Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

शिक्षक लाईसेन्सको कापी परिक्षण शुरु

सुर्खेत ।

गत असोजमा लिईएको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको कापी परीक्षणको काम शुरु भएको छ । पहिलो चरणमा माध्यमिक तहबाट परीक्षणको काम शुरु गरेको शिक्षक सेवा आयोगले जनाएको छ । निमावि र प्राविको कापी कोडिङ्को चरणमा रहेकाले केही दिन लाग्ने जनाईएको छ ।

काठमाडौंको कालिमाटि स्थित जनप्रभात मावि र ललितपुरको बालकुमारी स्थित गम्भिर समुन्द्र सेतु मावि गरी २ वटा केन्द्रमा उक्त परीक्षणको काम शुरु गरिएको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए । यसका लागि ६० जना परीक्षक सहभागी गराईएको उनले बताए ।

“सकिएको काम अघि बढाउँदै बाँकी काम पनि संगसँगै गर्ने गरी कार्यतालिका बनाएका हाैं” अर्यालले भने “एकातिर परीक्षण चल्दै गर्छ अर्कोतिर कोडिङ्को पनि काम जारी रहन्छ, एक साता पछि अरु केही केन्द्र थप गरेर कापी परीक्षण गर्ने योजना छ ।”
सबै कापी परीक्षण गर्ने बेला सम्म २ सय जना परीक्षकले एकैपटक परीक्षण गर्ने उनले बताए । लामो समयको अन्तराल पछि खुलेको लाईसेन्स परीक्षा अन्र्तगत प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।

माध्यमिक तहको लाईसेन्सको परीक्षा अन्तर्गत रद्द भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा गत कात्तिक २३ गते सञ्चालन गरेपछि आयोगले सबै कापी संकलनको काम सकेर कोडिङ् गरेको थियो ।

पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो । लामो समय सम्म लाईसेन्सको परीक्षा नहुँदा शिक्षक हुन योग्यता पुरा गरेका पाँच लाख भन्दा धेरै विद्यार्थीले लाईसेन्स पाएका थिएनन् । माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापनमा आयोगले परीक्षा सञ्चालन गरेको थियो ।