ट्राफिकलाई तिर्नु पर्ने जरिवाना अब बैंक मार्फत
असार ३१ सुर्खेत ।
कुनै पनि सवारी चालकले ट्राफिक नियमको उलङ्घन गरेमा त्यस बमोजिमको कारवाही स्वरुप तिर्नु पर्ने राजश्व (जरिवाना) अब बैंक मार्फत तिर्नु पर्ने भएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बि.सी.ले यस्तो बताउनु भएको हो । यो नियम लागु भएसँगै विगतका दिनहरु जस्तै ट्राफिकले रसिद काटेर नगद पैसा बुझ्न नपाउने व्यवस्था भएको प्रहरी निरीक्षक बि.सी.को भनाई थियो ।
आ.व. २०७६/०७७ को सुरुवातीसँगै यो नियमको लागु हुनेछ । सुरुका दिनहरुमा केही असजिलो देखिएपनि यसले ट्राफिक प्रहरीको पारदर्शीतामा सहयोग पुग्ने विश्वास लिइएको प्रहरी निरीक्षक बि.सी.ले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय बाणिज्य बैंकका कुनै पनि शाखा कार्यालयहरुबाट जरिवाना स्वरुपको राजश्व जम्मा गर्न सकिनेछ । ट्राफिक नियमको उलङ्घन गरेको पाइएमा ट्राफिक प्रहरीले सवारी चालकलाई एउटा रसिद दिनेछ त्यो रसिदका आधारमा राष्ट्रिय वाणिज्य बैंक जरिवाना स्वरुपको राजश्व जम्मा गर्ने व्यवस्था मिलाइएको छ । उक्त रसिद देखाएपछि ट्राफिकले सवारी सम्बन्धि कागजात सम्बन्धित व्यक्तिलाई फिर्ता गरिनेछ ।’
कति समय भित्र उक्त राजश्व बैंकमा दाखिला गरिसक्नु पर्ने हो भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा ट्राफिक प्रहरी हरि लामीछानेले भन्नुभयो, ‘यो २४ घण्टे पूर्जि हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० अनुसारको २४ घण्टे पूर्जि गल्ती गर्ने सवारी चालकलाई प्रदान गरिनेछ ।’
ट्राफिक प्रहरीको राजश्व संकलनमा बृद्धि
आ.व. ०७५/०७६ मा १ करोड ६४ लाख बढि राजश्व संकलन
सवारी साधनले ट्राफिक नियमको उलङ्घन गरे वापत गरिने जरिवानाबाट आ.व. ०७५/०७६ मा जिल्ला ट्राफिक कार्यालय सुर्खेतले १ करोड ६४ लाख ५८ हजार ५ सय राजश्व संकलन गरेको छ । आ.व. २०७४/०७५ को दाँजोमा यो रकम झण्डै दोब्बर जस्तै हो ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बि.सी.ले बताए अनुसार आ.व. २०७५/०७६ मा सबै भन्दा बढि राजश्व संकलन भएको छ । आ.व. २०७२/०७३ मा ४२ लाख ३७ हजार ५ सय राजश्व संकलन भएको थियो भने आ.व. २०७३/०७४ मा ५० लाख ९५ हजार ५ सय राजश्व संकलन भएको थियो । यसैगरि आ.व. २०७४/०७५ मा ८७ लाख ८९ हजार राजश्व संकलन भएको थियो । यो आंकडाले एकातिर राजश्व संकलन बढिरहेको देखिन्छ भने अर्कोतिर सवारी साधनको कारवाही संख्यामा समेत बृद्धि हुँदै गइरहेको छ । आ.व. २०७२/०७३ मा १५ हजार ९ सय ८५ सवारी साधन कारवाहीमा परेका थिए भने आ.व. २०७३/०७४ मा पनि १५ हजार ९ सय ८५ सवारी साधन नै कारवाहीमा परेका थिए । यसैगरि आ.व. २०७४/०७५ मा १४ हजार ९ सय ९४ सवारी साधन कारवाहीमा परेका थिए । तर आ.व. २०७५/०७६ मा सवारी साधन कारवाहीको संख्या बढेर २७ हजार ९३ पुगेको प्रहरी निरीक्षक बि.सी. ले बताउनु भयो ।
आ.व. आ.व. ०७५/०७६ मा सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या भने घटेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले प्रस्तुत गरेको तथ्याँङ्क अनुसार आ.व. २०७२/०७३ मा सवारी दुर्घटनामा १६ जनाको ज्यान गएको थियो भने १ सय २४ जना घाइते भएका थिए । आ.व. २०७३/०७४ मा ३३ जनाको ज्यान गएको थियो भने २ सय ७९ जना घाइते भएका थिए । यसैगरि आ.व. २०७४/०७५ मा ३५ जनाको ज्यान गएको थियो भने १ सय ७ जना घाइते भएका थिए । तर आ.व. ०७५/०७६ मा २९ जनाको ज्यान गएको छ भने घाइते हुनेहरुको संख्या १ सय ८१ पुगेको छ ।
प्रहरी निरीक्षक बि.सी.का अनुसार जिल्लामा आ.व. ०७५/०७६ मा ६ सय १३ वटा विभिन्न जनचेतना मूलक कार्यक्रमहरु समेत संचालन भएका छन् । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले मापसे गरि सवारी साधन चलाउने ६ सय ९८ जनालाई आ.व. ०७५/०७६ मा कारवाही गरेको जनाएको छ ।






