Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

शाेभा बिनाकाे  वीरेन्द्रचोक

सुर्खेत ।

तत्कालिन राजा वीरेन्द्रलाई निकै मन परेको स्थान सुर्खेत । सुर्खेतको केन्द्रविन्दुमा कुनै समय उनकै सालिकले वीरेन्द्रनगरकै शोभा बढाएको थियो । २०४५ सालमा वीरेन्द्रनगरको शोभाको रुपमा स्थापित भएको तत्कालिन राजा वीरेन्द्रको सालिक माओवादी जनयुद्धको समाप्तिसँगै शान्ति प्रक्रिया सुरु भएपछि ढलेको थियो ।
जुन दिन वीरेन्द्रको सालिक ढलेको थियो त्यो दिन वीरेन्द्रनगरवासीको मन पनि नराम्रोसँग ढलेको थियो । राजा वीरेन्द्रको वंश नाश भएको २०५८ को जेष्ठ १९ को कालरात्री झैँ वीरेन्द्रनगरमा पनि एउटा कालो दिनको रुपमा रहेको थियो त्यो दिन ।
इतिहासको संरक्षण गर्नु भन्दा इतिहासलाई नै मेटाउन खोज्नेहरुले जब वीरेन्द्रचोकमा रहेको स्व. राजाको सालिक लडाए त्यसपछि वीरेन्द्रचोक कहिल्यै हँसिलो बन्न सकेको छैन । नगरपालिकाले पटक पटक बनाउँदै र भत्काउँदै गरेर त्यसको स्वरुप बदल्ने प्रयास गरेपनि वीरेन्द्रचोक चोक जस्तै देखिन सकेको छैनन् भन्छन्, वीरेन्द्रनगर ६ निवासी तुलाराम ढकाल । फरक राजनीतिक विचारहरुको जन्म भएपनि इतिहासलाई फरक बनाइनु गलत भएको ढकालको भनाई छ ।
नेपालमा राजनीतिक परिवर्तनहरु हुने क्रममा शासन सत्ताहरु ढल्ने नयाँ प्रक्रिया अनुसारका शासनहरुको सुरुवात हुने क्रम अहिले पनि जारी छ । २०४६ सालमा राजा वीरेन्द्रले सहजै जनतालाई बहुदलीय प्रजातन्त्र नदिएको भए ठूलो जनधनको क्षति हुन सक्थ्यो । तर इतिहासकै उदारवादी राजाका रुपमा चिनिएका वीरेन्द्रको इतिहासलाई नै मेटाउनु पक्कै पनि राम्रो होइन । वीरेन्द्र जस्तो उदारवादी राजा र पृथ्वीनारायण जस्तो दुरदर्शी राजाको रुपमा नेपालले कुनै पनि शासकहरु नपाउने निश्चित छ । आज नेपालीहरु स्वतन्त्रता पूवर्क शीर ठाडो गर्न सक्ने अवस्थाको सिर्जना राजा पृथ्वीनारायणको एकिकरणसँगै सुरु भएको थियो भन्ने कुरालाई कसैले बिर्सन नहुने बताउँछन् वीरेन्द्रनगर ९ का भक्तबहादुर बोहोरा ।


