Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

ओमबहादुरको सम्झनामा शोकसभा

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ओमबहादुर जिसीको १३ औं दिनको पुष्यतिथिमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सुर्खेतले शोकसभा गरेको छ । सुर्खेत जिल्लाका निकै परिचत नेता तथा समाजसेवीको रुपमा जिसी परिचित थिए । यही कार्तिक ९ गते उनको निधन भएको थियो ।


जिल्ला पञ्चायत र जिल्ला विकास समितिमा उनी ३ पटक सभापति भएका थिए भने शिक्षा क्षेत्रमा समेत उनको ठूलो योगदान रहेको छ । शोकसभामा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मुकुन्दश्याम गिरीले जिसीको निधनले जिल्ला र पार्टीलाई अपुरणीय क्षति भएको बताए । गिरीले भने, हाम्रो राजनीतिक गुरु गुमाएका छौ । उनले अवलम्बन गरेका योजनाहरुलाई मूर्तरुप दिन सक्यौ भने मात्रै हामी सबैको भलाई हुनेछ । जिसीको निधनले सुर्खेतको समाजसेवाको अभिभावक र पार्टीको अग्रज व्यक्तिको खाँचो जहिले पनि खट्किरहने गिरीको भनाई थियो ।


पार्टीले लिएका हरेक नीतिहरुमा समेत जिसीको सहभागीता रहने भएकाले उनको देखाएको बाटोमा पार्टी तथा कार्यकर्ताहरुलाई एक ढिक्का बनाएर अघि बढ्नु पर्ने बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु उनको तस्वीरमा माल्यार्पण गर्दा भावविह्वल भएका थिए ।
जिल्ला कार्य समितिका अध्यक्ष मान बहादुर खड्काको अध्यक्षतामा भएको शोकसभामा केन्द्रीय सदस्यहरु भद्रबहादुर शाही, भरत ढकाल र तुलराम गिरी, कर्णाली प्रदेश उपाध्यक्ष सूर्यबहादुर खत्रीलगायत जिल्ला कार्य समितिका पदाधिकारीहरु, गाउँ, नगर तथा प्रदेश कार्यसमितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । २००३ साल साउन २४ गते सुर्खेतको गोठीकाँडामा जन्मेका ओमबहादुर जिसी अर्बुद्ध रोगबाट पीडित थिए ।