Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

थापाडेरा र डोप्कामा खानेपानीको अभाव

सुर्खेत ।
बराहताल गाउँपालिका वडा नं. २ थापाडेरा र डोप्काका बासिन्दा खानेपानीको अभावमा भेरीको दुषित पानी पिउन बाध्य छन् । साविकको हरिहरपुर गाविस भित्र पर्ने थापाडेरा र डोप्कामा अहिलेसम्म खानेपानीको व्यवस्था हुन नसकेका कारण उनीहरु भेरीको दुषित पानी पिउन बाध्य भएका हुन् । वर्षौदेखि भेरीको पानी पिएका छौ कसैले पिउने पानीको व्यवस्था गरिदिएको भए त्यो त हाम्रो भगवानै हुने थियो थापाडेरा निवासी पदमा भण्डारीले क्वीकखबरसँग भनिन् ।

Related image
त्यहाँ कहिलेदेखि बस्ती बसेको हो त्यो त पदमालाई पनि थाह छैन । तर उनी त्यहाँ बस्न थालेको २७ वर्ष भयो । उनी त्यहाँ आउनु भन्दा पहिले पनि खानेपानीको व्यवस्था नभएको र अहिलेसम्म पनि कसैले आफ्नो माग नसुनेको उनको गुनासो छ । ‘दुषित पानी पिउँदा स्वास्थ्यमा पर्ने असरका बारेमा धेरै संघसंस्थाहरु चेतनामूलक कार्यक्रम ल्याएर आउँछन् । कोही हात धुने सीप सिकाउँछन् कोही पानी फिल्टर गर्ने तरिका, तर पानीको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्ने योजनाका साथ कोही आउँदैनन्’ ५७ वर्षीया पदमा भण्डारीले दुखेसो पोखिन् ।

थापाडेरा निवासी लिला थापाको भनाई पनि उनको जस्तै छ । हिउँदको समयमा देख्दा सङ्लो देखिएपनि भेरीको पानी अशुद्ध नै हुन्छ । अझ असार साउनको महिनामा हिलो र बालुवा बगिरहेको हुन्छ तर पनि के गर्नु ज्यान जोगाउनका लागि त्यही पानीलाई फिल्टर गरेर पिउनुको विकल्प छैन । वर्षातको समयमा भेरी नदी उर्लेर आउने भएकोले उसले आफूसँग बगाएर ल्याएको फोहोर देख्यो भने त पानी पिउनै मन लाग्दैछ तर मर्नु भन्दा बहुलाउनु निको भन्छन् नपिएर के गर्नु बाध्य छौ लिलाको भनाई छ ।

उता सोही वडाको डोप्का गाउँमा बस्नेहरुको हालत पनि उस्तै छ । उनीहरु पनि शुद्ध पानी पिउनबाट बञ्चित छन् र भेरीको पानी पिउन बाध्य छन् । डोप्काकी पूजा खत्री भन्छिन्, ‘सफा पानी पिउन पाउने भएको भए गाग्रीको सहायतामा पिठ्यूमै बोक्न समेत तयार थियौं तर के गर्नु नजिकमा मूल छैन ।’

शुद्ध खानेपानीको अभावका कारण कहिले आउँ त कहिले पखाला जस्ता समस्याहरुले सताउने गरेको समेत स्थानीयहरुको भनाई छ । आफ्नै आँखा अगाडि मरेका वस्तुभाउ भेरीमा बग्दै आउँछन् । सिनो पन्छाएर पानी भर्नुको पीडा खुकुरीको चोट अचानोले सहनु जस्तै हो भन्छिन् सृजना नेपाली । निर्वाचनको समयमा खानेपानी ल्याइदिने बाचा गरेका नेताहरु पानी खोज्दैछन् कि पाइप भेट्टाएनन् कुन्नी व्यङ्ग्यात्मक पाराले नेपालीले भनिन् अहिलेसम्म उनीहरु फर्केर गाउँ आएको आफूलाई थाह छैन ।

डोल्काकै रणबहादुर थापा भन्छन् ‘सिंहदरबार घर घरमा आएको भन्दैछन् । त्यो सिंहदरबार नेताका घरमा मात्र आएको होला गाउँका सर्वसाधारणहरुको घरमा आउन सकेको छैन ।’ सर्वसाधारणको घरमा सिंहदरबार आएको भए त हामी पिउने पानीबाटै बञ्चित हुनु पर्दैनथ्यो होला ।

नजिकै पानीको स्रोत समेत नभएको कारण त्यहाँ पिउने पानीको व्यवस्थापन गर्न नसकिएको स्वीकार गर्छन् बराहताल गाउँपालिका वडा नं. २ का वडासदस्य कर्णबहादुर कार्की । वडासदस्य कार्कीले भने, ‘बाँसपानीको पानी ल्याउने ठूलै योजना बनाइयो तर सफल हुन सकिएन ।’ भेरीको पानीलाई नै लिफ्ट गरेर त्यसलाई प्रशोधन गरि पिउन योग्य बनाउने योजना भएपनि त्यसका लागि ठूलै बजेटको आवश्यक पर्ने उनको भनाई छ । वडासदस्य कार्कीले भने, ‘भेरी नजिकमा बोरिङ्ग हानेर भएपनि पानी निकाल्ने र त्यसलाई गाउँमा वितरण गर्ने योजना रहेको छ ।’

संघीय र प्रदेशका संसदहरुसँग पनि खानेपानीको माग उनीहरुले नराखेका होइनन् । सांसदहरुले पनि आश्वासन नदिएका होइनन् तर अहिलेसम्म पानीको व्यवस्था हुन सकेन भन्छिन् सोही वडाकी वडासदस्य बुद्धिसरा बि.क. । खानेपानीको विषयमा कुरा उठ्न साथ जनप्रतिनिधिको हैसियतले जनताले हामीलाई नै घच्घच्याउँछन् तर नजिकमा पानीको स्रोत नभएको र टाढाको पानी ल्याउनका लागि पर्याप्त बजेट नभएका कारण जनताका अगाडि कोही बोल्न सक्ने अवस्था नरहेको वडासदस्य बि.क.को भनाई छ ।

थापाडेरा र डोप्कामा करिब १ सय घरधुरी बसोबास गर्छन । यो बस्तीलाई आँकलन गरेर रानीघाट – बाँसपानी खानेपानी योजनाको शुरुवात भएको पनि धेरै वर्षहरु बितिसके । उक्त खानेपानी योजनाका ठेकेदार कहाँ छन् अत्तोपत्तो छैन भने योजना अलपत्र अवस्थामा छ । यता सर्वसाधारणले पानी पिउन पाएका छैनन् ।

सबै नेपालीहरुका आधारभूत आवश्यकताहरु पूरा गर्नु सरकारको दायित्व भएपनि थापाडेरा र डोप्कामा खानेपानी जस्तो जनताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने विषय समेत अन्यौलमा छ । थापाडेरा र डोप्कावासीले शुद्ध पानी पिउन पाउने दिन कहिले आउँछ खै ।