वातावरणमैत्री शहरका लागि कर्मचारीलाई साइकल
सुर्खेत ।
प्रदेश राजधानी वीरेन्द्रनगरलाई धुवाँँधुलोमुक्त र वातावरणमैत्री सहर बनाउने प्रदेश सरकारको नीति कार्यान्वयन गर्न कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारी साइकल चढ्न थालेका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममै समेटिएकोले यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको बताउनु हुन्छ मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका मानबहादुर सुनार ।
खर्च कटौती र वातावरणमैत्री सहरको पहिचान दिने प्रदेश सरकारको नीतिअनुसार नै साइकल चढ्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव केवल भण्डारीले बताउनु भयो ।
यसअघि नै यस्तो अभ्यास भइरहेकोले यस पटक साइकल थपेर साइकल प्रयोगलाई बढवा दिइएको उनको भनाइ छ ।
‘कार्यालयमा पहिलो पनि अभ्यास भइरहेको थियो,’ प्रमुख सचिव भण्डारीले भने, ‘लण्डनका मेयरले साइकल चढ्थे । उनी अहिले प्रधानमन्त्री भए, हामीले किन नचढ्ने ?’
कार्यालयमा पहिले ५ वटा साइकल थिए । माथिल्लो तहका कर्मचारीले भने चढ्दैन्थे । अहिले मोटरसाइकल किन्न विनियोजन गरिएको बजेटबाट थप १० वटा साइकल खरिद गरिएको छ । प्रति साइकल ४० हजारका दरले खरिद गरिएको जनाइएको छ ।
कार्यालयमा कर्मचारीहरु धेरै भएकोले अहिले कार्यालय नजिक बस्ने कर्मचारीले साइकल चढ्न सुरु गरेका छन् । यसले कर्मचारीको स्वास्थ्यका लागिसमेत उपयुक्त हुने प्रमुख सचिव भण्डारीले बताए ।
कार्यविधि बनाएपछि कसले, कहाँ–कहाँ साइकल चढ्ने प्रष्ट हुने बताइएको छ । मुख्यमन्त्री कार्यालयपछि अन्य मन्त्रालयले पनि साइकल चढ्ने तयारी गरेको छ । शुक्रबार कर्मचारीहरुले अनिवार्य साइकल चढ्नु पर्नेछ ।






