औद्योगिक व्यापार, प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव
सुर्खेत ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, कर्णाली प्रदेशको आयोजनामा औद्योगिक व्यापार, प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव हुने भएको छ । आउँदो मंसिर १८ गतेदेखि २४ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उक्त महोत्सव हुन लागेको हो । कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रवद्र्धक रहेको उक्त महोत्सवको आयोजना बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ, कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर बिसीले यस्तो जानकारी दिएका हुन् ।
करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त महोत्सवमा ८५ लाख ५० हजार आम्दानी हुने अनुमान आयोजकले गरेको बताइएको छ । टिकट बिक्री, अनुदान र प्रायोजकहरुबाट महोत्सवको खर्च जुटाउने तयारी भइरहेको अध्यक्ष विसीले बताए । उनले भने, ‘वीरेन्द्रनगर नगरपालिकाको कार्यविधि अनुसार नै महोत्सवको आयोजना गरिएको छ । महोत्सवबाट भएको आम्दानीले लघु उद्यमीहरुको लागि चेतनामूलक गोष्ठी र समारोहमा खर्च गर्ने योजना छ ।’
आर्थिक समृद्धिाका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगिकरणमा सबै जुटौं भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा ३ सय लघु घरेलु तथा साना उद्योगका साथै अन्य व्यावसायिहरुका उत्पादनहरुको स्टल रहने बताइएको छ । जसमध्ये कर्णाली प्रदेशका १० जिल्लाबाट प्रति जिल्ला कम्तिमा ५ उद्यमीको सहभागीता सुनिश्चित गरिएको बताइएको छ । प्रदर्शनी अवधिमा २ लाख बढि दर्शकहरुले अवलोकन गर्ने र ५ करोड भन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका साथै नेपाल भरका लघु घरेलु तथा साना उद्यमीहरुको सहभागीता रहने र यसमा स्वदेश तथा ाविदेशका उत्पादन समेत राखिने बताइएको छ । त्यसमा सबै भन्दा उत्कृष्ट उद्यमीलाई पुरस्कार समेत प्रदान गरिने बताइएको छ ।
कर्णाली प्रदेश उद्योग, पर्यटन, जडिबुटी लगायत अन्य स्रोत तथा साधनहरुले भरिपूर्ण रहेको बताउँदै कर्णाली प्रदेशमा १७ हजार घरेलु तथा साना उद्योगहरु दर्ता भएको बताइएको छ ।
नेपाल सरकारको भ्रमण वर्ष सन् २०२० लाई समेत टेवा पु¥याउने उद्देश्य राखिएको उक्त महोत्सवमा कर्णालीका मुख्य सम्भावित क्षेत्रहरु मध्ये रैथाने बालीहरुको व्यावसायिक खेतीहरुको प्रचार प्रसार, औषधी जन्य जडिबुटीहरुको पहिचान, खेती र बजारीकरण, खनिजलगायतको बजारीकरणका लागि सहयोग पुग्ने आयोजकले अपेक्षा दिएको अध्यक्ष बिसीको भनाई थियो ।
त्यसैगरि कर्णालीका पर्यटकीय स्थलहरु रारा, से–फोक्सोण्डो, पचाल झरना, देउती बज्यै मन्दिर, चन्दननाथ, रल्लिंग गुम्बा, लिमी भ्याली, छायाँनाथ त्रिपुरासुन्दरी लगायतका क्षेत्रहरुको प्रचार प्रसार हुने बताइएको छ ।
आ.व. २०७४÷०७५ को तथ्याँङ्कलाई हेर्ने हो भने ४ लाख १८ हजार ५२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् भने औद्योगिक प्रवद्र्धन तथ्याँङ्कलाई हेर्ने हो भने घरेलु तथा साना उद्योग व्यावसायले ४१ हजार १ सय ९५ करोडको लगानीमा २६ लाख ६ हजार ८६ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको बताइएको छ ।






