नसर्ने रोगको चपेटामा कर्णाली
सुर्खेत ।
पछिल्लो समयमा लामखुट्टेका कारण सर्ने रोग डेंगुको बारेमा निकै चर्चा भइरहेको छ । तर कर्णाली भने नसर्ने रोगले चपेटामा छ । सर्ने भन्दा नसर्ने रोगको चर्चा कम हुने गरेपनि नसर्ने रोगको अवस्था झन डर लाग्दो हुने गर्दछ । सर्ने रोगलाई नियन्त्रण गर्न जति सजिलो छ नसर्ने रोगलाई नियन्त्रण गर्न त्यति सजिलो छैन । सर्ने रोगका लक्षणहरु छिट्टै देखिने भएकोले पनि यसको नियन्त्रणको सहज हुने भएको भएपनि नसर्ने रोगका लक्षणहरु रोगले ग्रस्त बनाउँदै जाने क्रममा मात्र देखिन्छन् । जसका लागि यसको नियन्त्रण गर्न समस्या हुने चिकित्सकहरुको भनाई छ ।
नेपालमै नसर्र्ने रोगबाट पीडितको संख्या बढी देखिएको छ । अव्यवस्थित जीवनशैली र खानपानका कारण दम, मुटुरोग, बाथ, मिर्गौला, रक्तकोष, रक्तचाप आउने असामान्य परिवर्तन, क्यान्सरजस्ता रोग चुनौतीका रूपमा देखापरेका छन् । नेपालमा ४० वर्षभन्दा कम उमेरमै नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या उच्च आयस्रोत भएका मुलुकको तुलनामा बढी देखिएको अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वको कुल वार्षिक मृत्युमध्ये नसर्ने रोगबाट ७१ प्रतिशतको मृत्यु हुने गरेको छ । नेपालमा वार्षिक मृत्यु संख्यामध्ये ६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको परिषद्को तथ्यांक छ । धूमपान र मद्यपान गर्नु, शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान यस्ता रोगका कारकतत्व हुन् ।
नसर्ने रोगमध्ये पनि प्रमुखमा श्वासप्रश्वास, मधुमेह, मुटुरोग, क्यान्सर, ह्दयघात, मिर्गौला रोगका कारण बढी ज्यान जाने गरेको पाइएको छ । अव्यवस्थित जीवनशैली, खानपान, व्यायामको अभाव, वायु प्रदूषण, मानसिक तनावजस्ता कारणले नसर्ने रोग बढेको विज्ञहरूले बताएका छन् । त्यसैगरि विषादीयुक्त तरकारी तथा जंकफुडले पनि नसर्ने रोगलाई प्रशय दिइरहेका छन् ।
कर्णालीमा श्वासप्रश्वासका रोगी बढी
एक अध्ययनअनुसार नेपालका कूल जनसंख्याको ११.७ प्रतिशत नेपालीमा श्वासप्रश्वाससम्बन्धी रोग देखिएको छ । सबैभन्दा बढी कर्णालीमा २५.१ प्रतिशत रोगीहरु श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित छन् । नेपालकै आंकडा हेर्ने हो भने श्वासप्रश्वाससम्बन्धी समस्या सबैभन्दा कम गण्डकी प्रदेशमा ६ प्रतिशत देखिएको छ । यसैगरि प्रदेश १ मा ६.२, प्रदेश २ मा १६.४, प्रदेश ३ मा ११.७, प्रदेश ५ मा ९.५ र सुदूरपश्चिममा १४.३ प्रतिशतमा श्वासप्रश्वास समस्या देखिएको छ ।
यसैगरि कर्णाली प्रदेशमा मधुमेह रोगका विरामी ३.२ प्रतिशत रहेका छन् । मृगौला सम्बन्धी रोगबाट पीडितहरुको संख्या कर्णाली प्रदेशमा ४.७ प्रतिशत रहेको छ । मुटु रोग सम्बन्धि समस्यामा भने कर्णाली प्रदेशमा ०.८ प्रतिशत विरामीहरु छन् । नेपालकै तथ्याँकलाई हेर्ने हो भने यो सबैभन्दा कम हो । तर गण्डकी र सुदूरपश्चिम प्रदेशमा ३.६ प्रतिशत मुटुरोगी छन् ।
चिसो मौसममा श्वासप्रश्वाससम्बन्धि रोगीहरु अझ बढि प्रभावित हुने गर्दछन् । मौसम परिवर्तनसँगै उनीहरुमा भएको समस्याले झन ग्रस्त बनाउँदै लैजाने स्वास्थ्यकर्मीहरुको भनाई छ । जसका लागि झोलिलो पदार्थ धेरै पिउनु, चिल्लो पिरो नखानु तथा न्यानो कपडा लगाएर बस्नु र सुत्ने बेलामा पनि न्यानो कोठाको प्रयोग गर्नु राम्रो हुने गर्दछ ।
किन बढ्दैछ नसर्ने रोग ?
नेपालमा नसर्ने रोग बढ्दै जानुमा निष्क्रिय जीवनशैली, खानपान, धूमपान, मद्यपान प्रमुख कारक रहेको चिकित्सकको भनाई छ । बढ्दो सहरीकरणसँगै व्यायाम गर्ने स्थान र हिँड्ने सडक अभाव हुनु, प्रदूषण नियन्त्रणमा ध्यान नदिँदा नसर्ने रोगका बिरामी बढेको वरिष्ठ चिकित्सकले बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार यी कारक तत्वलाई न्यूनीकरण गर्न सकेमा झन्डै ८० प्रतिशत रोगको भार कम गर्न सकिन्छ । रोग पहिचानमा ढिलाइ हुनु, पहिचान भए पनि उपचारमा सहज पहुँच नहुनुले नसर्ने रोग बढेको चिकित्सकको भनाइ छ ।
यस्ता छन् रोकथामका उपाय
धूमपान–मद्यपानको कुलतमा नफस्नु र त्यसको प्रयोग गर्दै नगर्नु नसर्ने रोगबाट बच्ने एउटा बलियो उपाय हो । प्रदूषणका कारा पनि नसर्ने रोगहरु लाग्ने भएकोले त्यसबाट समेच बच्न चिकित्सकहरुले सुझाएका छन् । सुर्तीजन्य पदार्थ सेवनका कारण पनि नसर्ने रोगहरु लाग्ने भएकोले यसको प्रयोगलाई पनि बन्द नै गर्नु पर्ने विज्ञहरुको भनाई छ । त्यसका साथै दैनिक आधा घन्टा व्यायाम गर्नु पनि स्वास्थ्यका लागि फाइदाजनक हुने भएकोले त्यतातर्फ समेत ध्यान दिन जरुरी छ । त्यसैगरि हामीले दैनिक प्रयोग गर्ने नुनका कारण पनि नसर्ने रोगहरु बढिरहेका छन् । दैनिक ५ ग्रामभन्दा कम नुन खानु पनि नसर्ने रोगबाट बच्नु भएको चिकित्सकहरुले बताउँदै आएका छन् ।






