Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

कर्णालीमा पहिलो पटक बहुउद्देश्यीय सहकारीबीच एकीकरण, बन्यो ‘हातेमालो जागरण’

सुर्खेत ।

समान उद्देश्यका सहकारी एकीकरण गर्ने नेपाल सरकारको नीतिअनुसार कर्णाली प्रदेशमा पहिलो पटक बहुउद्देश्यीय सहकारी संस्थाहरु एकीकरणको अभियान शुरु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेका साविकका जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र हातेमालो महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एकीकरण भई हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर १२ गठन गरिएको हो ।

समाज जागरण केन्द्र परिसरमा भएको एकीकरण गर्ने प्रयोजनको विशेष साधारणबाट पूर्ण प्रसाद पौड्यालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरिएको छ । सञ्चालक समिति उपाध्यक्षमा सावित्री पौडेल (सुवेदी), सचिवमा नवराज खड्का, कोषाध्यक्षमा चन्द्राकुमारी भट्टराई, सहसचिवमा रमाकुमारी कँडेल (भण्डारी) तथा सदस्यहरुमा मानकुमारी गौतम, धनाकुमारी जिसी, घनश्याम कँडेल, माधव प्रसाद ढकाल, चौहानसिं राना र मनोहरलाल आचार्य चयन हुनुभएको छ ।

यसैगरी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा खगेन्द्र प्रसाद सापकोटा तथा सदस्यहरुमा पूर्णा आचार्य र सारदा ढकाललाई चयन गरिएको छ । साथै साधारणसभाले उद्देश्य र प्रकृति मिल्ने अन्य सहकारीहरुलाई पनि आफूसँग एकीकरण गर्नका लागि आव्हान गरेको छ । साधारणसभामा समाज जागरण केन्द्र (स्याक) नेपालकी अध्यक्ष मीना तिवारी (शर्मा) ले स्याकको सहजिकरणमा सञ्चालन भएका सहकारीहरु एकीकृत भएकोमा खुसी व्यक्त गर्नुभयो । यसैगरी वीरेन्द्रनगर नगरपालिका १२ नम्वर वडाका अध्यक्ष लोकप्रसाद चालिसेले एउटा व्यक्ती एउटाभन्दा बढी समान प्रकृतिका सहकारीमा संलग्न हुन नपाउने र सहकारी एकीकरण गर्ने नेपाल सरकारको नीतिअनुसार काम हुनु स्रहानिय रहेको बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिका गरिवी निवारण तथा सहकारी उपसाखाकी निर्मला भट्टराईले कर्णाली प्रदेशमै पहिलो पटक बहुउद्देश्यीय सहकारी संस्थाको एकीकरण भएको र त्यो वीरेन्द्रनगरबाट शुरु भएको जानकारी दिनुभयो । साधारणसभामा साविकका दुवै सञ्चालक समितिको तर्फबाट पूर्णप्रसाद पौड्यालले पुस १५ गते सम्मको प्रगति प्रतिवेदन र चन्द्राकुमारी भट्टराईले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
अनलाइन जागरण