स्थानीयहरुको विरोधका कारण कहिले रातीमा डोजर लगाएर भत्काउने त कहिल्यै झुठा आश्वासनहरु दिएर भत्काउने कार्य भयो वीरेन्द्रचोकलाई । पछिल्लो समयमा वीरेन्द्रचोकलाई व्यवस्थित गर्न लागेको देखेर रमाउनेहरुको संख्या पनि बाक्लै थियो । धेरैले आंकलन गरेका थिए अब त इतिहासको जगेर्नाका लागि पनि वीरेन्द्रचोकमा स्व. राजाको सालिक ठडिने छ । तर त्यसरी इतिहासको रक्षा होस् भन्नेहरुको मनमा फेरि एकपटक तुषारापात भयो जब वीरेन्द्रको सालिक बस्नु पर्ने स्थानमा एउटा फूल रोपिएको गमला राखियो ।
धेरैले त्यसको विरोध पनि गरेका छन् । लोकतन्त्र र गणतन्त्रमा इतिहासको जगेर्ना गर्नेहरुको सालिक नै राख्न नहुने हो भने इतिहासकै क्रुर शासक राणाहरुले बनाएका दरबारहरु किन भत्काइन प्रश्न गर्छिन वीरेन्द्रनगर ८ निवासी कृष्णा थापा । उनले भनिन्, ‘राजाले जनतालाई थिचोमिचो गरे भन्नेहरुले राणाहरुले गरेको थिचोमिचो बिर्सिसके जस्तो छ । यदि राणाहरुले पनि थिचोमिचो गरेका थिए र उनीहरुको इतिहासलाई समेत ध्वस्त बनाउने हो भने सिंहदरबारदेखि राणाहरुको पालामा बनेका विभिन्न दरबारहरु समेत भत्काए भएन ?’ ‘राणाहरुले बनाइ दिएका दरबारहरुमा बसेर शासन चलाउनेहरुले पृथ्वीनारायण शाह, प्रजातन्त्रका पिताको रुपमा चिनिएका त्रिभुवन र राजा वीरेन्द्रका सालिकहरु ढलाएर कस्तो खालको विकास ल्याउन खोजेका हुन्’ थापाले आक्रोस पोखिन ।
समयको परिवर्तन सँगै सकारात्मक रुपमा गरिने परिवर्तनहरुलाईै आत्मसाथ गर्दै अगाडि बढ्नु स्वभाविक हो । तर इतिहासलाई नै भुल्ने हो भने धर्म र संस्कृति माथि समेत आँच आउने भएकोले यस्ता गतिविधिहरुलाई रोक्न आवश्यक छ । पछिल्लो समयमा निरन्तर रुपमा भइरहेको गौहत्यादेखि धर्म परिवर्तनका घटनाहरुले पनि नेपाली धर्म संस्कृति र इतिहासमा प्रहार भइरहेको बुढापाकाहरुको भनाई छ । वीरेन्द्रचोक त केवल एउटा उदाहरण मात्र हो ।
हरेक बस्तुको आफ्नै विशेषता हुन्छ । विशेषता विनाको बस्तु काम लाग्दैन । त्यसैले वीरेन्द्रको सालिक विनाको वीरेन्द्रचोक सुनसान देखिएको बताउँछन् वीरेन्द्रनगर ४ निवासी जयन्त शर्मा । विस्तारै नजिकै आउँदै गरेका चाडपर्वहरुको कारण व्यापारिक रुपमा वीरेन्द्रनगर बजारमा मान्छेको चहलपहल दैनिक बढ्दै गइरहेको भएपनि आफूलाई वीरेन्द्रचोक सुनसान जस्तै लागेको शर्माको भनाई छ । एउटा सालिकको समेत सुरक्षा गर्न नसक्ने सरकारले देशका सीमाहरुको कसरी सुरक्षा गर्न सक्छ ? शर्माले तिखो प्रश्न गरे । अर्बौका घोटाला गर्न पल्केकाहरुले जनतालाई विकास दिन त सकेको छैनन् तर भएका सम्पत्तिहरुको समेत विनाश गर्दा अलिकति पनि मन दुख्नु पर्ने हो भन्छन्, दैलेख भगवतीमाईका धनीराम जैसी । ‘जुन दिनसम्म वीरेन्द्रचोकमा स्व. राजा वीरेन्द्रको सालिक ठडिँदैन त्यो दिनसम्म वीरेन्द्रचोक सुनसान रहन्छ’ जैसीले भने ।
इतिहास मेट्न खोज्दाको परिणाम के हुन्छ भनेर अहिले नेपालमा नयाँ शासन व्यवस्था को नाममा लाकतान्त्रीक गणतन्त्र भनिएको छ । सधै यही शासन व्यवस्था रहिरहन्छ भनेर भन्न सकिने अवस्था छैन् । हुन त इतिहास रहने गरी केही काम त भएका छैनन् तैपनि केही झिनामसिना काम भएपनि यो शासन व्यवस्थाको चौतर्फी आलोचना भएको छ ।
भोलिका दिनहरुमा अहिलेको शासन व्यवस्थामा भएका केही काम अर्को शासन व्यवस्था ल्याउन खोज्नेहरुले मेटाउन खोजे भने कतिको मन दुख्ला कि नदुख्ला त्यो सोच्नु पथ्र्याे कि पर्दैन् । के शासन व्यवस्था मन परेन भन्दैमा इतिहास मेटाउन पाइन्छ ? त्यसै केटाकेटी खेलेझै भएको हो इतिहास ? भन्छिन्, वीरेन्द्रनगर ३ निवासी निर्मला थापा । इतिहास मेटाउन खोज्दाको दर्दनाक पिडा भएको इतिहासप्रेमीहरुको भनाइ छ ।