Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

गाईलाई भीरबाट खासाल्नेहरु धरौटीमा रिहा

 

सुर्खेत

गाईहरुलाई भीरबाट खसालेर मारेको आरोपमा १४ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । जिल्ला अदालत सुर्खेतका न्यायधीश डा राजेन्द्र कुमार आचार्यको एकल इजलासले उनीहरुलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

सबैभन्दा बढी धरौटी बुझाउनेमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख निरीक्षक सूर्य बहादुर बोगटी छन् । उनीसँग चार लाख ५० हजार रुपैया धरौटि लिइएको छ । यस्तै चितवनका गुड्स क्यारियर्सका सञ्चालक सन्त्रिप्त सिंह श्रेष्ठसँग तीन लाख ५० हजार रुपैया लिइएको छ ।

 अदालतका अनुसार उपमहानगर अन्तर्गतकै नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई दुई लाख ५० हजार, नगर प्रहरी जवान चन्द्रबहादुर राना, सुशान्त शाही, कमल वयक र सुवर्ण तारमीमगरलाई जनही दुई लाख धरौटीमा छोडिएको हो। उपमहानगरपालिकाका फायरमेन कमल थापा मगर र नेपालगञ्ज काञ्जिहाउसका सहयोगी धर्मेन्द्र नेपालीबाट जनही एक लाख ५० हजार रुपैयाँमा रिहा गर्न अदालतले आदेश दिएको छ।

त्यसैगरी गाई गोरु ढुवानी गर्ने ट्रक चालकहरु शत्रुधन चौधरी, हिमबहादुर जिसी, दानबहादुर केसी, विवेक कुँवर र सागर विकलाई जनही एक–एक लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको छ भने ट्रकको सहचालक अमृत चौधरी र कृष्णबहादुर विसी साधारण तारेखमा रिहा भएका छन् । काञ्जिहाउसका कर्मचारी पवन कानोडिया र राकेश भारती फरार रहेको भन्दै उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।

ढुवानीको क्रममा सुर्खेतको विभिन्न स्थानमा गरी झण्डै ३६ भन्दा बढी गाईगोरु मृत भेटिएका थिए । सोही प्रकरणमा नेपाल सरकारको गृहमन्त्रायले भदौ १४ गते छानविन समिति गठन गरी आवश्यक अध्ययन अनुसन्धान गरी प्रतिवेदन बुझाई सकिएको छ।