Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

विद्यार्थीको समस्या बुझ्न उपमेयर ढकाल कक्षा कोठामा

सुर्खेत, पुस ९ ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जनसेवा मावि घुस्रा पुगेर विद्यालय र विद्यार्थीका समस्या बारे बुझेकी छन् । ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम लिएर उनी वीरेन्द्रनगर १० मा रहेको जनसेवा मावि घुस्रामा गएकी हुन् । जनप्रतिनिधि तथा स्थानीय सरकारका बारेमा जानकारी गराउन ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम सुरुवात गरेको उपप्रमुख ढकालको भनाई छ ।

जनप्रतिनिधि र सरकार भनेपछि फरक खालको बुझाई अहिले पनि अभिभावक विद्यार्थीमा रहेको भन्दै उनले यस्तो खालको बुझाईलाई हटाउन आफु स्वयम् कक्षा कोठामा पुगेको बताइन् । उक्त कार्यक्रमले शिक्षा क्षेत्रको योजना तर्जुमा लगायतका विषयमा सहज हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमअन्तर्गत विद्यालयमा पुगेर जनप्रतिनिधि, स्थानीय सरकारका बारेमा विद्यार्थीको बुझाई, स्थानीय सरकारसँग विद्यार्थीका अपेक्षा जस्ता विषयमा छलफल गरेकी थिइन् । बालविवाहबाट हुने नकारात्मक प्रभाव, निर्वाचन प्रणाली, सरकार गठनका प्रक्रिया, तीन तहका सरकार, विकासका आधार तथा प्रकार जस्ता विषयमा विद्यार्थी संग छलफल गरिएको उपप्रमुख ढकालको भनाई छ ।

उपप्रमुख ढकालले कक्षा १०, ११ र १२ का झण्डै डेढ सय विद्यार्थीसँग विभिन्न विषयमा एक घण्टा छलफल गरेकी थिइन । छलफल पश्चात विद्यार्थीहरुले उपप्रमुख ढकालसँग थुप्रै प्रश्नहरु गरेका थिए । विद्यार्थीहरुले पुस्तकालय, गुणस्तरिय शिक्षा, छात्रामैत्री संरचना, बालविबाह, बालबालिका र शिक्षा क्षेत्रको बजेट कति छ जस्ता प्रश्न गरेका थिए ।
‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम बनाएर उपप्रमुख विद्यालय पुग्दा विद्यार्थीहरु भने उत्साहित थिए । उपप्रमुख आफ्नै कक्षामा आएर आवश्यकताका बारेमा सोध्दा खुशी लागेको उनिहरुको भनाई छ । उपमेयर ढकालले विद्यार्थीहरुले आफूसँग राखेका मागहरु पूरा गर्न स्थानीय सरकारका तर्फबाट भरपूर भूमिका खेल्ने विद्यार्थीमाझ प्रतिबद्धता समेत व्यक्त गरिन् ।

उपमेयर ढकालले उक्त विद्यालयमा पुगेर विद्यार्थीहरुसँग नगरपालिकाबाट हुन सक्ने आवश्यक सहयोग तथा विद्यार्थीहरुले स्थानीय सरकारसँग गरेका अपेक्षाका बारेमा जानकारी लिएकी थिइन ्। उनले विद्यालयमा के गर्दा पठनपाठनमा सहज हुन्छ, पाठ्यक्रम कस्ता खालका बनाउन आवश्यक छ, अध्यापन गराउँदा सरले गर्ने व्यवहार लगायतका विषयमा पनि विद्यार्थीहरुसँग बुझेकी छन् ।

यो कार्यक्रमअन्तर्गत प्रत्येक महिनाको एक दिन निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीसँग पुग्ने योजना रहेको उपप्रमुख ढकालले जानकारी दिइन् ।