बृहत ठाँटी मेलामा भलिबल प्रतियोगीता, फाइनल भोली
सुर्खेत ।
निलाम्य बगीरहेको भेरी नदी । तीन तिरबाट डाँडाले घेरिएको एउटा सुन्दर स्थान । एकातिर सल्यान र अर्कोतिर जाजरकोटको सिमाना । भौगोलिक बनावटले सुन्दर स्थल सिम्ता गाउँपालिकाको वडा नं. ३ बाँखर्क । त्यही स्थानमा जनसन्देश युवा क्लबको आयोजनामा बृहत ठाँटी मेला २०७६ को अवसरमा भव्य मेला र भलिबल प्रतियोगीता ।

स्थानीय संस्कृतिको जगेर्नाका लागि पञ्चेबाजाको गडगडाहट । सिंगारु नाचको कुटीकुटी आवाज । लहरे नाचमा पैचनको स्यार्र स्यार्र आवाज । गर्रा र मयूर नाचको क्याट्ट क्याट्टको धुन अनि कतै स्थानीय कृषि उपजको व्यापारले हेर्न लायक थियो बृहत ठाँटी मेला । त्यही मेलामा निक्कै जोडतोडका साथ चलिरहेको भलिबल प्रतियोगीता ।
सुर्खेत, सल्यान र जाजरकोटबाट २० समूहको सहभागीता भएको भलिबल प्रतियोगीताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको शासनबाट बोल्दै शिवालय गाउँपालिका जाजरकोटका अध्यक्ष नरेन्द्र शाहीले भने, ‘कला र संस्कृतिको क्षेत्रमा हाम्रो पहिचान जोगाइ राख्नका लागि यस्ता मेला र पर्वहरुको आवश्यकता छ । विशेष गरि युवाहरुले देखाएको सक्रियता र सहभागीताका लागि म धन्यवाद दिन्छु ।’ खेलकुदको विकास भनेको अनुशासन र शारिरीक विकास समेत भएकोले यस्ता मेलाहरुमा समेत खेलकुदको आयोजना गरेर जनसन्देश युवा क्लबले व्यक्ति विकासमा समेत योगदान दिएको उनको भनाई थियो ।
जनसन्देश युवा क्लबले हरेक वर्ष आयोजना गर्ने भलिबल प्रतियोगीतामा खेलाडि र दर्शकहरुको उत्साहले सिम्तालाई अझ उचाँइमा पु¥याएको बताउँदै सिम्ता गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष नहकुले बुढाले आउँदा दिनहरुमा पनि स्थानीय सरकारले युवाहरुलाई साथ र सहयोग दिँदै जाने बताए ।
पछिल्लो समयमा युवाहरु कूलतमा फस्दै गएकाले खेलकुद क्षेत्रको विकास गर्न सकेको खण्डमा उनीहरुलाई दुव्र्यसनबाट बचाउन सकिने जनसेन्दश युवा क्लबका अध्यक्ष तेजविक्रम सिंहले क्वीकखबरसँग बताए । उनले भने, ‘युवाहरुले काम पाएनन् भने उनीहरु गलत कार्यमा लाग्ने गर्दछन् । त्यसैले युवाहरुलाई कुनै न कुनै काममा संलग्न गराउन सकेको खण्डमा एकातिर उनीहरुको व्यक्तित्वको विकास र अर्कोतिर राष्ट्रको लागि समेत योगदान हुने गर्दछ ।’
त्यहाँ बस्ती विकाससँगै उत्पत्तिका एकादशीको अवसरमा प्रत्येक वर्ष लाग्ने यस मेलामा केही वर्ष यता युवा क्लबले मेला व्यवस्थापन समिति निर्माण गरेर यसको व्यवस्थापन समेत गरिरहेको क्लबका सचिव गगन सिंह ठकुरीले जानकारी दिए । २० वटा समूहको सहभागीता भएकोले भोली मात्र खेलको फाइनल हुने सचिव सिंहले बताए । भलिबल हेर्नका लागि जाजरकोट, सुर्खेत, रुकुम, सल्यान, बाँके बर्दिया तथा दैलेख लगायतका खेलप्रेमीहरुको उपस्थिति रहेको सचिव सिंहले बताए । अध्यक्ष सिंहका अनुसार प्रतियोगीतामा प्रथम हुने समूहले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार नगद राशीको पुरस्कार प्राप्त गर्नेछन् भने वेष्ट स्पाइक, वेष्ट प्राइज तथा अनुशासित खेलाडिलाई विशेष पुरस्कार प्रदान गर्ने जनाएका छन् ।










