Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

प्रदेश प्रमुखको नाम सिफारिसः कर्णालीमा कलौनी

सुर्खेत ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ । सोमबार विहान बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
सिफारिस गरिए अनुसार कर्णाली प्रदेशमा गोविन्द कलौनी सिफारिसमा परेका छन् । यसैगरि प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाई, गण्डकी प्रदेश अमिक शेरचन, प्रदेश नम्बर ५ धर्मनाथ यादव र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठी रहेका छन् । तर कर्णाली प्रदेश निवासी कोही पनि प्रदेश प्रमुखको लिष्टमा परेनन् । कर्णाली प्रदेशबाट कसैको पनि नाम प्रदेश प्रमुख सिफारिस नभएको भन्दै सामाजिक सञ्जालमा भने व्यापक विरोध भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् । सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरेपनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमवार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेश प्रमुखका लागि ७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको बैठकपछि पार्टी महासचिव विष्णु पौडेलले बताए । यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी थिइन् ।

को हुन्, प्रदेश प्रमुखमा सिफारिसमा परेका व्यक्तिहरू ?

अमिक शेरचनः लामो सयम जनमोर्चाको अध्यक्ष रहेका अमिक शेरचन पुराना वामपन्थी नेता हुन् । तत्कालीन माओवादीसँग एकता हुनुअघि उनी जनमोर्चाको अध्यक्ष थिए । २०६४ सालको निर्वाचनमा शेरचन चितवन– ५ बाट विजयी भएका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उपप्रधान एवं स्वास्थ्य मन्त्री थिए ।

तिलक परियारः २००७ सालमा रोल्पाको लिवाङमा जन्मिएका परियार २०३३ सालदेखि राजनीतिमा सक्रिय छन् । दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका परियार पछि मोहन वैद्यसँगै तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग्गिएका थिए । रामबहादुर थापा बादल माओवादी केन्द्रमा फर्किंदा परियार पनि सँगै फर्किएका हुन् । २०६४ सालको निर्वाचनमा परियार बाँके १ बाट निर्वाचित भएका थिए ।
सोमनाथ अधिकारीः कास्कीका पुराना वामपन्थी नेता हुन, सोमनाथ अधिकारी प्यासी । उनी कास्कीबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । पछिल्लोपटक नेकपा प्रदेश कमिटिले उनको नाम कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस समेत गरेको थियो ।
धर्मनाथ यादवः यादव नेकपाका सादगी नेता हुन् । लामो समय शिक्षण पेशा अंगालेका यादव २०४८ सालको चुनावमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । उनी सादा जीवन, उच्च विचार राख्ने नेताका रुपमा परिचित छन् । २०४८ सालमा मसँग पराजित भएका थिए । आर्थिक अभावका कारण त्यसपछि उनी चुनावमा उम्मेदवार बनेनन् । २०७३ सालमा नेकपा एमालेले गरेको पूर्व पश्चिम जागरण अभियानको क्रममा झापामा स्थायी समितिको बैठक राखेर यादवलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।
गोविन्दप्रसाद कलौनी ः कलौनी पुराना वामपन्थी नेता हुन् । हालसम्म अवसरबाट वञ्चित हुँदै आएका उनी सुदूरपश्चिममा तत्कालीन एमालेका चर्चित नेतामध्ये पर्छन् । उनले डडेल्धुरा, बैतडी र कञ्चनपुरलाई राजनीतिक कर्मथलो बनाएका छन् । पार्टीमा जिल्लादेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी बहन गरिसकेका कलौनीले अहिलेसम्म संसदीय चुनाव भने जित्न सकेका छैनन् । उनी २०५१ सालको मध्यावधि निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने २०५६ सालमा बैतडी र २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका थिए । ६५ वर्षीय कलौनी एकपटक राष्ट्रिय सभा सदस्यको उम्मेदवार भएपनि पराजित भएका थिए ।

