मदनपुरस्कार योगेश राज र जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई
काठमााडौं : मदन पुरस्कार गुठीले यस वर्षको मदनपुरस्कार योगेश राज र जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई दिने निर्णय गरेको छ ।
आइतबार बसेको गुठीको साधारसभाले योगेश राजलाई ‘रणहार’ पुस्तकका लागि मदन पुरस्कार दिने निर्णय गरेको हो । जगदम्बाश्री भने साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिन्छ ।

गुठीले मदन पुरस्कार–२०७५ का लागि सात कृति छनोट गरेको थियो । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ समावेश थिए ।
जगदम्बाश्री र मदन पुरस्कारको राशी चार लाख
गुठीले यस वर्षदेखि जगदम्बाश्री र मदन पुरस्कारको राशी चार लाख रुपैयाँ बनाएको छ । २०१२ सालमा स्थापना भएको मदन पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधाका लागि सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुरस्कार अर्पण गरिएको थियो ।
२०४५ सालमा जगदम्बाको निधन भएपछि उनको सम्झना स्वरुप जगदम्बाश्री पुरस्कारको स्थापना भएको हो ।
मदन पुरसकार नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त पुस्तकलाई प्रदान गरिन्छ भने जगदम्बाश्री विभिन्न माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति र संस्थालाई प्रदान गरिन्छ ।
यसअघि दुवै पुरस्कारको राशी दुई लाख रुपैयाँ थियो ।






