पानीको बन्द बोटलभित्र फट्याङ्ग्रा
सुर्खेत ।
पिउन भनेर शुद्ध बनाई बजारमा पठाएको पानीको बोटलमा फट्याङ्ग्रा भेटिएको छ । यो सरासर उपभोक्ताको स्वास्थ्य माथिको खेलवाड हो । मध्यपश्चिम वाटर एन्ड बेभरेज इन्डस्ट्रिज प्रालिद्वारा उत्पादित ‘एक्वास’ नामक पानीको बोतलमा फट्याङ्ग्रा भेटिएको हो ।

वीरेन्द्रनगरस्थित एक पसलमा धनबहादुर खड्काले पानी किन्दा बोटलमा फट्याङ्ग्रा भेटेका थिए । पानीको बोतलभित्र फट्याङग्रा मरेको देखेपछि वीरेन्द्रगर ३ निवासी खड्काले सिल नतोडिएको बोतललाई सुरक्षित राखेका छन् ।
‘एक्वास’को उत्पादक मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिलगायत सुर्खेतमा सञ्चालित चार वटा पानी कम्पनीमा गत वैशाखमा जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण इकाई कार्यालय सुर्खेतले संयुक्त रुपमा सिलबन्दी गरेका थिए ।
नागरिकको स्वास्थ्यसँग सिधा सम्वन्ध राख्ने पानी बिक्री वितरणका लागि वीरेन्द्रनगरमा सञ्चालनमा रहेका उद्योग मापदण्डबमोजिम सञ्चालन नभएको पाइएपछि खाद्य निरीक्षक भेषबहादुर थापा सहितको समूहले सिल गरेको हो
पानी उद्योगमा पाँच फिटसम्म मार्बल लगाइएको हुनुपर्ने, पानी भर्ने प्लान्ट र गोदाम घरको फरक–फरक व्यवस्था, फुड ग्रेड गुणस्तरको स्टील पाइपको जडान, युभि स्टेपलाइजर र ओजोन ओस्मोसिस् उपकरणको जडान लगायतका मापदण्ड निर्दे्शिकामा उल्लेख भए पनि वीरेन्द्रनगरमा सञ्चालनमा रहेका पानी कम्पनीले मापदण्ड पूरा नगरेकाले सिल गरिएको थियो । तर त्यसको केही समयपछि पानी कम्पनी पुनः सञ्चालनमा आए । उनीहरूलाई ‘तत्काल’ र ‘निश्चित समयमा’ यी मापदण्ड पुरा गर्नु भनी सम्झौताबमोजिम सिल खोलिएको थियो । उद्योगलाई मापदण्डबमोजिम सञ्चालन गर्ने सम्झौतामा पानी उद्योगका सिल खोलिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण इकाई कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले का अनुसार उक्त बोटल ल्याव परिक्षणका लागि नेपालगञ्ज पठाइएको छ । पानी दषित देखिएमा पानी कम्पनीका संचालकलाई ५० हजार जरिवाना र ५–१० वर्ष कैद हुने कानूनी व्यवस्था छ । भाषाले भने, ‘फट्यांग्रासहित भएको पानीको बोतलाई हामी ल्यावमा पठाउँछौ । साथै उक्त बोतलसँगै उत्पादन भएका अन्य बोतलको पनि परीक्षण गर्छौ । नागरिक स्वास्थ्यसँग खेलवाड गर्न पाइदैन ।’
नेपालगञ्जबाट ल्याब रिपोर्ट आएपछि प्रशोधित पानीको गुणस्तर न्युन भएको पाइएमा कानुनी प्रक्रिया अगाडि बढाउने उनले बताए ।
धाराबाट पानी भरेजस्तो गरेमात्र बोतलमा फट्याङग्रा भेटिने राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाश तारा वयकको धारणा छ । उनले भने, ‘पानीजस्तो अमृत चिजमा हेलचेक्र्याईं गर्दै वितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर र्पुयाउँछ ।’ सुर्खेतमा पानीको गुणस्तर कायम गर्नका लागि उद्योग आफैँले स्थापना गर्नुपर्ने ल्याबको व्यवस्था पनि उद्योगहरूले नगरेको उनको भनाइ छ ।
मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिका सञ्चालक कृष्ण आचार्यले मेसिनबाट प्रशोधन गरिएको पानी तथा सिल गरिएको बोतलमा फट्याङग्रा हुनु गलत भएको बताउँछन् । उनले भने, ‘मेसिनबाट प्रशोधित पानीमा फट्याङग्रा भेटिएको भन्नु गलत हो । र, बोतलमा फट्याङग्रा भएको हामीले पनि जानकारी पाएका थियौँ । तर हामीसँग नै आर्थिक बार्गे्निङ्ग गरियो ।’ आफ्नो कम्पनीद्वारा उत्पादित एक्वास पानीको शुद्धतामा आफू विश्वस्त रहेको उनी बताउँछन् ।






