मुलुकमा कम्युनिष्ट शासन लाद्न खोजिदैछ : देउवा
सुर्खेत ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएर मुलुकमा कम्युनिष्ट शासन लाद्न खोजेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको महाधिवेशन प्रतिनिधिहरुको दुई दिने प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । कम्युनिष्ट शासनमा जनतालाई कुनै किसिमको स्वतन्त्रता नहुने बताउँदै उनले भने ‘कम्युनिष्ट सरकार बन्नु ठुलो कुरा होइन, यहाँ कम्युनिष्ट शासन स्थापित गर्ने प्रयास भई रहेको छ ।’ लोकतन्त्रमा झै कम्युनिष्ट शासनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र न्यायलय हुँदैन ।’

मानव अधिकार आयोगमा हस्तक्षेप गर्ने प्रयास, मिडिया काउन्सिल विधेयक, लगायत सरकारका क्रियाकलापले अधिनायकबादतर्फ सरकार अग्रसर भएको देखाएको उनले बताए । कम्युनिष्टको अधिनायकवाद अन्त्य गर्न मुलुकमा एक पटक अन्तिम लडाइँ लड्नु पर्ने अवस्था सिर्जना हुन लागेको भन्दै तयार हुन कार्यकर्तालाई निर्देशन समेत दिए । ‘काँग्रेसले राणा शासन ढाल्यौं, पञ्चायत ढाल्यो, राजालाई विदा ग¥यो अब अन्तिम लडाइँ कम्युनिष्ट अधिनायकबादका विरुद्ध हुनसक्छ’ उनले भने, ‘त्यसका लागि पनि अब हामी तयार हुनु पर्ने बेला आएको छ ।’
सभापति शेरबहादुर देउवाले पार्टीभित्रका हरेक निर्णयमा सहमतीको प्रयास गर्दा जरुरी काम पनि गर्न नसकेको भन्दै सहयोगका लागि आग्रह गरे । आपसमा झगडा गरेर पार्टीको हित नहुने भन्दै एकताका लागि सबै पक्ष गम्भीर हुनु पर्ने उनको भनाई छ । मञ्चमासंगै बसेका महामन्त्री डा. शशांक कोइरालालाई संकेत गर्दै देउवाले पार्टी एकताको लागि भाषण गरेर मात्र भएन अब सहयोग पनि गर्नु पर्नेमा जोड दिए । ‘पार्टीभित्र काम गर्न नदिने, काम गरेन भनि आलोचना गर्ने प्रवृत्ती बढेको छ’ उनले भने, ‘एकताका कुरा गर्ने अनि एकताका लागि कुनै पहल नगर्ने कसरी हुन्छ एकता ?’ उनको प्रश्न थियो । पार्टीमा अनुशासनहिनता बढेको भन्दै त्यसको अन्त्य गरी पार्टिलाई अनुशासित बनाउन जरुरी भएको उनको भनाई छ ।
काँग्रेसकै कारण पार्टीले विगतको चुनावमा हार व्यहोर्नु परेको भन्दै अन्तर्घात गर्नेलाई कार्वाही नगर्दा अनुशासनहिनता बढेको उनले बताए । कांग्रेसले चुनावमा अन्तर्घात गर्नेलाई कार्वाही गर्ने, जनताको घरघरमा पुग्ने र जनताको सेवा गर्ने कामले मात्र मतदाता आकर्षण गर्न सकिने भएकाले गाउँ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए । ‘भाषण गरेर जनताले पत्याउँदैनन्’ उनले भने, ‘अब जनताको घर बस्तीमा गएर जनताको सेवामा जुट्नु पर्दछ ।’

महामन्त्री डा. शशांक कोइरालाले पार्टीको एकतालाई मजबुत गराउन आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टीभित्रको आन्तरिक विवाद र मतभेदले पार्टी कमजोर भएको भन्दै सबैको ध्यान पार्टी बलियो बनाउन हुनु पर्नेमा जोड दिए । ‘हामीले आन्तरिक एकता मजबुत नबनाई राष्ट्रियता र लोकतन्त्र जोगाउन सक्दैनौ’ महामन्त्री डा. कोइरालाले भने, ‘त्यसका लागि अब मैले पहल गर्नेछु । सभापती जी र बरिष्ठ नेतालाई मिलेर जानका लागि म आजैदेखि पहल थाल्नेछु ।’ कर्णाली आफैमा सुन्दर प्रदेश भएको र यसलाई समृद्ध बनाउन पूर्वाधार निर्माणमा जोड दिनु पर्ने उनको भनाई छ ।
प्रशिक्षण कार्यक्रम समापन कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसले अघिल्लो बर्ष चुनाव हारे पनि कांग्रेसको विचारले जितेको बताए । पार्टीभित्रका कमजोरीहरुलाई सुधार गर्दै पार्टीलाई एकताबद्ध गरी अगाडि बढ्नु विकल्प नभएको उनको भनाई छ । ‘पछिल्लो डेढ बर्षमा दुई तिहाइको कम्युनिष्ट सरकारका क्रियाकलापबाट जनता आजित भइसकेको छन्’ उनले भने, ‘जनतामा छाएको निराशा र मुलुकको आवश्यकता पुरा गर्नका लागि पनि काँग्रेसमा एकताको खाँचो छ ।’ समय सापेक्ष पार्टीलाई रुपान्तर गरी अघि बढ्नु पर्ने भन्दै यसका लागि सबै नेताहरुको उत्तिकै प्रयास जरुरी हुने बताए ।
दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा कार्यकर्ताले गुटगत राजनीति अन्त्य गर्न नेतृत्वलाई दबाब दिएका थिए । सुर्खेत आएका सबै नेताहरुले कर्णालीका महाधिवेशन प्रतिनिधीहरुलाई जिल्लागतरुपमा छुट्टाछुट्टै भेट गरी सुझाव पनि लिएका छन् । उद्घाटनमा सहभागी बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सह महामन्त्री डा. प्रकाशसरण महतले पनि पार्टीको आन्तरिक एकता मजबुतको प्रतिबद्धता जनाएका थिए ।






