हात्ती थप्दैं निकुञ्ज
बाँके ।
नेपाल भ्रमण वर्षको शुरुवातमै बाँके राष्ट्रिय निकुञ्जले दुई वटा थप्ने भएको छ । अहिले निकुञ्जमा चार वटा हात्ती रहेको छ । थप दुई वटा हात्ती ल्याउन विभागसँग लेखापढी भइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । बाघको बास स्थान रहेको बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै लगिएको र हात्ती सफारीको शुरुवात गरिएकाले थप हात्ती मगाइएको हो । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भ्रमण वर्षको शुरुवात बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी गरेर गरेका थिए । प्रदेश सरकारले पर्यटन गन्तब्यको रुपमा बाँके राष्ट्रिय निकुञ्जलाई पनि अघि सारेको छ । यद्यपि, संघ र प्रदेशबाट अहिलेसम्म कुनै कार्यक्रम आएको छैन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले भ्रमण वर्षको शुरुवातमै निकुञ्जमा पर्यटकको चहलपहल बढेको बताए । बाँके राष्ट्रिय निकुञ्जमा बाघ, चौका देख्न सकिन्छ । प्रचार प्रसारको कमीले ओझेलमा परेको निकुञ्जमा विस्तारै चहलपहल बढेको छ । निकुञ्जले गाभरदेखि अगैयासम्मको ६५ किलोमिटरलाई जंगल सफारीको रुट बनाएको छ । यो पार गर्न साढे तीन घण्टा लाग्छ । ‘गाभरबाट प्रवेश गरेको पर्यटक मज्जाले जंगली जनावर, चराचुरुंगी हेर्दै साढे तीन घण्टा बिताएर अगैया निस्किने रुट बनाएको छौं, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, एकपटक आएको पर्यटकलाई फेरि आउन मन लाग्ने घुमाइ हुन्छ ।’
बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छन् । दुई वटा बढी चौका छन् । तीन सय बढी प्रजातीका चराचुरुंगी रहेका छन् । बाघ आहारा प्रजातीका बँदेल, मृग, जरायोको संख्या पर्याप्त रहेको निकुञ्जको दाबी छ । आन्तरिक पर्यटकहरुको रोजाईमा निकुञ्ज परिसकेको छैन । मुख्यमन्त्रीले गएर जंगल सफारीको उद्घाटन गरिदिएपछि प्रचारप्रसार भएको छ । निकुञ्जले नेपालीलाई सय रुपैयाँ इन्ट्री शुल्क लिएर पाँच सय रुपैयाँमा दुई घण्टाबढी हात्ती सफारी गराउने तालिका बनाएको छ । निकुञ्जले सार्कका पर्यटकका लागि ७ सय ५० इन्ट्री शुल्क, त्यो भन्दा बाहिरकालाई एक हजार पाँच सय इन्ट्री शुल्क कायम गरेको छ ।
वि.सं. २०६७ सालमा स्थापना गरिएको यो निकुञ्जले बर्दिया, सुर्खेत, सल्यान र दाङ जिल्लालाई छोएको छ । बाघको बासस्थान राम्रो रहेकाले निकुञ्ज स्थापना गरिएको हो । सरकारले भ्रमण वर्षको शुरुवात गरेको र बाँके आउने पर्यटकलाई घुमाउने ठाउँ यही निकुञ्ज र बागेश्वरी मन्दिरलाई अगाडि सारिएको छ । नेपालगञ्ज मानसरोबरसम्म जाने पर्यटकको प्रवेशद्वार मानिन्छ । नेपालगञ्जमा ठूल्ठूला होटलहरु सञ्चालनमा रहेकाले यहाँ आउने पर्यटकलाई दुई÷चार दिन घुमाउन निकुञ्ज उत्तम ठाउँ हुने सबैको बुझाइ रहेको छ ।
(नेपालगाथा)






