पटक पटक कर्णाली राजमार्ग अवरुद्ध
सुर्खेत ।
अविरल वर्षासँगै गएको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । वर्षातको समयमा पटक पटक पहिरोका कारण अवरुद्ध हुने गरेको कर्णाली राजमार्ग भदौरे झरीसँगै पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कालिकोटको तिलागुफा नगरपालिका –७, टाकुल्ला खोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । बाढीले सडक बगाएपछि शुक्रबार रातिदेखि नै राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरु बाटोमा लाम लागेर बसेका छन् भने यात्रु बाटोमै अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार सडक डिभिजन कार्यालय, जुम्लाले दुई डोजर लगाएर पहिरो पन्छाइरहेको जनाएको छ । कर्णालीको लाइफलाइनका रूपमा हेरिने यो राजमार्ग पहिरोका कारण वर्षेनी अवरुद्ध हुने गरेको छ । तर, राजमार्गको स्तरोन्नति गर्नतर्फ राज्यले चासो नदिएको स्थानीयको गुनासो छ । सडकको स्तरोन्नती नगरेका कारण र आवश्यक स्थानहरुमा पुल निर्माण हुन नसक्दा कर्णाली राजमार्गमा चल्ने मालबहाक तथा यात्रु बहाक सवारी साधनले निकै सास्ती खेप्नु परेको बड्की २ जुम्लाका बलिराज रोकायाले बताए । उनले भने, ‘सडक खनेर मात्र हुँदैन त्यसको स्तरोन्नती पनि गर्नु पर्छ र यात्रा गर्न सहज वातावरण बताउनु पर्छ ।’
यात्रामा क्रममा अलपत्र परेकी हिमा गाउँपालिका २ की चन्दा विष्ट भन्छिन्, ‘बाटो आयो भनेर खुबै खुसी भएका थियो तर बाटोले दिएको सास्तीका बारेमा कसैले कर्णालीवासीका पीडा बुझेका छैनन् ।’ कर्णाली राजमार्गमा यात्रा गर्ने प्रायः सबै यात्रुहरुका पीडा यस्तै छन् । सरकारले कर्णाली राजमार्गको स्तरोन्नतीका लागि बेलैमा ध्यान दिने कि ?






