Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

शिक्षा सम्बन्धि अन्तरक्रिया

सुर्खेत ।

मार्टिन चौतारी काठमाडौं र मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकायको संयुक्त आयोजनामा संघीयतामा विद्यालय शिक्षाका विषयमा सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले राज्यको पुर्नसंरचनाले गर्दा संघीय संचरना अनुरुपको शिक्षा प्रणाली पुनर्याेजना गर्नु पर्ने बताए । जसका लागि कानूनी प्रक्रियादेखि कार्यान्वयन तहसम्मका निकायहरुमा पुनयौजना हुन आवश्यक रहेको बताउँदै शिक्षामा लगानी बढाउनु आवश्यक रहेको रेग्मीको भनाई थियो ।


छलफल तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायले संघीय संरचना अनुरुपको विकास र समृद्धिलाई सहयोग पु¥याउने जनशक्ति उत्पादन गर्न माटो सुहाउँदो शिक्षा अवलम्बन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तीर्जजंग शाहीले शिक्षकहरुको आत्मबल बढाउने र शिक्षा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिएका थिए । जन नमुना माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले आधारभूत तहका शिक्षकहरुलाई उत्प्रेरणा जगाउने कार्यक्रमहरु सरकारले ल्याउनु पर्ने धारणा व्यक्त गरे । यसैगरि वीरेन्द्रनगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रत्नबहादुर बुढा र वडा नं. ११ का वडा अध्यक्ष नन्दलाल शर्माले आ–आफ्ना वडाहरुमा शिक्षा सुधारका लागि आवश्यक बजेट विनियोजन गरेको र आगामी दिनहरुमा पनि शिक्षाको सुधारका लागि थप कार्यक्रमहरु बनाई अगाडि बढ्ने बताए ।
राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेश कार्यालयका प्रमुख जीतबहादुर शाहले शिक्षालाई जीवनोपयोगी र व्यवहारिक बनाउनका लागि पाठ्यक्रम तथा शिक्षण सिकाई क्रियाकलापमा सुधार ल्याउनु पर्ने बताए ।


नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष रत्न बुढा, नेपाल शिक्षक संघ सुर्खेतका अध्यक्ष गोविन्द गिरी, चन्द्रगंगा माध्यमिक विद्यालयका प्र.अ. नेत्रमणी चालिसे, शिव मावि धुलियाबीटका प्र.अ. पूर्ण पौडेल, शिव मावि लाटीकोइलीका प्र.अ. चन्द्रलाल सापकोटा, प्रावि पदमपुरका प्र.अ. ज्ञानु गैरेले सिकाइमैत्री वातावरण सिर्जना गर्न शिक्षकको आत्मबल बढाउनका लागि सरकारले शिक्षकमैत्री कार्यक्रम ल्याउने पर्ने बताए ।


मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डीन विष्णु बहादुर खड्काले शिक्षाका सुधारका लागि हरेक तह र तप्काको सहयोग रहेको बताए । मार्टिन चौतारीका लोकरञ्जन पराजुलीले कार्यक्रमको आवश्यक र औचित्यमाथि प्रकाश पारेका थिए ।
यसैगरि मार्टिन चौतारी र म.प.वि.वि. को संयुक्त आयोजनामा नै जर्नल लेखन र सम्पादन विषयमा समेत अन्तरक्रिया भएको छ । जसमा म.प.वि.वि. का विभिन्न संकाय र सुर्खेत क्याम्पस (शिक्षा) मा अध्यापन गर्ने २० प्राध्यापकहरुको संलग्नता रहेको थियो । मार्टिन चौतारीका देवेन्द्र उप्रेती र लोकरञ्ञ्जन पराजुली लगायतले जर्नल लेखन तथा सम्पादनका विविध पक्षमा सहजीकरण गरेका थिए ।