गाईजात्रा विशेष काव्य गोष्ठी
सुर्खेत ।
वाङ्मय चौतारी नेपाल सुर्खेतले गाईजात्रा विशेष काव्य गोष्ठी सम्पन्न गरेको छ । गाईजात्राको सन्दर्भ पारेर आयोजना गरिएको काव्य गोष्ठीमा २ दर्जन बढी साहित्यकारहरुले आ–आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. दीपक गौतमले नेपाली समाजमा राजनीतिक कारणले वर्ष भरी गाईजात्रा हुने गरेको बताउँदै साहित्यकार तथा कलाकारहरुले रचना मार्फत सरकारले गरेका नराम्रा कार्यहरुलाई खबरदारी गर्नुपर्ने बताए । उनले भने, ‘समाज रुपान्तरणका अभियान्ताहरुले समाजमा भएका नराम्रा गतिविधिसहित देशका शासकहरुले गरेका कमीकमजोरीहरुलाई समेत औल्याउनु पर्छ ।’
कार्यक्रममा संगीतकार गंगा केसीले साहित्य र संगीतले समाजलाई दिने सन्देश व्यङ्ग्यात्मक भएपनि सकारात्मक हुनुपर्ने बताए ।

गोष्ठीमा कविता, गजल, मुक्तक, हाइकु, गेडी, नाटकअंशलगायतका रचनाहरु प्रस्तुत भएका थिए । संस्थाका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षतामा भएको गोष्ठीमा प्रकाश पौडेल, देवकी तिमिल्सेना ‘समीक्षा’, ऋषिप्रसाद थानी, खगेन्द्र अधिकारी ‘अमृत’, सरस्वती पन्त, कर्णबहादुर बोहोरा, केशव ढकाल, हरिलाल महतारा, महेन्द्र चन्द महासागर, सीता ऐरी, पहल असिम थापालगायतको उपस्थिति रहेको थियो भने गोष्ठीको सहजीकरण संस्थाका सचिव ऋषि शर्मा ‘सुदामा’ले गरेका थिए ।







