Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

रारा राष्ट्रिय नाटक महोत्सवको आम्दानी–खर्च सार्वजनिक

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा २०७५ फागुन २३ गतेदेखि २९ गतेसम्म संचालन भएको रारा राष्ट्रिय नाटक महोत्सवको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरिएको छ ।


आरंग नेपाल सुर्खेतका अध्यक्ष गणेशभक्त गौतमले १५ लाख ९१ हजार ५ सय २२ रुपैयाँको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेका हुन् । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) काठमाडौैं मूल आयोजक रहेको उक्त नाटक महोत्सवको स्थानीय संयोजनको रुपमा आरंग नेपाल सुर्खेत रहेको थियो ।

महोत्सव संचालनका लागि कर्णाली प्रदेश सरकारले ९ लाख ५५ हजार ६ सय ६०, वीरेन्द्रनगर नगरपालिकाले २ लाख ८७ हजार ६ सय २६, गुर्भाकोट नगरपालिकाले ५० हजार, लेकबेसी नगरपालिकाले ४७ हजार ३ सय ३६, भेरीगंगा नगरपालिकाले २९ हजार २ सय ५० सिम्ता गाउँपालिकाले ३० हजार, गराँस गाउँपालिका दैलेखले १० हजार, वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १ ले ९ हजार ८ सय ५०, वडा नं. ३ ले २५ हजार, वडा नं. ४ ले १० हजार, वडा नं. ७ ले ३७ हजार ४ सय, वडा नं. ९ ले १५ हजार सहयोग गरेको बताइएको छ । साथै टिकट विक्रीबाट ७० हजार २ सय र टिसर्ट विक्रीबाट १४ हजार २ सय गरी े १५ लाख ९१ हजार ५ सय २२ रुपैयाँको आम्दानी भएको संस्थाका अध्यक्ष गौतमले जानकारी दिए । यसैगरि खर्च तर्फ खाना होटलबासमा ५ लाख ४४ हजार ६ सय ७१, इन्धनमा ३५ हजार ९ सय, छपाईमा ९८ हजार ६ सय ८२, नाट्य सामग्रीमा २५ हजार ५ सय, गाडि भाडामा १ लाख ७७ हजार ६ सय, टेन्ट कुर्सीमा ७५ हजार, जेनेटरमा ११ हजार ६ सय ४५, साउण्ड सिष्टममा ५६ हजार, सम्मान कदर पत्रमा ३५ हजार ३ सय, टिसर्ट छपार्ईमा ६८ हजार, रंगमञ्च तयारीमा ६३ हजार, स्वयम्सेवक तथा कर्मचारी परिचालनमा ५३ हजार २ सय २२, खाजा नास्तामा ४९ हजार, प्रचार प्रचार मिडियामा २८ हजार गरि १३ लाख २१ हजार ५ सय २२ रुपैयाँ खर्च भएको र २ लाख ७० हजार बचत रहेको अध्यक्ष गौतमले बताए । उनले भने, ‘बचत रकम नाटकघर निर्माणका लागि खर्च गर्छौ ।’

कर्णाली प्रदेश सरकार महोत्सवको संरक्षकको रुपमा रहेको थियो । मूल आयोजकको रुपमा रहेको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) काठमाडौैंले उक्त महोत्सवका लागि १५ लाख ५० हजार १ सय ५३ रुपैया खर्च भएको जनाएको महोत्सवका संयोजक समेत रहेका आरंग नेपालका अध्यक्ष गौतमले क्वीकखबरलाई बताए । यो खर्च स्थानीय स्तरको खर्चको खर्चसँग जोडिएको छैन ।

महोत्सवमा सातै प्रदेशबाट १४ वटा नाटक प्रस्तुत भएको थिए भने विभिन्न व्यक्तिहरुले १० वटा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । महोत्सव अवधिभर करिब ६ हजार जनाले नाटकको अवलोन गरेका थिए भने ५ सय कलाकार, साहित्यकार तथा विद्यार्थीहरु सहभागी भएका थिए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नाटक घर निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्नु, कर्णालीको पर्यटकीय क्षेत्रमा महोत्सवले प्रभाव पार्नु, मोफसलका रंगकर्मीहरुलाई रंगमञ्चको प्रवद्र्धनमा सघाउ पुग्नु, नाटक प्रति कर्णालीका जनताको मोह बढ्नु, अन्तर प्रादेशिक रुपमा साहित्यकार तथा कलाकारहरुलाई एक आपसमा चिनजान गराउनु, विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुलाई रंगमञ्चका विभिन्न आयाम बारे बुझ्ने अवसर प्राप्त हुनुलाई महोत्सवका उपलब्धीहरु भएको आम्दानी खर्च प्रस्तुत कार्यक्रममा बताइएको छ ।

आम्दानी खर्च प्रस्तुत कार्यक्रममा आरंग नेपालको तर्फबाट सुर्खेतका पत्रकार डिलप्रसाद शर्मालाई रु ५ हजार सहयोग समेत गरिएको थियो । पत्रकार शर्मा बोनम्यारो रोगबाट पीडित छन् भने उनको अहिले काठमाडौंको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।