दलित महिला सदस्यहरुका लागि क्षमता अभिवृद्धि तालिम
सुर्खेत
स्थानीय तहमा निर्वाचित दलित महिला सदस्यहरुका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधवारदेखि तालिमको सुरुवात गरिएको हो । सुर्खेत जिल्लाका ९ वटा स्थानीय तहका दलित महिला सदस्यहरुको नेतृत्व सिप विकासका गर्ने उदेश्यले तालिम सञ्चान गरिएको सामाजिक मन्त्रालयले जनाएको छ । बुधवार तालिमको उद्दघाट्न गर्दै दैलेखबाट निर्वाचित प्रतिनिधि सभाका सांसद पार्वती बिसुन्केले स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरुलाई तालिम मार्फत अभिवृद्धि क्षमताको विकास गराउनु आवश्यक रहेको उल्लेख गरिन ।

स्थानीय तहमा निर्वाचित भैसकेपछि पनि दलित महिला जनप्रतिनिधिहरुको भुमिका प्रभावकारी नभएकोले तालिम पश्चात उनीहरुलाई आफ्नो जिम्मेवारीको बोध हुने र नेतृत्व सिपकोपनि विकास हुने बताईन । सांसद विसुन्केले कसैले दया मायाले दलित महिलाहरुलाई स्थानीय तहमा नेतृत्व नदिएको भन्दै लडाई लडेर पाएको उपलब्धी भएको बताईन । स्थानीय स्तरमा आफ्ना माग र समुदायका एजेण्डा खुलेर नगर तथा गाउँसभा समक्ष राख्न दलित महिला सदस्यहरुलाई आग्रह गरिन । महिलाहरुलाई विकासको मुल धारमा नल्याएसम्म विकास सम्भव नभएको भन्दै उहाँले हिजो शोषण र उत्पिडनमा परेका दलित महिलाहरुलाई अहिले संविधानले अनिर्वाय व्यवस्था गरेपनि उनीहरुको स्थानीय सरकारमा भुमिका कमजोर भएको बताईन । तलिमको उद्धघाट्न गर्दै कर्णाली प्रदेशको सामाजिक विकास समिति अध्यक्ष तथा सांसद राजु नेपालीले स्थानीय तहमा आफ्ना समस्या, जनताका मागहरु ढुक्क भएर नेतृत्व समक्ष राख्न दलित महिला जनप्रतिनिधिहरुलाई सुझाव दिईन । हिजो आफुलेपनि विभन्न विभेदहरुसंग जुधेर यहाँ सम्म आएको भन्दै नेपालीले प्रदेशका १० वटै जिल्लाका दलित महिलाहरुकालागि क्षमता अभिवृद्धि तालिमको खाँचो रहेको औल्याईन ।
यस्तै प्रदेश सांसद रातो कामीले यो तालिम पश्चात दलित महिला सदस्यहरुमा धेरै कुराको परिवर्तन आउनेमा ढुक्क रहेको बताए । कालिकोटको तिलागुफा नगरपालिकाका उपमेयर दर्शना नेपालीले स्थानीय तहमा दलित महिलाहरुको भुमिका कानुनी प्रक्रियाका बारेमा जानकारी दिईन । साथै नेपालीले स्थानीय तहको कानुन निर्माणमा दलित महिला सदस्यहरुको भुमिकाको बारेमा पनि सहभागिलाई जानकारी दिईन । सामाजिक विकास मन्त्रालयका सचिव डा मानवहादुर विकेले स्थानीय तहमा रहेका निर्वाचित दलित महिला सदस्यहरुको क्षमता वृद्धि गर्ने उदेश्यले मन्त्रालयले सुर्खेत सहित ४ जिल्लामा यस्तो तालिमको आयोजना गरिसकेको जानकारी दिए । कर्णालीका अन्य ६ जिल्लामा आगामी आर्थिक बर्षमा कार्यक्रम गर्ने उनले बताए । सचिव विकेका अनुसार तालिम भोली २६ गतेसम्म चल्नेछ । तालिममा स्थानीय तहमा बजेट तयारी कार्यक्रम अनुगमण कार्यान्वयन तथा अनुगमन मुल्यांकन, स्थानीय तहका सवाल चुनौति र समाधानका उपायहरु, स्थानीय तह संञ्चालन सम्बन्धि कानुनी व्यवस्था, वालविवाह छाउपडी र छुवाछुत विरुद्धमा भएका कानुनी व्यवस्थाबारे विज्ञहरुले सहजकिरण गर्नेछन ।






