एटिएम ह्याकर पक्राउ
काठमाडौं ।
अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नबिल बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए । शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ, उनले भने ।
पक्राउ परेकासँग प्रहरीले रु १ करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले पक्राउबारे जानकारी दिएको छ ।
एटीएमको सिस्टम नै ह्याक गरेपछि बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा तत्काललाई अनिश्चित कालका लागि बन्द गरेका हुन् । एनआइसी एसिया र प्रभु बैंकको सिस्टम नै ह्याक गरिएको छ भने नबिल बैंकबाट ठूलो मात्रामा नगद झिकिएको छ ।
बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई नै चिनियाँ गिरोहले ह्याक गरेको खुलेपछि अनिश्चितकालका लागि एटिएमहरु बन्द गरिएको हो । एमटिएम नै बन्द भएपछि ग्राहकहरुलाई भने असुविधा भएको छ ।






