Loading... आजः १७ असार २०८३, बुधबार । Wednesday 1st July 2026
ताजा खबर
  

कारागारमा शुभकामना आदानप्रदान

सुर्खेत ।
दशैं आयो तिहार आयो रुँदै होलिन् प्यारी
घरकै मुलि नभएसी दशैं मान्ने क्यारी
सुन्दै मन भावुक बनाउने गीतका शब्दहरु हुन सुर्खेत कारागारमा कैदीबन्दीको जीवन विताइरहेका जनक नेपालीका । ‘चार्ड पर्वको बेला ए मेरी प्यारी सम्झेर नरोए’ बोलको गीतमा उनले जब यस्तै गीतका शब्दहरु प्रस्तुत गरे कार्यक्रममा उपस्थितहरु सबै सोच मग्न बने । २०७६ सालको दशैं, तिहार र छठ पर्वको अवसरमा कारागारलाई किताब अभियान समिति सुर्खेतले कैदी बन्दीहरुसँग शुभकामना आदानप्रदान कार्यक्रममा जनक नेपालीले आफ्नो प्रस्तुती राख्ने क्रममा भावनात्मक रुपमा गीतको माध्यमबाट सबैको मन छुने प्रयास गरे । निकै सुरिलो स्वरमा उनले गीत गाइरहँदा अन्य कैदीबन्दीहरु समेत दशैं र तिहारलाई सम्झेर मलिन अनुहार बनाइरहेका थिए ।


गीतको माध्यमबाट कैदीबन्दी नेपालीले भने,
‘छत्तिस जातमा बाँडिएको तराई, पहाड, हिमाल
अग्रगामी बनाउनु छ अखण्ड यो नेपाल’
उनले यो गीतको टुक्का गाइरहँदा कैदीबन्दीको जीवन व्यतित गरिरहेकाहरुले पनि देश विकासका लागि चिन्ता गरिरहेको स्पष्ट हुन्छ । ‘जाग युवा उठ ! देश बनाउन जुट’ यी शब्दहरु उनले पस्किरहँदा शुभकामना आदान प्रदानका लागि उपस्थित अधिकांश कैदीबन्दीहरु भने युवा उमेर समूहका देखिन्थे ।

शुभकामना आदान प्रदानसँगै रचनावाचनको कार्यक्रम समेत जोडिएकाले आफ्नो कविता वाचन गर्दै कैदीबन्दी दीपक रोकायाले भने आज कैदी कवि भएका छन् । कारागारलाई किताब अभियानको प्रसंग जोड्दै उनले भने ‘कारागारमा स्थापना भएको पुस्तकालयले हामीलाई पठन संस्कृति दिएको छ । विभिन्न कारणले कैदी जीवन विताउनु परेको भएपनि अब धेरैले कविता लेख्ने र पुस्तक पढ्ने बानी बसालेका छांै ।’ कसैलाई खाएको त कसैलाई नखाएको विष लाग्ने गरेको बताउँदै अर्का कैदीबन्दी बल बहादुर सिंहले आफ्नो कविता वाचन गरेका गरे । उसो त कैदीबन्दी देवीदत्त ढकालका गीतका हरफहरु पनि कम्ति दर्दनाक थिएनन् ।


देउडा गीत प्रस्तुत गर्ने क्रममा कैदीबन्दी दीपक रोकायाले कथाकार महेशविक्रम शाहको योगदानले कैदीबन्दीहरुले अध्ययन गर्ने अवसर प्राप्त गरेको बताउँदै भरखरै मात्र कान्तिपुर पत्रिकामा उनको ‘छापाकारको छोरो –२’ कथा पढ्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने भरखरै मात्र शाहद्वारा लिखित ‘छापाकारको छोरो’ कथा संग्रह पढि सिध्याएको थिएँ । फेरि ‘छापाकारको छोरो –२’ कथा पढ्ने अवसर प्राप्त भयो ।’ उक्त ‘छापाकारको छोरो –२’ कथा यथार्थ हो वा काल्पनिक हो आफूले छुट्याउन नसकेको बताउँदै मनका उक्त कथाको बारेमा साह्रै कौतुहलता लागेको उनको भनाई थियो । दशैं तिहारको समयमा विभिन्न व्यक्ति र संघसंस्थाहरुले कैदीबन्दीहरुलाई उपहार स्वरुप सहयोग गर्ने भएकोले त्यस्ता सहयोगहरुको अपेक्षा उनीहरुले गरिरहेका छन् । कर्णाली प्रदेशका १० वटै कारागारहरुमा तत्कालिन कर्णाली प्रदेश प्रहरी  प्रमुख  डिआइजी महेशविक्रम शाहको अभियानमा कारागारलाई किताब पु¥याइएको थियो ।


शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कारागारलाई किताब अभियानका संयोजक एवम् कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूर्णचन्द्र जोशीले किताबबाट लिइएको ज्ञानलाई व्यवहारमा उतारी बन्दी पश्चातको जीवनलाई सामाजिक कार्यमा लगाउन सक्नु नै ठूलो उपलब्धि हुने बताए । बन्दी जीवनमा पुस्तकको अध्ययनले मानसिक परिवर्तन ल्याउन ठूलो मद्दत गर्ने बताउँदै डिआइजी जोशीले कर्णाली प्रदेशमा स्थापना गरिएको कारागारलाई किताब अभियान उदाहरणीय कार्य भएको बताए । यस कार्यलाई निरन्तरता दिन र व्यवस्थापन पक्षलाई अझैँ राम्रो बनाउन कारागारलाई किताब अभियान समिति सक्रिय भएर लाग्नु पर्ने उनको भनाई थियो । मानिसले जानेर वा नजानेर वा कसैको लहलहैमा लागेर गरिने गल्तीबाट पाठक सिक्नु र त्यस्ता गल्ती नदोहो¥याउनु बुद्धिमानी हुने बताउँदै डिआइजी जोशीले शुभकामना व्यक्त गरेका थिए । डिआइजी जोशीले कारागारमा रहेको पुस्तकालयको अवलोकन समेत गरेका थिए ।


उक्त शुभकामना आदानप्रदान कार्यक्रममा भएको प्रतियोगीतात्मक रचना वाचन कार्यक्रममा जनक नेपाली प्रथम, दीपक रोकाया द्वितीय, लिल बहादुर खत्री तृतीय र देवीदत्त ढकालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा कवि देवकी तिमल्सिना ‘समीक्षा’ले आफ्नो कविता कृति ‘योद्धाको सपना’ र कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाको संस्मरण कृति ‘नाफाको जिन्दगी’ कारागारलाई प्रदान गरेकी थिइन ।


सुर्खेत कारागार प्रमुख (जेलर) लक्ष्मी खरेलका अनुसार अहिले २ सय २७ कैदीबन्दीहरु उक्त कारागारमा रहेका छन् । जसमध्ये २४ जना महिला र ३ जना नाबालक (आश्रित बालबालिका) रहेका छन् । ४० जना पुरुष र १० जना महिलाको क्षमता रहेको उक्त कारागारमा यति धेरै संख्यामा कैदीबन्दीहरु राख्नु परेकोले असहज भएको उनको भनाई थियो । कार्यक्रममा प्रहरी उपरीक्षक दिल्ली राज पन्त, रामेश्वर प्रसाद यादब, सञ्जीव शर्मा, पत्रकारहरु समेत उपस्थिति रहेको थियो । केशव सारु मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रम कैदीबन्दी विजयराज सेजुवालले संचालन गरेका थिए ।