ड्युटीमै रक्सी पिउने एसपीलाई सुर्खेत सरुवा
काठमाडौं ।
ड्यूटीको समयमा रक्सी पिएर गैरजिम्मेवार भएको भन्दै एक जना एसपीलाई सुर्खेत काज सरवा गरिएको छ । गण्डकी प्रदेश प्रहरीको कारवाहीमा परेका गोरखाका प्रहरी प्रमुख भोला रावलको सुर्खेत काज सरुवा गरिएको हो । रावलको कर्णाली नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत सरुवा गरिएको छ भने अपराध महाशाखामा कार्यरत एसपी ओम अधिकारीको गोरखा काज सरुवा भएको छ ।
प्रदेश प्रहरी प्रमुख बिनोद शर्मा घिमिरेले फोन गर्दा बेवास्था गरेको, फोन सम्पर्कमा आएपछि पनि तथानाम बोलेको, बुधवार दिउँसो गोरखा आउँदा मदिराले मातेको अवस्थामा भेटिएपछि सरुवा भएको हो । प्रदेशबाट एसएसपी हरिराज वाग्ले नेतृत्वको टोलीले गोरखा आएर चिकित्सक सहितको टोली लिएर एसपी रावलको परीक्षण गरेको थियो। उक्त अवस्थामा मादक पदार्थले मातेको भेटिएपछि प्रहरी प्रधान कार्यालयले शुक्रवार रावलको सरुवा गरेको हो । मादक पदार्थ खाएर प्रहरी प्रदेश प्रमुखलाई नै तथानाम भनेको घटनाले गोरखा र प्रदेशमा चर्चा छ भने यता सुर्खेतमा कर्णालीमा सरुवा गर्नु भनेको सजाय दिनु हो र भन्दै कर्णालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्ने आवाजहरु उठिरहेका छन् ।






