प्रदेश प्रमुख खनालले दिए संविधान दिवसको शुभकामना
सुर्खेत ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले बिहीबार एक पे्रस विज्ञप्ती जारी गर्दै चौथो संविधान दिवसका अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना ब्यक्त गरेका छन । चौथो संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीहरु ३ दिनसम्म विविध कार्यक्रमसहित संविधान दिवस भव्यरुपमा मनाउन लागि रहेको उल्लेख गर्दै प्रदेश प्रमुख खनालले कर्णाली प्रदेश प्रमुखका नाताले हार्दिक शुभकामना व्यक्त गरेका हुन् । विज्ञप्तीमा प्रदेश प्रमुखले २००७ सालदेखि नेपाली जनताले आफ्नो संविधान आँफैले लेख्ने गरि देखेको सपना २०७२ असोज ३ गते संविधान जारी पश्चात पूरा भएको छ र संसारकै उत्कृष्ट संविधानको रुपमा यो संविधानलाई गणना गर्ने गरिएको उल्लेख गरेका छन् । ०७२ को नेपालको संविधानले सुनिश्चित गरेका जनताका मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र, संघिय गणतन्त्रात्मक व्यवस्थाले परिकल्पना गरेको समावेसी सिद्धान्तका आधारमा आर्थिक उन्नति र समृद्धिका लागि स्थानीय, प्रादेशिक र केन्द्रीय गरि ३ वटै सरकारले सार्वभौम शक्ति सम्पन्न नागरिकको चाहना पूरा गर्नतिर लाग्नु पर्ने खनालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
संविधानमा उल्लेखित कुराहरु कार्यान्वयन गर्दै जनतालाई स्वास्थ्य, शिक्षा, संचार, यातायात र कृषिसँग सम्बन्धित क्षेत्रको विकासमा स्थानीय, प्रदेश र केन्द्रीय सरकार दत्तचित्त भएर लाग्ने कुरामा आँफू विश्वस्त रहेको जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीको अन्तमा कर्णाली प्रदेश प्रमुख खनालले संविधानको पालनासँगै हामी सबैलाई देश र जनताको आर्थिक उन्नतिमा लाग्न चौथो संविधान दिवसले पे्ररणा दिनेछ भन्दै संविधान दिवसको अवसरमा सम्पूर्ण देशबासीमा शुभकामना व्यक्त गरेका छन ।






