Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

 असार ११ सुर्खेत ।

गुर्भाकोट नगरपालिकामा युवाहरुका लागि तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । नगरभित्रका १४ वटै वडाबाट सहभागी प्रशिक्षार्थीहरुलाई उद्घोषण कला, नेतृत्व विकास, पत्रकारिता लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

नगरपालिकाका प्रमुख हस्त पुनले तीन दिने तालिमले नगरभित्रका युवाहरुमा सकारात्मक सोचको विकास हुनुका साथै यसले नगरको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले युवाहरुलाई सही मार्गमा डो¥याउनका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए । ‘युवाहरु समाज परिवर्तनका संवाहक हुन्’ मेयर पुनले भने, ‘नगरपालिकाले यसलाई प्राथमिकतामा राखेर कामहरु गर्दै आएको छ ।’

उनले पछाडी परेको क्षेत्र र वर्गलाई प्राथमिकतामा राखेर नेतृत्व, व्यक्तित्व र व्यवसायिक सोचलाई टोलटोलमा पु¥याइने बताए । उनले समृद्ध नगरपालिका निर्माणका लागि युवाहरुमा सकारात्मक सोच विकास हुन जरुरी रहेको बताए । उनले युवाहरुलाई दक्ष र सक्षम बनाउँदै स्वरोजगार बनाउने कार्यक्रमहरु नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा ल्याइने बताए । नगरपालिकाका उपप्रमुख मैना विकले नगरपालिकाका सबै वडाका युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकासमा अग्रसर गराइने बताइन् । उनले भौतिक विकासका साथै युवाहरुको क्षमता बृद्धि र विकासका लागि नगरपालिकाले आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताइन् ।

उपप्रमुख विकले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गरिन् । तालिमका सहभागी भावना पुन र कुलबहादुर घर्तीले युवाहरुको नेतृत्व तथा व्यक्तित्वको विकासका लागि तालिम महत्वपूर्ण रहेको बताए । उनीहरुले सबै वडाहरुमा यस्ता तालिमलाई पु¥याउनुपर्ने आवश्यकता औल्याए । उनीहरुले सबै युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास सम्वन्धी तालिम दिनु आवश्यक रहेको बताए । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्मा, शिद्धपाइला क्याम्पसका प्रमुख उपेन्द्र सुवेदी, युवा अभियन्ता दिनेश खत्री, पत्रकार नगेन्द्र उपाध्याय, तिलक पौडेल लगायतले प्रशिक्षण दिएका थिए ।

गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोगमा कर्णाली मिडिया सेन्टरले तालिमको आयोजना गरेको हो । तालिममा ४६ जना युवाहरुको सहभागीता रहेको थियो ।