Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

काँग्रेसको जागरण अभियान सम्पन्न

सुर्खेत ।

नेपाली काँग्रेसले संञ्चालन गरेको दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान तथा बिरोध सभा समापन भएको छ । गत भदौ २४ गतेदेखी सुर्खेतसहित देशभर शुरुभएको जागरण अभियानको मंगलबार समापन गरिएको हो । सुर्खेतका दुई क्षेत्रका चारवटा प्रदेशहरुमा संचालन भएको अभियान मंगलबार पार्टी कार्यालय सुर्खेतमा समापन गरिएको हो ।


समापन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले जागरण अभियानले काँग्रेस भित्र उत्साह थपिएको बताए । उनिहरुले अभियानले पार्टीभित्र देखिएको मनमुटाबलाई अन्त्य गरेको भन्दै अव संगठन निर्माणमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिए । नेताहरुले यो अभियानले काँग्रेसमा नयाँ सन्देशको आशा पलाएको भन्दै अब शसक्त भएर अगाडी बढ्न् नेतृत्वलाई आग्रह गरेका छन । उनीहरुले गाँउमा जनता एकजुट भएको तर नेताहरु गुटउपगुटमा लाग्दा पार्टी कम्मजोर बन्दै गएको भन्दै सचेत रहन आग्रह गरे ।

जागरण अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीले जागरण अभियानले काँग्रेसलाई उत्साह थपेको भन्दै अब पार्टीभित्रको संस्थागत सुधार तर्फ लाग्नुपर्ने बताए । उनले पार्टीभित्र अनुशासन हराउदै गएको प्रति चिन्ता जनाउदै अनुशासन बिनाको पार्टीले जनताको मन जित्न नसक्ने ठोकुवा गरे । कर्णाली प्रदेससभाका संसदिय दलका नेता समेत रहेका शाहीले सरकार एक पछि अर्को काण्ड निम्त्याउदै जनतामा निराश थप्दै गएको आरोप समेत लगाए ।


यस्तै नेपाली काँग्रेस सुर्खेतका पूर्व पार्टी सभापति एवम पुर्व राज्यमन्त्री तप्तबहादुर विष्टले पार्टी भित्र एकले अर्कोलाई विरोध गर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोडदिए । उनले अहिलेको अवस्थामा पनि पार्टीभित्र मिल्नुको विकल्प नभएको भन्दै विगतका कमी कम्जोरीलाई बिर्र्सेर अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा जागरण अभियानका प्रतिनिधिहरु कालिबहादुर सहकारी, मानवहादुर नेपाली, जगतजंग थापा र निरन्जन सिजापतिले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने, पार्टीको आन्तरिक कलह मेटाउनुपर्ने जस्ता सुझावहरु आएको बताएका थिए । कार्यक्रममा जगतजंग थापाले भने देशमा संकट आएको बेलामा काँग्रेसले नेतृत्व लिने र देशलाई संकटबाट पार लगाउने बताए । कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल महिला संघ सुर्खेतका अध्यक्ष पार्वती गिरी लगायतले आफ्नो भनाई राखेका थिए ।