Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

‘भ्रष्टाचार नियन्त्रणका लागि सबैले ’म’ बाट शुरु गर्नु पर्दछ ’

सुर्खेत ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको आयोजनामा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१९ ‘भ्रष्टाचार विरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य’ भन्ने मूलनाराका साथ मनाइएको छ ।

दिवसको अवसरमा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रष्टाचार देश विकासको मूल वाधक भएको बताउँदै भ्रष्टाचार आदतको रुपमा विकास भएकोले यसको समस्या मात्र केलाउने नभई समस्या समाधान गर्न गम्भिर हुनु पर्ने बताए ।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि सबैले ’म’ बाट शुरु गर्नु पर्दछ ।’ भ्रष्टाचार नियन्त्रणका लागि देखाउने प्रतिबद्धता मात्र नभई वास्तविक प्रतिवद्धताको आवश्यकता औंल्याउदै हाम्रो शिक्षा पद्धति, राष्ट्रसेवकलाई उपलब्ध गराइएको सेवा सुविधा र आवश्यकताको विषयमा उदाहरण दिँदै राष्ट्रसेवक कर्मचारी वा सरोकारवालालाई पर्याप्त मात्रामा सेवा सुविधा दिनसके भ्रष्टाचारको मात्रा घट्न सक्ने सम्भावना रहेकोले हामी गम्भिर हुन जरुरी रहेको मुख्यमन्त्री शाहीको धारणा थियो ।

भ्रष्टाचार गर्ने व्यक्ति अरु कोहि नभई राष्ट्रसेवक वा सार्वजनिक पदाधिकारी भएपनि कोही कसैले त्यस्तो काम नगर्न आग्रह गर्दै कर्णाली प्रदेश सरकार भ्रष्टाचार न्यूनिकरण तथा शून्य सहनशिलताको विकासका लागि प्रतिवद्ध रहेको मुख्यमन्त्री शाहीले बताए । उनले थपे, ‘प्रदेश सरकार आयोगसँग सहकार्य गर्न तत्पर छ ।’ आगामी दिनमा संघ, प्रदेश र स्थानीय तीनै तहका राष्ट्रसेवक, सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर कार्यक्रम गरी सबै सरोकारवालाहरुमा सचेतना अभिबृद्धि गर्न आयोगलाइ आग्रह गरे ।

कार्यक्रम आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले नेपालमा भ्रष्टाचार बढिरहेकोमा दुःख व्यक्त गर्दै हामीहरुसंग एक जनाले प्रतिवद्धता गरेर के हुन्छ ? एक जनाले भ्रष्टाचार गरेर के हुन्छ ? के फरक पर्छ ? भन्ने जस्ता प्रवृत्तिले दुधको पोखरी होइन पानीको पोखरी बनेको र भ्रष्टाचार बढेको दृष्टान्त बताए । उनले समाजमा बसुञ्जेल शिर निहु¥याएर हिड्न नपरोस्, भ्रष्टाचारसंग गम्भिर रहेको र अनियमितता नहुने गरी सबै सरोकारवाला तथा आयोगसंग सहकार्य गर्न तयार रहेको धारणा राखे ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले परिवर्तन गर्न र देश बनाउन सबैभन्दा पहिले सकरात्मक सोचको विकास हुनुपर्ने, स्थानीय सरकार र प्रदेश सरकारले विकास कार्यमा जिल्ला समन्वय समितिसँग समन्वय नगर्ने गरेको बताउँदै सबै तहका सरकारले योजना सम्पन्न पश्चात सार्वजनिक सुनुवाइ गर्नुपर्ने कुरामा जोड दिए ।

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले उपस्थित सबैले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए भ्रष्टाचार घट्न सक्ने र हाम्रो समाज एकले अर्कोलाई भ्रष्टाचार गरेको देख्ने तर आफुलाई राम्रो देख्ने प्रवृति हावी भएको बताउँदै सबैले आफ्नो कार्यकालमा राम्रो काम गरी राम्रो प्रतिष्ठा कायम गर्न आग्रह गरे ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भ्रष्टाचार न्यूनिकरणका लागि सदाचारमा जोड दिनुपर्ने, घुस लिने र दिनेको सहमतिमा हुने भ्रष्टाचारको खोजी हुनुपर्ने बताउँदै संगठनको प्रमुख नै सदाचारी भएमा भ्रष्टाचार निर्मुल हुन सक्ने र भ्रष्टाचार गर्दिन र हुन दिन्न भन्ने कुरामा सबै एकबद्ध हुनुपर्ने धारणा राखे ।

कार्यक्रमका अध्यक्ष तथा अख्तियार सुर्खेतका कार्यालय प्रमुख श्री शेषनारायण पौडेलले कार्यक्रमका बीच भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रस्तुतिकरण गरेका थिए । भ्रष्टाचार नियन्त्रण गर्ने कार्य अत्यन्त कठिन र जटिल भएपनि आफूहरु सधैँ उद्देश्य प्राप्त गर्न लागि परेको र भ्रष्टाचारको जालो तोड्न आयोगको एक्लो प्रयासले मात्र सम्भव नभएकोले सम्पुर्ण राजनीतिज्ञ, सरकारी कार्यालयका कर्मचारी, संघ संस्था, सञ्चार क्षेत्र लगायत सबै सरोकारवालाहरुको साथ अपरिहार्य भएको बताए ।

कार्यक्रममा उपस्थित प्रदेश सरकारका मन्त्रीहरु, कर्णाली प्रदेश मन्त्रालयका सचिवहरु, सुर्खेतस्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख र प्रतिनिधि, भ्रष्टाचार बिरुद्ध क्रियाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुलगायत कर्मचारीहरुले भ्रष्टाचार विरुद्ध हस्ताक्षर गरेका थिए ।