन्तहरुले यहाँ उपचार हुन्छ भन्ने थाहा नपाएकै कारणले पनि बाहिर जान बाध्य छन् ।