कर्णाली प्रदेशमा घरेलु साना, मझौला तथा ठूला उद्योगहरुको प्रचुर सम्भावना
सुर्खेत ।
आफ्नो उत्पादनलाई गुणस्तरीय बनाउन सकेको खण्डमा जुनसुकै बजारमा पनि प्रतिस्पर्धा गर्न सकिने बताइएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले आयोजना गरेको स्वागत तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले यस्तो बताएका हुन् । उनले भने, ‘उद्यमीहरुले सरकारसँग आशा गर्नु स्वभाविक भएपनि आफूले उत्पादन गर्ने सामानको गुणस्तर के कस्तो छ भन्ने बारेमा ध्यान दिन सकेको खण्डमा स्थापित हुन समस्या हुँदैन ।’ कर्णाली प्रदेश घरेलु साना, मझौला तथा ठूला उद्योगहरुको समेत प्रचुर सम्भावना रहेकोले यस प्रदेशको समृद्धिको लागि सबैले हातेमालो गर्न आवश्यक रहेको सचिव आचार्यको भनाई थियो ।
उद्योगको विकासका लागि मन्त्रालयले गर्न सक्ने कार्यमा आफ्नो सहयोग रहने बताउँदै सचिव आचार्यले समय र परिवेश सुहाउँदो उत्पादनमा लाग्नु पर्ने समेत बताए । कतिपय उत्पादनहरु समय र परिवेश अनुसार हुन नसकेको तर्फ अंगित गर्दै टिकाउ र बिकाउ हुने उत्पादनको खाँचो रहेको बताए ।
कार्यक्रममा उपस्थित अधिकांश उद्यमीहरुले सरकारले कानून निर्माण गरेर उद्यमीलाई प्रोत्साहनको साटो झण्झट लगाएको बताएका थिए । आर्थिक समस्याका कारण उद्योगहरु बीचैमा बन्द हुने अवस्था आउनु दुःखद रहेको बताउँदै उत्पादन भएका सामग्रीहरुले समेत बजार नपाएको उद्यमीहरुले गुनासो गरे । सस्तो ब्याजदरमा ऋण पाउन सकेको खण्डमा आफ्नो उद्योगलाई निरन्तरता दिएर रोजगारीको सिर्जना समेत गर्न सकिने उद्यमीहरुको भनाई थियो । प्राविधिक शिक्षासँगै तालिम तथा सिकाइको खाँचो रहेको औल्याउँदै उद्योगहरुलाई प्रविधिमूलक बनाउनका लागि सरकारले ध्यान दिन आवश्यक रहेको बताए ।
कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीको अध्यक्षतामा भएको थियो सहजीकरण भीमबहादुर भण्डारीले गरेका थिए ।