विष्णुप्रसाद प्रसाईंः  प्रसाईं झापा आन्दोलनसँग जोडिएका पुराना कम्युनिष्ट नेता हुन् । उनी हाल नेकपाको प्रदेश कमिटीमा
छन् । २०४९ को निर्वाचनपछि प्रसाईं झापा जिविस उपसभापति बनेका थिए । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी झापाको मेचीनगर नगरपालिकाको मेयरमा उम्मेदवार समेत बनेका थिए । मेयरमा उनी कांग्रेसका विमल आचार्यसँग पराजित भए । मेयरमा पराजित भएका व्यक्ति अहिले प्रदेश प्रमुख बन्ने भएका छन् ।

शर्मिला त्रिपाठी ः पूर्व माओवादी पृष्ठभूमिकी त्रिपाठी तत्कालीन माओवादीका बेपत्ता योद्धा ज्ञानेन्द्र त्रिपाठीकी पत्नी हुन् ।
प्रदेश प्रमुखमा सिफारिस भएकी त्रिपाठी एक मात्र महिला पनि हुन् । उनी यसअघि कुनै लाभको पदमा बसेकी छैनन् ।

प्रदेश प्रमुख सिफारिसमा माधव नेपाल असन्तुष्ट

सात जना प्रदेश प्रमुख नियुक्तिसम्बन्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको निर्णयमा बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । नेपालले नोट अफ डिसेन्ट नै लेखेका छन् । सोमबार विहान बसेको नेकपा सचिवालय बैठकमा नेपालले प्रदेश प्रमुखका लागि आफ्नो तर्फबाट केही नेताको नाम पेश गरेका थिए । प्रदीप नेपाल, विश्वकान्त मैनाली, बेदुराम भुसाल, रघुजी पन्त र श्रीमाया थकालीमध्येबाट प्रदेश प्रमुख बनाउन नेपालको प्रस्ताव रहेको स्रोतले जनाएको छ । तर आफूले प्रस्ताव गरेका नाममाथि छलफल नै नभएपछि उनी कड्किएको एक सचिवालय सदस्यले बताए ।
उनले आफूले पेश गरेका नाममा कम्तिमा छलफलसम्म होस भन्ने माग गरेका थिए । तर त्यो पनि सुनुवाई भएन । नेपालले नाम प्रस्ताव गर्नुअघि नै पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट महासचिव बिष्णु पौडेलले सात जनाको नाम प्रस्ताव गरेका थिए । नेता नेपालले आफूसँग परामर्श नै नगरी नाम पेश गरिएको भन्दै यस्तो गर्ने हो भने बैठक किन बोलाएको भन्ने प्रश्न समेत गरेका थिए ।

उनलाई प्रचण्डले सम्झाउन खोजे पनि मानेनन् । प्रचण्डले मापदण्ड मिलाएरै नाम पेश भएकाले कसका मान्छे परे परेनन् भनेर नसोच्न आग्रह गरेका थिए । तर उनले प्रदेश प्रमुख नियुक्ति गर्दा सन्तुलन नमिलेको र आफूलाई पेल्न खोजिएको भन्दै नेपालले असन्तुष्टि व्यक्त गरेका थिए ।

पूर्वएमालेबाट प्रदेश प्रमुख बनेका सोमनाथ प्यासी, बिष्णु प्रसाईं, धर्मनाथ यादव र गोविन्द कलौनी चारैजना ओली पक्षका हुन् । कलौनी ओली पक्षमा पनि बामदेव गौतम निकट मानिन्छन् । ‘जसरी पनि माधव नेपाललाई पेल्ने नियत देखियो’ नेपाल पक्षीय एक नेताले भने , ‘यसरी नगरौं बरिष्ठता र सन्तुलन पनि मिलाऊँ भन्दा उहाँको कुरा सुनुवाई भएन । प्रधानमन्त्रीले आफ्नो गुटका ममान्टेहरुलाई राख्नु भयो । व्यक्तिमा भन्दा पनि प्रक्रिया र असुन्तलनप्रतिको असहमति हो ।’

यसैबीच नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई उपेक्षा गरिएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् । अन्यत्र मेयर हारेकाको पनि योग्यता पुगेको भन्दै कर्णालीलाई योग्यता पुग्न के के चाहिने हो भनि प्रश्न उठाएका छन् ।